Gaule News
बिहिबार, बैशाख ९, २०७८
Gaule Entertainment Media Group Pvt.Ltd.

मेरो बायुङ गाउँको चिनारीः

—किशोर बायुङ राई

मेरो बायुङ गाउँको चिनारीः

कतै विरानो ठाउँमा जाँदामा खेरि मलाई मेरो नाम सोधिँदो रहेछ। म मेरो नाम भन्दो रहेछु । त्यतिले मात्र मेरो परिचय नखुल्दो रहेछ। फेरि मेरो थर सोधिँदो रहेछ । त्यतिले पनि मेरो असली परिचय खुल्दैन क्यारे मेरो घर सोधिँदो रहेछ। गाउँ सोधिँदो रहेछ । भुगोल सोधिँदो रहेछ । जहाँ मेरो पुर्खाले मेरो चिनारीको बिउ रोपेको रहेछन् जुगौँ अघि ।
हो त्यहीँ गाउँले बोकेको हुँदो रहेछ मेरो माटोको कथा र इतिहास। त्यसैले यति धेरै माटोको बास्ना बोकेको मेरो गाउँको परिचय गर्न मन लाग्यो । चिनारी भन्न मन लाग्यो। यस्तो मेरो बायुङ गाउँको चिनारी ।

भुगोलको दृष्टिले मेरो बायुङ गाउँ सोलुखुम्बु जिल्लाको वर्तमान नेचासल्यान गाउँपालिका वडा नंं. १ मा पर्दछ। साबिकको संरचनामा सोलुखुम्बु जिल्ला, सल्यान गा.वि.स. वडा नंं.५ मा पर्दछ ।
हामी दोस्रो समुदायको मानिसहरुसँग आफ्नो परिचय भन्दा “राई” हौँ भन्छौँ । त्यसमाथि “कुन राई?” भनी थप प्रश्न आए “बायुङ राई” हो भनी भन्छौँ भने आफ्नै मातृभाषामा “राई” भनेर भन्नु पर्दा “प्रोचा” भन्छौँ । जस्तैः कसैले कुनै राई समुदायको श्रीमती बिहे गरि ल्याउँदा “आज्ञाम्मे प्रोमि राताछा?” अथवा“कुन थरको राईनी ल्याएछ?”भनी सोध्ने चलन रहेको छ ।

बायुङ मातृभाषामा “गाउँ”लाई “द्याल” भनिन्छ र बायुङहरुको गाउँलाई “बायुङ द्याल” भनेर भनिन्छ । मेरो बायुङ द्याल(गाउँ) जम्मा ९ वटा सानासाना गाउँहरु मिलेर बनेको छ। जसमा “सेरो, गुगुर्दी, ओस्पु, जेजुरु, ओस्ती, जन्तेरु, ख्याम्पु र फुर्चुकु” गाउँ रहेका छन् भने समग्रमा खसभाषी समुदाय र अन्य ठाउँमा “छितापातल” भनेर चिनिन्छ । त्यसैगरी छिमेकी गाउँ नेचाभेकमा भने प्रायजसो यी सबै गाउँलाई “सेरो” भनेर भनिने प्रचलन पाइन्छ ।

१. सेरोः
सेरो गाउँ बायुङ राईहरुको गाउँ हो । यहाँ सोचोचा, नाम्बेर्सा र खाल गरी तीन दोचा(पाछा)को बायुङ राईहरुको बसोबास रहेको छ । सेरो गाउँको पनि तल्लो टोललाई “सेचो द्याल” भनेर भनिने प्रचलन रहेको छ। यानिकि यो तल्लो टोलमा सेचाचा बायुङहरुको बसोबास रहेको छ ।
“सेरो” शब्द बायुङ भाषाबाट रहेको किम्बदन्ती रहेको पाइन्छ । “सेरो” शब्द “से” र “रु”को संयुक्त विकसितरुप हो। जसमा “से” भन्नाले “मासु” र “रु”भन्नाले “स्थान” वा “ठाउँ” अर्थात् बायुङ्गे कथनअनुसार उहिले उहिले यहाँ ठूलो पोखरी थियो। जुन आजको सेरोको “धेब्धे(ठुलो चौउर)” छ त्यहाँ ठूलो पोखरी थियो र सबैतिर जंगलैजंगल थियो । जनावरहरु पानी खाना पोखरीमा आउँथे । त्यही मौका पारेर शिकारीहरु सिकार खेल्न जान्थे र उनीहरु यो ठाउँलाई “सेरु”अर्थात् “मासु सिकार गर्ने स्थान” भनी भन्दथे । कालान्तरमा यही “सेरु” शब्दको विकसितरुपमा “सेरो” हुन पुग्यो। जुन आज “सेरो ” नामले बाँचिरहेको छ ।

