Gaule News
आइतवार, फाल्गुन २३, २०७७
Gaule Entertainment Media Group Pvt.Ltd.

म्याक्सिम गार्कीको विश्वप्रख्यात उपन्यास आमाको नेपाली अनुवाद भाग- ४

मानिसहरुले उडाएको त्यो दूषित हल्ला घरवरिपरि मडारिँदै थियो । मान्छेहरु घाँटीमाथि रहेको त्यस घरभित्र जुन रहस्यमय कुरा लुकेर रहेको थियो त्यसलाई कुनै तरिको आतङ्कित गरेर बाहिर निकाल्न चाहन्थे र राती उनीहरु झ्यालभित्र चियाउँथे । कहिलेकाहीँ त झ्यालको ऐना पनि खटखटाउँथे, तर तुरुन्तै भागी पनि हाल्थे ।

  • Gaule News
  • बुधबार, माघ २८, २०७७
म्याक्सिम गार्कीको विश्वप्रख्यात उपन्यास आमाको नेपाली अनुवाद भाग- ४

बस्तीको छेउमा रहेको त्यो सानो घरतिर मानिसहरुको ध्यान आकर्षित हुन थाल्यो । दर्जनौं जासुसी आँखाहरु त्यस घरको भित्ता छेडेर भित्र चियाउन चाहन्थे । मानिसहरुले उडाएको त्यो दूषित हल्ला घरवरिपरि मडारिँदै थियो । मान्छेहरु घाँटीमाथि रहेको त्यस घरभित्र जुन रहस्यमय कुरा लुकेर रहेको थियो त्यसलाई कुनै तरिको आतङ्कित गरेर बाहिर निकाल्न चाहन्थे र राती उनीहरु झ्यालभित्र चियाउँथे । कहिलेकाहीँ त झ्यालको ऐना पनि खटखटाउँथे, तर तुरुन्तै भागी पनि हाल्थे ।
एक दिन भट्टीको मालिक बेगुन्चोभले पेलागेया नीलोभ्नालाई बाटामा रोक्यो । त्यो बूढो हेर्दा त निकै असल मान्छेजस्तो देखिन्थ्यो । उसले सधैं बैजनी रङको मखमलको इस्टकोट लगाएको हुन्थ्यो र उसको रातो चाउरे गर्धनमा एउटा कालो रेशमी रुमाल बाँधिएको हुन्थ्यो । यसको चम्किलो चुच्चे नाकमा कछुवाको हाडले बनेका चस्मा हुन्थ्यो, त्यसैले मान्छेहरुले उसको नाम पनि “हाडका आँखा” राखेका थिए ।
उसले उत्तरको प्रतीक्षा नै नगरी एकै सासमा आमामाथि शब्दहरुको वर्षा गर्न थाल्यो –
“पेलागेया नीलोभ्ना, के छ हालखबर ? छोरो के गर्दै छ नि ? उसको बिहे गर्ने विचार छैन कि क्या हो ? केटालाई बिहे गरिदिने बेला भैसक्यो । जति छिटो छोराछोरीको बिहे गरिदिन्छन्, आमाबाबुले त्यत्तिकै छिटो चैन पाउँछन् । मान्छेका लागि गृहस्थी त्यत्तिकै लाभदायक हुन्छ, जति दापभित्र खुकुरी जोगिन्छ । तपाईको ठाउँमा म भएको भए त बिहे गरिदिइसक्थेँ होला उसको । जमानै यस्तो भैसकेको छ, सधैं विचार गर्नुपर्छ को कसरी दिन बिताउँदैछ । मानिसहरु मनपरी तरिकाले बस्न थालेका छन् । उट्पट्याङ कुराहरु सोच्न थालेका छन् र काम पनि त्यस्तै गर्छन् । युवकहरु गिर्जाघर जान छाडे र मानिसहरुको भीडबाट भागीभागी हिँड्न थालेका छन् । अँध्यारा कुनाकाप्चाहरुमा लुकीलुकी आफ्ना रहस्यहरुबारे कानेखुसी गर्छन् । म सोध्छु किन यो खस्याकखुसुक ? किन मानिसहरुबाट भागीभागी हिँड्छन् ? के पो त्यस्तो कुरा हो, जो उनीहरु सबैका अगाडि भट्टीमा भन्न डराउँछन् ? कुनै गोप्य कुरा त होइन ?
