Gaule News
सोमवार, माघ ५, २०७७
Gaule Entertainment Media Group Pvt.Ltd.

किराती सेलीब्रेटीका प्रायोजनमा साकेला कविता प्रतियोगीता सम्पन्न

पुरस्कार वितरणसँगै सकियो साकेला साहित्य महोत्सव

किराती सेलीब्रेटीका प्रायोजनमा  साकेला कविता प्रतियोगीता सम्पन्न

साकेला साहित्यय महोत्सव–२०७७ सम्पन्न भएको छ । किरात राई लेखक सङ्घले यही पौष ११ र १२ गते आयोजना गरेको महोत्सव किरातीहरुको महान चाड साकेलाको सुरुवातसँगै आज (बुधबार) सम्पन्न भएको हो ।
महोत्सव अन्तर्गत भएको कविता प्रतियोगीतामा बिमन किराती प्रथम, सबुकिरण दोस्रो, शुकुन आशुँ तेस्रो हुन सफल भए भने प्रयास दुमी राई, देव सिमप राई र प्रदिप योङहाङले सान्त्वना पुरस्कार प्राप्त गरे । जम्मा ५७ कविता पाप्त भएकोमा उत्कृष्ट ३०को छनौट गरिएको थियो । कोभिड–१९ का कारण भर्चुअल दुनियाँमार्फत महोत्सव आयोजना गरिएको थियो । भर्चुअल दुनियाँमार्फत नै उत्कृष्ट ३० कविताहरुको भिडियो देखाइएको थियो ।
विजेता कविहरुको पुरस्कारको प्रायोजन प्रसिद्ध किराती कलाकारहरुले गरेका थिए । २० हजारको प्रथम पुरस्कार प्रसिद्ध गायक राजेश पायल राई, १५ हजारको दोस्रो पुरस्कार पसिद्ध अभिनेता दयाहाङ राई र १० हजारको तेस्रो पुरस्कार प्रसिद्ध हास्य कलाकार विल्सन बिक्रम राईले प्रायोजन गरेका थिए । त्यसैगरी पाँच हजारको सान्त्वना पुरस्कारको प्रयोजन लोकप्रिय गायिका मेलीना राई, गायिका समृद्धि राई र मोडल तथा अभिनेत्री एलिशा राईले गरेका थिए । त्यसैगरी चर्चित लेखक राजन मुकारुङले २५ हजार बराबरको पुस्तक पुरस्कृत कविहरुलाई उपहारका रुपमा प्रदान गरेका थिए । पुरस्कृत कविहरुलाई नगदको साथमा मेडल र प्रमाणपत्रसमेत प्रदान गरिएको थियो ।
कोभिड–१९का कारण भौतिक रुपमा भेला भएर साकेला मनाउन नमिल्ने भएकाले लेखक सङ्घले साहित्य महोत्सवमार्फत साकेला मनाएको जनाएको छ । साथै साकेलाको महत्वलाई साहित्य जगतमा स्थापित गर्ने र यसको सौन्दर्यलाई सिंगो साहित्यमा स्थापित गर्ने उद्देश्यले महोत्सवको आयोजना गरिएको सङ्का अध्यक्ष तथा लेखक खुक्सङ खम्बुले बताए ।
कार्यक्रममा बोल्दै बरिष्ठ लेखक भूपाल राईले साकेला किराती समुदायको केन्द्रविन्दु रहेको बताए । ‘साकेला गुम्यो भने किरातीहरुको आधा पहिचान गुम्न पुग्छ’ राईले भने ‘राजेश पायल राई,मेलिना राई, समृद्धि राईहरुले गाइरहेको र दयाहाङ राई, विल्सन बिक्रम राई र एलिशा राईहरुले गरिरहेको अभिनय किरात प्राज्ञिक सत्ता निर्माणको एउटा इकाई हो ।’
प्रसिद्ध गायक राजेश पायल राईले आफूले पुरस्कार प्रायोजन होइन गरेको नभएर आशिर्वाद मात्रै भएको बताए । ‘भाषा जीवनको सबभन्दा ठूलो ज्ञान हो । पहिले हामी ढिंडो खान लजाउँथ्यौं । तर, अहिले धनीमा मानिसहरुले खोजी खोजी खान थालेका छन् । हाम्रो मातृभाषा पनि त्यस्तै भएको छ’ राईले भने ‘स्यामुना एल्बमको लागि मैले समय खर्च गरेको ७ वर्ष भइसकेको छ । तर मलाई त्यसमा समय र पैसा लगानी भएकोमा ग्लानी भएको छैन, राई हुनुमा गर्व लागेको छ । मातृभाषाहरुको सौन्दर्य यस्तो छ कि त्यसको वर्णन गरेर सकिदैन ।’
महोत्सवको पहिलो दिन ‘किरात प्राज्ञिक सत्ता निर्माणबारे’ शिर्षकमा वरिष्ठ कवि भूपाल राई, ‘साहत्यिमा आदिवासी साहित्यकारहरुको भूमिका’ शिर्षकमा साहित्यकार राजन मुकारुङ र ‘जनगणनामा जनसंख्याको राजनीति’ शिर्षकमा समाजशास्त्री प्रकाश राईले बहस गरेका थिए । त्यसैगरी दोस्रो दिन अनुसन्धाता तथा मुन्दुविद भोगीराज चाम्लिङले ‘साकेलाको गरिमा’ शिर्षकमा बहस गरेसँगै प्रतियागी कविहरुको कविताको भिडियो प्रदर्शन गरिएको थियो ।
समापन कार्यक्रममा कवि सुष्मा रानहँमाको पहिलो कविता संग्रह ‘आमाको तासफोटो’संयुक्त रुपमा बिमोचन गरिएको थियो । संग्रहमाथि बोल्दै राजन मुकारुङले संग्रहले सुरुमा प्रेमील र जीवनको संघर्ष अर्थात् बोध हुँदै अन्तिममा चेतनालाई आन्दोलित गर्ने बताएका थिए । कार्यक्रममा सङ्घका अध्यक्ष खुक्सङ खम्बुले विश्व समुदायलाई साकेलाको शुभकामना व्यक्त गर्दै एकै पटक ‘साकेला’ बिषयमा ५७ कविता लेखिनु इतिहासमै पहिलो र ऐतिहासिक कार्य भएको बताए ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *

हामी तपाईंको इमेल अरू कसैसँग साझा गर्दैनौं।

ट्रेन्डिङ