सेरो गाउँको पुच्छरमा रहेको “पुखुपुम”को पहरा, पारिपट्टि रहेको “क्लेतोङ्मा”भीर र तल गुगुर्दीखोलामा रहेको“धीन(ताल)”को अवशेषसँग “ज्याक्चा जलमो”को मिथक पनि गाँसिएर अघिल्लो पुस्ताहरुमाझ बाँचेको छ भने पछिल्लो पुस्तामा पुस्तान्तरणको क्रम भने दुःखदायि रहेको छ ।
यो सोरो द्याल यहाँको बायुङ बस्तीहरुमध्ये सबैभन्दा पुरानो बस्ती हो । यहाँ बायुङ राईहरु “सपु कःचो”, “जालिम नोक्चो÷लिङ्मो पाचो”, “द्याल सिवा”र “भुमे”जस्ता प्रकृति पुजाको चाडहरु सबैमिलेर मनाइन्छ र थानहरु रहेका छन्। जुन स्याहार सम्भार, उचित व्यावस्थापनको अभाव रहेको पनि देखिन्छ ।

२.गुगुर्दीः
“गुगुर्दी” अर्को बायुङ गाउँ हो । यो सेरोभन्दा उत्तर पश्चिम, जन्तेरु र ख्याम्पुभन्दा दक्षिण ओस्ति, जेजुरु र ओस्पुबाट उत्तरतिर जोडिएर बसेको छ। यहाँ मुख्यगरी नाम्बेर्सा दोचाको बसोबास रहेको छ ।
यो गाउँको नाम बंशेखर्क मुहान भई गुगुर्दी र जन्तेरु गाउँको बीचमा सीमाना भएर बगेको “गुगुर्दी”खोलाको नाममा नामकरण भएको छ भने छोटोमिठोमा यो गाउँलाई “गुर्दी”भनेर भनिने प्रचलन पनि छ। जस्तैः “ग्याला लाएमे?(कता हिँडेको?) जवाफमा “गुर्दी लाङामे” अर्थात् “गुर्दी जाने”। “गुगुर्दी” नामकरण बायुङ भाषाकै शब्द हो ।

सुनिएको मिथकअनुसार पहिले पहिले यस ठाउँमा “गुर्गे”(एकप्रकारको चराहरु) यहाँ पाइन्थ्यो। यिनीहरु समुहमा बस्थे र एकसाथ समूहमै कराउँथे। अझैपनि बायुङ बस्तीतिर बच्चाहरु बढी हल्लाखल्ला गरेर जिस्किएभने “गुर्गेखोङ मादाने” अर्थात् “गुर्गे चराजस्तै नकराउ” भन्दै गाली गर्ने चलन ज्यूँकात्यूँ छ। यसरी “गुर्गे” पाइने ठाउँ “गुर्दी” तथा “गुगुर्दी” भयो भने यो “गुर्गे” चराहरु यो ठाउँमा पाइँदैनन् । अर्कोतर्फ “दी” शब्दले पानीसँग सम्बन्धित अर्थ राख्छ। गुगुर्दी भनी खोलाको नामकरण भएजस्तै अर्को नजिकैको खोला “जम्दी” भनेर पनि कायम रहेरहेकै छ। जुन “जम्दी गुलो÷खोला”ले सेरो गाउँ र गुगुर्दी गाउँकोबीच सिमानाको रुपमा छुट्याएको छ। गुगुर्दी गाउँको शिरमा बायुङ राईहरुको उभौलीको बेला पुजिने “द्याल सिवा”को “सुबुखम” र “भूमे”को थानहरु रहेकाछन् र हरेक उभौलीमा पुजिँदै आएका पनि छन्।

३.ओस्पुः
“ओस्पु” अलि सानो गाँउ हो । यो गाउँ सेरो भन्दा माथि र जेजुरु भन्दा मुनि अवस्थित छ। यहाँ खाल र नाम्बेर्सा दोचाको बायुङहरुको बसोबास रहेको छ। ओस्पु पनि “हुयुङ्मे ओस्पु” अर्थात् “तल्लो ओस्पु” र “हुतुङमे ओस्पु” अर्थात् “माथिल्लो ओस्पु” भनी दुई टोल रहेको छ । यहाँ पनि “द्याल सिवा” र “भूमे”थानहरु रहेको छन् ।

४. जुजुरु
“जुजुरु गाउँ” ओस्पु गाउँको दक्षिण पश्चिमा अवस्थित बायुङ गाउँ हो । यो गाउँलाई “जेजुरु” र “जोजुरु” पनि भनिन्छ। यहाँ मुख्यगरी नाम्बेर्सा दोचाको बायुङहरुको बस्ती रहेको छ ।
यस गाउँको नाम “जुजुरु” बायुङ भाषाबाट नामकरण भएको दुईवटा मिथक छ ।