गोप्य कुरा बताउने त एउटै मात्र ठाउँ छ, त्यो हो पवित्र गिर्जाघर । यो कुनाकाप्चामा लुकेर खस्याकखुसुक गर्ने बानी त दिमागको खराबी हो । लौ त पेलागेया नीलोभ्ना, तपाईको भलो होस् ।”
उसले आफ्नो टोपी फुकालेर हल्लायो र हिँडी पनि हाल्यो । आमा आश्चर्यचकित भएर त्यहीँ उभिइरहिन् ।
फेरि एकपल्ट यस्तै घटना घट्यो – भ्लासोभ परिवारको छिमेकी मारिया कोर्सुनोभाले, जो एक लोहारकी विधवा थियन् र फैक्ट्रीाको ढोकामा खानेकुरा बेचेर आफ्नो पेट पाल्थिन्, बजारमा पेलागेया नीलोभ्नालाई भेट्टाइन् । उनले भनिन् –
“पेलागेया, आफ्नो छोराको हेरविचार गर्नु है !”
“किन र ?” आमाले सोृधिन् ।
“म त नानाथरीका कुरा सुन्छु है !” मारियाले बडो रहस्यपूर्ण तरिकाले भनिन् । “बडो खराब कुरा सुन्छु, बुझ्यौ आमै ! सुन्छु, ऊ कुनै गोप्य सङ्गठन खडा गर्दै छ, फ्लैगलान्तहरुजस्तो । भन्छन् – उनीहरुले पनि फलैगलान्तहरुले जस्तै एक दोस्राको छाला उखेल्नेछन् ।”
“छोड मारिया, किन व्यर्थको बकवास गछ्र्यो ।”
“बिनाआगो धुवाँ आउँदैन ।” पसल्नीले भनिन् ।
आमाले यी सबै कुरा छोरालाई बताइन्, तर उसले खाली कुम मात्र हल्लायो, उक्राइनि चाहिँ सधैंजस्तो आफ्नो कोमल आवाजमा मस्तसित हाँस्न थाल्यो ।
“केटीहरु पनि खुब रिसाएका छन् तिमीहरुसँग ।” आमाले भनिन् – “तिमीहरुजस्ता केटाहरुसँग बिहे गर्न पाए कुनै पनि केटीहरुले आफूलाई भाग्यमानी ठान्नेछन् । तिमीहरु मेहनती छौ, रक्सी पिउँदैनौं, तर केटीहरुको चाहिँ अलिकति पनि वास्ता गर्दैनौ । मानिसहरु भन्छन्, सहरबाट खराब केटीहरु तिमीहरुसँग भेट्न आउने गर्छन् .. ।”
“लौ भयो अब ।” पाभेलले मुख बिगार्दै भन्यो ।
“धापमा सबै कुरा गन्हाउँछ ।” ऊक्राइनिले लामो सास फेर्दै थियो । “आमै, भनिदिनोस् न यी उल्लू केटीहरुलार्य बिहे गरेपछि के दुर्गति हुन्छ ? नत्र फाँसीमा लट्किन त्यत्ति हतारो गर्दैनथे होलान् .. ।”
“हे भगवान्, उनीहरुलाई सबै कुरा थाहा छ, सबै बुझ्छन् । तर अर्को बाटो नै के छ र ?” आमाले भनिन् ।
“यदि उनीहरुले बुझेका भए अर्को बाटो भेट्टाइहाल्थे नि ।” पाभेलले भन्यो ।
आमाले छोराको गम्भीर अनुहारतिर हेर्दै भनिन् –
“तिमीहरु किन पढाउन्नौ यी केटीहरुलाई ? उनीहरुमध्ये अलि समझदार भएकाहरुलाई यहाँ डाक्ने गर न !”
