Gaule News
आइतवार, फाल्गुन २३, २०७७
Gaule Entertainment Media Group Pvt.Ltd.

झारलाङ्गी अनुभव

–किशोर बायुङ राई

झारलाङ्गी अनुभव

मिति २०७७ माघ १७ गते बिहान दश बजेतिर हामी ओस्तिगाउँ हुँदै कागतेतर्फ उकालो लाग्यौं। हामी ५ जना थियौं म, धनराज दाजै, कर्णे(विवश) दाजै, मन(सुरेश) भाई, झोआ(सुरज) भाई र सुसे(भीमराज)भाई। हामी ओस्तिमा जम्मा भएर हिँडेका थियौं । यतिबेला ओस्ति गाउँबाट देखिने दृश्य सुन्दर र सफा थियो। ओस्ति गाउँ उत्तरतिर फर्केको छ । यहाँ हिउँदको समयमा अलि चिसो हुन्छ । यहाँ बायुङ राईहरुको बसोबास रहेको गाउँ हो । लगभग दशक अगाडि यहाँका घरहरु खरको छानो र ढुंगाको छानोले छाइएको थियो। तर आजकल भने खरको छानो पुरै हटिसकेको छ भने ढुंगाको छानो पनि लगभग हटिसकेको छ । गाउँका घरहरु निलो(आकाशे) जस्ता पाताले सजिएका छन् ।

खासमा हामी “झारलाङ्गी” हिँडेका हौं । गाउँमा कसैले घर बनाउन लाग्यो भने सकेसम्म सबैले उसलाई निशुल्क श्रम दिएर सघाउने चलन हाम्रो गाउँको छ । यत्तिनै सघाउनुपर्छ भन्ने छैन तर सघाउनेले चाहेसम्म सघाउने प्रचलन उहीलेदेखिको चलन हो । त्यसैले हामी पनि विवश दाजैले घर बनाउनलाई सामुदायिक वनमा पुर्जी लिएर काठ काट्नु भएको रहेछ । त्यही काठ ओसार्ने कार्जेक्रम हो आजको ।

हामी उकालो लाग्यौं । जाँदाजाँदै बाटो मै स्यानी(कमला) दीदी माइती घरमा भेटिनु भयो । उहाँ अस्ति भरखर हाम्रो प्रगतिशील युवा समूहले संस्थाका संस्थापक सदस्य स्व. नन्दराज राईको स्मृतिमा आयोजना गरेको साबिक वडास्तरीय खुला फुटबल प्रतियोगिता “नन्दराज बायुङ राई स्मृति कप–२०७७”मा व्यस्त माइतीघरमा सघौपघौ गर्न आउनु भएको थियो । मेरो उहाँसँगको खास साइनो त क्षमा हो र पछि बिहेवारी हुँदा सोल्टिनी पर्नुभयो । तर बोलीचालीमा सजिलो दिदीभाई भनेर नै बोल्छौं । त्यही सहज लाग्दो रैछ र ।
म स्यानी दिदीसँग गफ गर्न थालें अरु साथीहरु खुइँखुइँ बाटो लागे । म हतार हतार बाटो लाग्न लाग्दै थिएँ त्यहीबेला तल जेजुरुबाट निस्कने बाटोबाट “होऊ” भन्न् आवाज आयो । तलतिर हेरें २/३ जना साथीहरु देखिए । हामीसँगै जाने साथीहरु होलान् भनेर पर्खिँदै फेरि गफ गर्न थालें । हुन पनि हो जेजुरु र ओस्पु गाउँको साथीहरु आउन बाँकी नै थिए । यतिबेला साथीहरु निकै माथि पुगेका थिए। रोड छाडेर डाँडैडाँडा उकालो लाग्दै थिए । माथि डाँडामा निस्केर मलाई बोलाए, “ओई माकुआ माल्ती(ओई आज नआउने)”।

“कुआ हुयु कुसोङ बमे । कङखङ लाया(आउने, उ तल आउँदै छन् , सँगै जाऊँ न)” कस्सेर नै कराएँ । फेरि माथिबाट उत्तर आयो, “म्याम्रो रा मल कुर्आ खेताला रोका हो(उनीहरु त मल बोक्ने खेताला पो हुन्)” । बल्ल थाहा भयो यतिबेर बस्दा पनि किन आइपुग्दैनन् भनेको त उधो नै मेलो रैछ उनीहरुको। मेरो पालो दिदीसँग बिदा माग्दै हस्याङफस्याङ गर्दै उकालो लागें ।