पहिलो मिथकः
“जुजुरु” शब्द बायुङ भाषाको दुई शब्द “जुजुर” र “रु” मिलेर बनेको छ। जसमा “जुजुर” भन्नाले “निबुवा” र “रु” भन्नाले “बारी वा जमिन” हुन्छ। यसको मतलब “जुजुर रु” भन्नाले अत्यधिक रुपमा “निबुवा फल्ने बारी वा जमिन” हुन्छ। तसर्थ बायुङ भाषाको “जुजुर रु”मा “र” लुप्त भई “जुजुरु” रहेको मिथक रहेको छ।
दोस्रो मिथकः
पहिले पहिले यो ठाउँमा सबैजना भेला हुन्थेरे । सबै मिली “मुली(सल्लाह)” गरी जागरुक हुन्थे रे। यसरी यस ठाउँलाई सल्लाह गरी जागरुक हुने ठाउँ भनी सबैले भन्दथे। तसर्थ बायुङ राईहरुले जागरुक हुने ठाउँ भन्दा “जोजो रोङस्चो रु” भन्दथे । यसरी बायुङ भाषाको दुई शब्दावलीहरु ”जोजो रोङ्स्चो” र “रु” मिली “जोजुरु” भएको हो भन्ने पुर्खाहरुको आहान छ ।
अन्य गाउँमा जस्तै यहाँ पनि उभौलीको बेला पुजिने “जालिम नोक्चो” पुजिने चलन रहेको थियो भने “द्याल सिवा” र “भुमे” भने गरिँदै आएको छ ।
५. ओस्ति
“ओस्ति गाउँ” जुजुरु भन्दा माथि र शेर्पागाउँभन्दा तलतिर अवस्थित बायुङ गाउँ हो। मुख्यगरी यहाँ नाम्बर्साचा दोचाको बायुङहरुको बसोबास रहेको छ । “ओस्ति” भनेर के कसरी गाउँको नामकरण भयो मिथक सुन्न पाइएको छैन भने यहाँको उभौलीको बेला “जालिम नोक्चो” तल जुजुरुसँगै हुनथ्यो । “द्याल सिवा” पनि जुजुरुसँगै र केहीले जन्तेरुसँगै पुजिने चलन रहेको छ भने घरलौरी गरिने भूमे छँदैछ ।
६. झिलुक्व्ब्आः
“झिलुक्व्ब्आ” ओस्तिभन्दा उत्तरतिर जोडिएर अवस्थित गाउँ हो। यहाँ पनि नाम्बेर्साचा दोचाको बायुङहरुको बसोबास रहेको छ ।
“झिलुक्व्ब्आ” नाम पनि बायुङ भाषाबाटै रहन गएको मिथक छ । जसअनुसार “झिलुक्व्ब्आ”को तलतिर एउटा डरलाग्दो भीर छ। जसलाई “झिलुक्व्ब्आ स्यार्ते” भनेर मातृभाषामा भनिन्छ । मिथकअनुसार पहिले पहिले यसभीरमा धेरै भन्दा धेरै गौथली बस्थे। गौथलीलाई बायुङ भाषामा “ब्अिलुक्ब्व्आ” भनिन्छ । तसर्थ “ब्अिलुक्ब्व्आ” बस्ने भीर भन्दाभन्दै यसैको विकसितरुप “झिलुक्व्ब्आ” रहन गएको हो। र अहिले पनि खस भाषीहरुले यो “झिलुक्व्ब्आ” डाँडालाई “गौथली डाँडा” भनेर भन्ने गरेको छन् ।
७. फुर्चुकुः
“फुर्चुकु गाउँ”जन्तेरु भन्दा माथितिर अवस्थित गाउँ हो । यहाँ सेचोचा दोचाको बायुङ राई र अन्य थरीका बसोबास रहेको छ ।
“फुर्चुकु” नामकरण पनि बायुङ भाषाबाटै भएको मिथक पाइन्छ। मिथक अनुसार उहिले माथि लेकतिर एकजना फुर्वा नाम गरेको शेर्पा थिएरे। उनको छाती एकदम ठूलो थियो रे। यता “फुर्चुकु”मा पनि ठूलाठूला जाँते ढुंगाहरु रहेका थिए रे र अहिले पनि छन्। त्यसैले बायुङरुले यो ठाउँको ढुंगालाई फुर्वाको ठूलो छातीजस्तै भनेर आफ्नो भाषामा “फुर्वा कुचु” भन्थे रे। त्यसो हुँदा हुँदै “फुर्वा कुचु – फुर्वा कुचु” भन्दाभन्दै यसको विकसितरुपमा “फुर्चुकु” कायम भयो ।
८. जन्तेरुः