“बेकार छ ।” छोराले रुख ो स्वरमा जवाफ दियो ।
“कोसिस गरेर हेरे कस्तो होला ?” उक्राइनिले सोध्यो ।
एकछिन चुप लागिसकेपछि पाभेलले जवाफ दियो –
“एक दोस्रासँग घुमफिर गर्न थाल्नेछन् । अनि कसैकसैले बिहे पनि गर्नेछन् । त्यसपछि किस्सा खत्तम भैहाल्छ ।”
आमा सोच्न थालिन् । पाभेलको यो महात्माको जस्तो नीरसताले उनी चिन्तित हुन थालेकी थिइन् । उनी देख्थिन् – उसका सबै साथीहरु, उक्राइनिजस्ता ऊभन्दा बढी उमेर भएका साथीहरु ऊसँग सल्लाह माग्ने गर्थै । उनलाई लाग्थ्यो – सबै उसँग डराउँछन् र उसको यस गम्भीरताले गर्दा कसैले पनि उसलाई मन पराउँदैन ।
एक दिन राती उनी पल्टिसकेकी थिइन्, पाभेल र उक्राइनि अझ पढ्दै थिए, पातलो भित्तापारी उनीहरुले सानो स्वरमा कुरा गरेका सुनिनु् ।
“थाहा छ, मलाई नातासा मन पर्छ ।” अचानक उक्राइनिले भन्यो ।
“मलार्य थाहा छ ।” पाभेलले एकछिनपछि जवाफ दियो ।
आमाले सुनिन्, उक्राइनि बिस्तारै उठेर नाङ्गा खुट्टा कोठामा ओहोरदोहोर गर्दै छ । उसले एकदमै सानो स्वरमा कुनै उदास धुनको सिटी बजाउन थाल्यो, अनि अकस्मात् थामियो र सानो स्वरमा भन्यो –
“उनले चाल पाएकी होली यो कुरा ?”
पाभेल चुप थियो ।
“मस्तो लाग्छ तिमीलार्य ?” आफ्नो स्वर अझ सानो पार्दै उसले सोध्यो ।
“चाल पाएकी छे ।” पाभेलले जवाफ दियो । त्यसैले त यता आउन छाडेकी हो ।”
उक्राइनि बिस्तारै कोठामा घुम्दै थियो र कोठामा फेरि उसको सिटीको हल्का स्वर गुन्जियो ।
“सिधै कुरा गरे कस्तो होला ?” उक्राइनिले बिस्तारै सोध्यो ।
“के भन्ने ?”
“यही कि म उनीसँग – ।” उक्राइनिले अझ सानो स्वरमा भन्यो ।
“के काम ?” पाभेलले उसलाई बीचैमा रोक्दै सोध्यो ।
आमाले अन्दाज लगाइन्, उक्राइनिले ओहोरदोहोर गर्न बन्द ग¥यो र उनलाई लाग्दै थियो, ऊ उभिएर मुस्कुराइरहेको छ ।
“मलाई लाग्छ, यदि कसैले कुनै केटीसँग प्रेम गर्छ भने उसलार्य यो कुरा बताइदिनुपर्छ नत्र यसको कुनै नतिजा निस्कँदैन ।”
पाभेलले जोटले आफ्नो किताब बन्द ग¥यो ।
“त्यसो भए कुन नतिजा तिमी चाहन्छौ ?” उसले सोध्यो ।
दुवै जना धेरै बेरसम्म चुप लागे ।
“भन न ! उक्राइनिले सोृध्यो ।
“आन्द्रेइ, तिमीलाई स्पष्ट रुपमा थाहा हुनुपर्छ, तिमी के चाहन्छौ ?” – पाभेलले बिस्तारै भन्यो । “लौ, मानौं ऊ पनि तिमीलाई प्रेम गर्छे, हुन त यस कुरामा मलाई शङ्कै लाग्छ, तैपनि मानौं यस्तै हो रे – अनि तिमीहरुको बिहे हुनेछ । बडो मजाको जोडी ठहरिनेछ – उनी बुद्धिजीवी र तिमी चाहिँ साधारण मजदुर ! त्यसपछि केटाकेटी जन्मन थाल्नेछन् । परिवारको पेट पाल्न रातदिन रगतपसिना चुहाउनुपर्नेछ । दालभात, कोटाकेटी र डेराको जन्जालमा तिमी कसरी फँस्नेछौ भने हाम्रो उद्देश्यका लागि काम गर्ने कुनै समय तिमीहरुसँग बाँकी रहने छैन र तिमीहरु दुवै जना खत्तम हुनेछौ !”
