Gaule News
सोमवार, माघ ५, २०७७
Gaule Entertainment Media Group Pvt.Ltd.

चिसोका कारण तराईको जनजीवन कष्टकर

चिसोका कारण तराईको जनजीवन कष्टकर

महोत्तरी । तीन दिनदेखि यता सुरु भएको बाक्लो हुस्सु र अत्याधिक चिसोका कारण महोत्तरीलगायत तराईको जनजीवन प्रभावित भएको छ ।

बाक्लो हुस्सु र कुहिरोको कारण घाम लाग्न नसकेपछि बढेको चिसोले तराईको जनजीवन कष्टकर बनेको हो ।

पश्चिमी वायुका कारण साम्य हुन लागेको जाडो पुनः दोहोरिएको छ । तराईका जिल्लामा अहिले दैनिकरुपमा बढेदै गएको जाडोका कारण जनजीवन निकै प्रभावित भएका छन् । चिसोवाट वृद्धवृद्धा, बालबालिका र दैनिक मजदूरी गरेर जीविका चलाउने वर्ग बढी प्रभावित हुने गरेको छ ।

निरन्तरको चिसो, कठ्याङ्ग्रिँदो हावा, शीतलहर, हुस्सु र बाक्लो कुहिरोका कारण वातावरण बिग्रेर मानिस, चौपाया पशु, पक्षी तथा बालीनालीसमेत प्रभावित भएको छ । चिसोकै कारण अहिले महोत्तरी जिल्लाको सदरमुकाम जलेश्वरसहित जिल्लाको शहरी तथा ग्रामीण भेगमा मानिसको चहलपहलमा कमी आएको छ भने जिल्लावासी बाक्लो कुहिरोका कारण यातयातका साधन चढ्न छोडेका छन् ।

जिल्लाका विभिन्न बजारमा बाक्लो ऊनी कपडाको बिक्रीमा बढोत्तरी भएको छ भने चिसोकै कारण जिल्लाको हाट बजारहरुमा मानिसको उपस्थिति न्यून भएको छ । चिसो बढेपछि चिया पसलमा अत्यधिक भीड हुने गरेका छन् । बिहान ४ बजेदेखि बेलुका ८ बजेसम्म चिया पिउनेको लाइन लाग्ने गरेको जलेश्वर नगरपालिका–२ मा चिया पसल गर्दै आएका दिलीप साहले बताउनुभयो । उहाँले आफू पसल बन्द गर्न खोज्दा पनि ग्राहकले बन्द गर्न नदिने र बिहान ४ बजे नै आएर पसल खोल्न तथा राति अबेरसम्म चिया पसलमै बस्न आग्रह गर्ने गरेको बताए ।

चिसोकै कारण जिल्लाको स्वास्थ्य केन्द्रलगायत जिल्ला अस्पतालमा विभिन्न किसिमका बिरामीको सङ्ख्यामा समेत वृद्धि भएको चिकित्सकहरु बताउँछन् । लगातार बढ्दै गएको जाडोबाट सबैभन्दा बढी बालबालिका, वृद्धवृद्धा र सुत्केरी बढी प्रभावित भएका छन् । साथै आर्थिकरुपले कमजोर व्यक्तिसमेत बढ्दै गएको जाडोको प्रत्यक्ष मारमा परेको चिकित्सक गिरेन्द्रकुमार झाले बताए ।

चिसोका कारण बालबालिका, वृद्धवृद्धा र सुत्केरीमा रुखाखोकी, ज्वरो, दम, हातगोडा सुनिने, दुख्नेलगायत समस्या देखिएको स्वास्थ्यकर्मी झाले बताउनुभयो । जाडोबाट बच्नका लागि ठाउँठाउँमा स्थानीयवासीले आगो बालेर ताप्ने गरेको देखिन्छ ।

 

तपाइको प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *

हामी तपाईंको इमेल अरू कसैसँग साझा गर्दैनौं।

ट्रेन्डिङ