“जन्तेरु गाउँ” गुगुर्दी गाउँभन्दा पारिको गाउँ हो। यहाँ नाम्बेर्साचा र सेचोचा दोचाको बायुङहरुको बस्ती रहेको छ भने यहाँ बायुङ राईहरुको “जालिम नोक्चो”तुम्लो गरिँदैन। यहाँको “जालिम नोक्चो”तुम्लो तल सेरोसँग नै मिलेर “सेचोद्याल”मा गरिन्छ भने “द्याल सिवा” तथा “द्याल–वाक्सा”भने पुजिन्छ। “द्याल–वाक्सा” पुजिने ठाउँभने गाउँको बीचतिर पर्ने तर अघच्चिलो र चोखो ठाउँमा झपक्क वनको फेदमा रहेको छ। त्यसैगरी लिङ्मोको अवसरमा गरिने घरलौरी भुमे पनि घरलौरी गरिने चलन रहेको छ भने सबैको आ–आफ्नो भूमेथान आ–आफ्नो बारीमा रहेको छ।
“जन्तेरु गाउँ”को नाम “जन्तेरु” पनि बायुङ मातृभाषा र खसशब्द मिलेर बनेको मिथक रहेको छ । जसअनुसार यस गाउँको शिरमा ठुलो मूलबाटो पर्दथ्यो र त्यहाँ विशेषगरी क्षेत्री ब्राह्मण समुदायको जन्ती गएर फर्कदाँ त्यहीँ बाटोआसपासमा सधैँजसो जन्ते बाख्रा खाने प्रचलन बसाएका थिए। तसर्थ जन्तेबाख्रा खाने ठाउँ(रु) भनी बायुङ भाषामा भन्दाखेरी “जन्ते+रु” हुँदै “जन्तेरु” भएको भन्ने मिथक रहेको पाइन्छ ।
९. ख्याम्पुः
“ख्याम्पु” गाउँ जन्तेरु गाउँसँगै जोडिएको उत्तरतिर रहेको गाउँ हो। यहाँ सेचोचा दोचाको बायुङहरु र धेरैजसो मगरहरुको बस्ती रहेको छ ।
यो गाउँको नाम “ख्याम्पु” रहनुमा पनि बायुङ भाषामै एउटा मिथक रहेको छ। जसअनुसार उहिले यहाँ क्षेत्रमा आवद हुनुभन्दा पहिले यहाँ धेरै मात्रमा खर थियो रे। खरबारी थियो रे। त्यसैले यस ठाउँलाई बायुङ भाषामा “खियाम पुम” भनेर भनिन्थ्यो रे। जसको अर्थ “खियाम” अर्थात् “खर” र “पुम” आर्थात् “पाइने ठाउँ वा भएको ठाउँ” हुन्छ। यसरी “खियाम पुम” को विकसित रुप “ख्याम्पु” भएको हो भन्ने आहान पाइन्छ ।
अहिलेसम्म प्रस्तुत कुराहरुमा विशेषगरी मेरो बायुङ गाउँको भौगोलिक र केही मात्रामा साँस्कृतिक चिनारी समेटिएको छ भने साँस्कृतिक चिनारीको कुरा अर्को कुनै अवसरमा लेखिने छ। यसरी विशेषगरेर ९ वटा साना—साना गाउँहरु मिलेर सिंगो मेरो बायुङ गाउँ बनेको छ। जहाँ धेरै भौगोलिक कथा र विशेषताहरु बोकेर बनेका ठाउँहरु रहेका छन् । जस्तैः बिङखुर, पाङ्गाली, मालागिरीपुम, पुप्तेपुम, सक्पुम,सुराफुम्लो, घ्रक्तलुङ, सोबुख्रप, लुङ जादिखा, सोगोलो ब्व्अक्, सोदो, हरङामु, सनामपुम, बुर्सिदु, नालुङ, घडारु र धिन ब्व्अक् जस्ता धेरै ठाउँहरु रहेका छन् । यस्ता स्थान नामहरुसँग बायुङ राईहरुको भाषिक एवं साँस्कृतिक महत्वका कुराहरु प्रत्यक्षरुपमा जोडिएर रहेका छन् । हेर्दा सामान्यजस्ता देखिने यी र यस्ता कुराहरुको खोज र अनुसन्धान हुन जरुरी छ जसले ओझेलमा परेका सभ्याताको खोजी गर्न सहयोग गर्दछ ।
—०—

तपाइको प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *

हामी तपाईंको इमेल अरू कसैसँग साझा गर्दैनौं।

ट्रेन्डिङ