एकछिन कोठामा कुनै आवाज सुनिएन । फेरि पाभेलको आवाज सुनियो । यसपल्ट उसको आवाज त्यत्ति कठोर थिएन ।
“आन्द्रेइ, छोड तिमी यी सबै कुरा । उनका लागि पनि कठिनाइ पैदा नगर .. ।”
दुवै चुप थिए । घडीको टिकटिक आवाज स्पष्ट सुनिँदै थियो, समय बित्दै थियो ।
उक्राइनिले भन्यो –
“आधा हृदयले प्रेम गर्छ, आधा हृदयले घृणा गर्छ, यस्तो पनि हृदय हुन्छ ?”
किताबको पाना पल्टाएको आवाज सुनियो । आमाले सोचिन्, पाभेल फेरि किताब पढ्न थालेछ । उनी आँखा बद गरेर पल्टेकी थिइन् – सास फेर्नसम्म पनि हिचकिचाउँदै थिइन् । उनी उक्राइनिका लागि दुःखित थिइन्, उनको हृदय रुँदै थियो, तर आफ्नो छोराका लागि बढी चिन्तित थिइन् ।
“बिचरो, मेरो प्यारो छोरो ।” आमा सोच्दै थिइन् ।
“त्यसो भए तिम्रो बिचारमा मैले चुप लागेर बस्नु नै बेस छ ?” – अचानक उक्राइनिले सोध्यो ।
“यो बढी इमान्दारी ठहरिनेछ ।” पाभेलले शान्तिपूर्वक जवाफ दियो ।
“ठीक छ, त्यस्तै गर्नुपर्ला !” उक्राइनिले भन्यो । एकछिनपछि उसले बिस्तारै ठूलो निराशा भरिएको आवाजले भन्यो – “पाभेल, कुनै दिन तिमीमाथि पनि यस्तै आइप¥यो भने थाहा पाउनेछौ कति गाह्रो पर्दो रहेछ .. ।”
“थाहा पाउन थालिसकेको छु .. ।”
घरको भित्तामा हावा ठक्कर खाँदै थियो । घडीको टिकटिक आवाजले समय बितेको सूचना दिँदै थियो ।
“यो कुनै ठट्टा गर्ने कुरा होइन !” उक्राइनिले बिस्तारै भन्यो ।
आमा तकियामा मुख गाडेर चुपचाप रुँदै थिइन् ।
बिहान उनलाई लाग्यो, आन्दे्रइ पहिलेभन्दा होचो देखिन थालेको छ र झन् मायालाग्दो भएको छ । दुब्लो, पातलो पाभेल सधैंजस्तो चुपचाप थियो । आमा उक्राइनिलार्ई सधैं आन्द्रेइ ओनीसिमोभिच भनेर डाक्ने गर्थिन्, तर आज चालै नपाई उनले भनिन् –
“आन्द्रेइ, आफ्नो जुत्ता मर्मत गर्न लाउनू, नत्र बिरामी पर्नेछौ ।”
“तलब पाएपछि नयाँ जुत्ता किन्छु ।” उसले हाँस्दै भन्यो । अनि अकस्मात् आफ्नो लामो हात आमाको काँधमा राख्दै सोध्यो – “तपाई नै मेरी साँच्चीको आमा हुनुपर्छ । तर तपार्य यो कुरा स्वीकार गर्न चाहनुहुन्न । म असाध्यै कुरुप भएकाले त होइन, लौ भन्नोस् त ?”
आमाले चुपचाप उसको हात थपथपाइन् । उनी उसलाई धेरै स्नेहपूर्ण कुराहरु भन्न चाहन्थिन्, तर उनको मुटु वेदनाले भरिएको थियो र मुखबाट शब्द निस्कन सकेन ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *

हामी तपाईंको इमेल अरू कसैसँग साझा गर्दैनौं।

ट्रेन्डिङ