साथीहरुले अलि मास्तिर पर्खेछन् । म पुगेपछि सँगै भयौं । म झुक्किएको कुरा फेरि गरेर हाँस्यो । डाँडाको धारैधार हिँडेर हामी खोप डाँडा पुग्यौं । यसलाई पात्ले डाँडा पनि भनिन्छ र पात्ले डाँडा भनेर नै प्रख्यात पनि छ । त्यसैगरी यहाँका स्थानीयहरुमाझ पालु डाँडा भनेर पनि प्रख्यात छ भने यहाँको चौतारालाई पात्ले चौतारा भनेर चिन्दछन् । त्यस्तैगरी बायुङ राईहरुले “मुलु चौतारा” भनेर पनि भन्दछन्। बायुङ राई भाषामा “मुलु”को अर्थ “पात्ले” हो ।

यो चौतारा ज्यादै प्रख्यात थियो । पात्ले चौतारा तथा पात्ले डाँडा नामकरण हुनुको मुख्य कारण यहाँ भएको एउटैमात्र ठूलो पात्लेको रुख हो । यो पात्लेको रुख यहाँउभिएर शीतलता छरिरहेको धेरै पुस्ता भयो होला ? एकिन हिसाब कसैको मुखबाट सुनिएको छैन । पर्थमा थाहा पनि छैन कसैलाई । पहिले पहिले यो चौतारा यो बाटो हिँड्ने सबै बटुवाहरुले थकाई मार्थे। यहाँको चिसो र शीतल हावाको स्पर्श लिन्थे। हुन पनि हो तल ख्याम्पु हुँदै जन्तेरु, बाघखोर, गोन्बुरु, झिलुक्व्बा र फुम्लोपुमको उकालो काटेपछि बल्ल आउथ्यो यो चौतारा । उकालोमा असिन पसिन हुँदै आउँदा सबैको थकाई मार्ने बिसौनी थियो यो पात्ले चौतारा । भने उता गैरीबाट आउँदा ठ्याक्कै बिसाउने ठाउँ हो यो । यसरी उहिलेदेखि बटुवाहरुको थकाई मार्ने यो चौतारा आजकल शून्य छ। सडक आहालेदिखि सिधै तलतल भएर ओस्ति गाउँ निस्केको छ । बाटो हिँड्ने बटुवा र गाडी सडककै बाटो हिँड्दछन्। यसरी विकास निर्माण र आधुनिकीकरणले धेरै यस्ता भन्ज्याङ र चौतारीहरु शून्य बानाएको छ ।
पा
त्ले चौतारा हुँदै हामी उकालो लाग्यौं । तल ख्याम्पु डाँडा अझ तलतल देखिन थाल्यो । ओस्त गाउँबाट देखिने त्यो रमाइलो त ख्याम्पु, काँगेल डाँडा, सर्लक्क सुतेको नेचा, ऐंसेलुखर्क, जुबु डाँडाहरु जति उकालो चढ्दै गयो उति तलतल जस्तो देखिन थाल्यो । कोशीपारीका डाँडाकाँडा र नौलेकाको डाँडाहरु, क्षितिजमा देखिने हिमालहरु हाराहारी पुगेजस्तो भान भयो । भने परपर देखिने तिलपुङ डाँडा पनि हाराहारीमा पुगे जस्तो भान भयो। हामी क्रमशः उकालो लाग्यौं ।

जाँदाजाँदै एकजना शेर्पाको घरमा पुग्यौं । हुन शेर्पा गाउँ तल पात्ले चौतारा छेउदेखि नै सुरु भएको हो। त्यहाँ एकजना शेर्पा भाई खाँबोहरु गाडेर, पर्‍यङको भकारीले बारेर कटेरा बुन्दै रहेछ । साथीहरुसँग चिनजान रहेछ । बोलचाल भयो । घरमा को–को हुनुहुन्छ भनेर विवश दाजैले सोध्नुभयो र चियाखाजा पकाइदिन आग्रह गर्नुभयो । झोलामा बोकेको चिनी र भटमास त्यहीँ छाड्यो। घर पछाडि पर्‍यङ काटेर राखेको बन्डल रहेछ । पाँच छ पत्ता भकारी पनि बुनि सकिएको रहेछ भने घरको तल्लोपट्टि डिलतिर चिनअप(ह्याभिङ गाउँतिरको बेलीचालीको भाषामा) गर्नको लागि दुइवटा खाँबो गाडेर तेर्सो काठ लगाएर बनाएको रहेछ । खासमा यो लाहुरे संस्कृति पालेको लाहुरे बन्ने सपनाको जिजिविषा हो भन्न मिल्छ होला ?

त्यहाँबाट हामी कागते वनको दक्षिणतिरको डाँडाको धारैधार उकालो लाग्यो । माथि एउटा चौतारा आयो त्यहाँबाट भने धनवीर काँचोपाते वनको गैरी तर्फको सीमाक्षेत्रतर्फ मोडियौं । डाँडाको धारलाई छाडेर हामी पहाडको पाटाको दम्साइलो बाटो समात्यौं । त्यहाँबाट हामी बोसेम खोलाको वोल्लो(उत्तरतिर) मुहानको खोल्सा पुग्यौं। खोल्साको वारिपट्टि साबिकको वडा नं. ५ को राईगाउँमा ल्याइएको खानेपानीको मुहान राखिएको ट्याङकी रहेछ, साथीहरुले जानकारी गराए। मनमनै सोचें चिन्देपानी भनेको यहीँ रहेछ ।
त्यो खोल्सी तरेपछि लगभग २०० मिटर जत्ति उकालो चढ्यौं । एउटा सानो डाँडा आयो । त्यहाँबाट केही परतिर रहेछ काठ। पात्लेको काठ काटिएको रहेछ बाक्लो–बाक्लो रहेछ । बेक्न गर्हौ सबैले २–२ वटा बोक्यौं । मलाई बोक्न हम्मेहम्मे पर्‍यो ।

काँधमा ज्याकेट पट्याएँ र ल्याप्टो राखेँ र काँधमा काठ बोकेँ। हामी सबैले नै काँधमा बोक्यौँ। लगभग पाँच छ ठाउँ बिसाएर पहिलो खेप लगाइएको ठाउँमा ल्याइपुर्‍याए हामीले ५ जनाले पहिलो खेप ल्याइपुर्‍याउँदा बल्ल अर्को टोली ओस्पु र जेजुरुबाट आइपुगे छन् । पछिल्लो टोलीमा कान्छु(अमृत) दाजु, साइला(रबिन) भाई र रोशन भाई थिए। त्यसपछि भने सबैले पहिलो खेप लगाउने ठाउँसम्म काँधमा काठ बोकेर खेप लगायौँ ।

पहिलोपल्ट खेप लगाउने ठाउँमा चार–चार पटक ओसारेपछि सकियो। अब भने फेरि दोस्रो ठाउँमा खेप लगाउनु पर्ने पालो आयो। अघि दम्साइलो बाटो थियो। अब पुरै ओरालो। सबैले काठ काँधमै बोकेर ओरालो झा¥यौँ र कागतेको रोडमाथि खेप लगायौँ। यहाँबाट भने पछि ट्याक्टरले तल घरसम्म पु¥याउने योजना रहेको थियो । दोस्रो खेप लगाउने ठाउँमा पहिलो खेप बोकेपछि खाजा खान गयौँ। शेर्पाको घरभित्र पस्यौँ। घरभरि ड्याम्मै भयौँ। भुटेको मकै र भटमास नाङ्लोमा राखेर खायौँ। चिया पियौँ । जाडोजाडो मौसममा भुटेको मकैभटमास र चिया खानुको मज्जा अर्कै छ। त्यसमाथि शेर्पेनी दिदीले आफ्नो खाजाको लागि करेला उसिन्नु भएको रहेछ। थपमा त्यो पनि खायौँ। चियाखाजा पछि पुनः खेप लगाउन थाल्यौँ। यतिबेला लगभग अपराह्नको ३ बजिसकेको थियो। खाजा खाइसकेपछि अन्तिम खेपको काठ केही साथीहरुको भागमा जिम्मा लगाई हामी चारजना चाहिँ डाँडागाउँमा सेग्रो(बायुङ राईहरुको सबैभन्दा ठूलो पितृकार्जे) को निम्तो मान्न ढिला हुने भएकोले छुट्ने समयअगावै घरतिर फक्र्यौँ ।

फर्किदाँ उही बाटो ओरालो बिस्तारै झर्‍यौँ । पर उत्तर क्षितिजको हिमालभन्दा सामुन्नेको पहाड र डाँडा क्रमशः अग्लिँदै गए। समय पनि विस्तारै घर्किँदै गयो । उज्यालो पनि क्रमशः मधुरो हुँदै गयो भने घामको न्यानोपन पनि कठ्याङ्ग्रिँदै गयो । म्नमा सेग्रोको हर्गे(झ्याम्टा) घन्किन थाल्यो ।
—०—

तपाइको प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *

हामी तपाईंको इमेल अरू कसैसँग साझा गर्दैनौं।

ट्रेन्डिङ