Gaule News
सोमवार, कार्तिक ३, २०७७
Gaule Entertainment Media Group Pvt.Ltd.

सपनाका ‘ट्रेलर’ हरू

–विवश वस्ती

सपनाका ‘ट्रेलर’ हरू

म अचेल अचम्म, निकै नै अचम्मलाग्दा सपनाहरू देख्न थालेको छु । कुनै सपना निकै अद्भूत हुन्छन्, कुनै चाहिँ अचाक्ली डरलाग्दा । कुनै–कुनै सपनाले चाहिँ ऐंठन जन्माउने क्षमतासमेत राख्छन् । आखिर, सपना न हो । जस्तो देखिन्छ, चुपचाप–चुपचाप स्वीकार्नु पर्छ । सपनालाई बहिस्कार गर्न नसकिँदो रहेछ ।
पछिल्लो हप्ता मैले केही सपना देखेँ । देखेका ती केही सपनाहरूका ‘ट्रेलर’ पस्किने अनुमति चाहन्छु । आज्ञा पाऊँ ।

प्रथम ट्रेलर: दलित ।
म प्रायः उच्च, सम्भ्रान्त एवं अभिजात्य वर्गका सपनाहरू देख्छु । देख्दै आइरहेको छु आजपर्यन्त । त्यस्ता वर्गका सान, मान र गानले भरिपूर्ण सपना देख्न म पारंगत भइसकेको छु । तर, केही दिनयता भने मेरो सपनाको विषय अलि पृथक हुन थालेका छन् । अचेल भने म सपनामा बारम्बार दलित, महिला, जनजातिका साथै उत्पीडित, दमित वर्ग–घेरामा उभिएका निरीह पात्रहरूका सपना देख्न थालेको छु । मेरा सपनाका पात्रहरू किन एकाएक बदलिए ? यो के कुराको संकेत हो ? मैले बुझ्न सकेको छैन, एक थोपै पनि ।

हिजो राति मैले दलितको सपना देखेँ । दलितको सपनाको टे«लर देख्ने क्रममा मैले एउटा क्रुर परिस्थितिको सामना गर्नुपर्‍यो ।

मेरो मूल्यांकनमा त्यो एउटा ‘फासीवादी सपना’ थियो । भयंकर फासीवादी । फासीवादको जन्म, निर्माण र उत्थान हुनमा केके तत्वहरूको आवश्यकता पर्दछन् ? ती सबै तत्वहरू मैले देखेको त्यो सपनामा अन्तर्निहित थिए । फासीवादलाई सिंगारपटार गर्नेहरूले अपनाउने सौन्दर्य–तत्वहरू पनि पर्याप्त मात्रामा नै थिए ।

त्यो सपनाको सार थियो– ‘यदि दलित–समस्यालाई समाधान गर्नु छ भने सबै दलितहरूलाई नरसंहार गर्नुपर्छ । एकाध नवराज विक, एकाध विजय राम, एकाध अरू ऐरेगैरे दलितहरूका सफाया गरेर मात्र हुँदैन । सबै दलितहरूलाई एकै चिहान पार्नु पर्छ । एउटा रुकुम, एउटा रौतहट होइन, अनेक भूखण्डहरूमा त्योभन्दा भयानक प्रकृतिका घटनाको सूत्रपात गर्नुपर्छ । अर्थात्, वर्षौंअघि हिटलरले यहुदीहरूलाई ग्यासच्याम्बरमा राखेर जसरी समाप्त पारेका थिए, लगभग त्यसरी नै ।’

सबै दलित स्वाहा । न रहन्छ बाँस, न बज्ला मुरली । एक्काइसौं शताब्दीमा दलित–समस्या हल गर्ने योजति अचुक, सरल, सफल र उत्तम तरिका अरु हुनै सक्दैन ।

द्वितीय ट्रेलर: नेपाल–भारत मैत्रीपूर्ण सम्बन्ध ।
भन्नेहरूले त ‘नेपाल–भारतबीच वर्षौंदेखि सुमधुर सम्बन्ध छ’ भन्छन् । होला पनि । भाषा, संस्कृतिलगायत अरु पक्षहरूबीचको मेलले गर्दा यी दुई देशबीचको सम्बन्धलाई ‘सुमधुर’ बनाउन भूमिका निर्वाह गरेका छन् ।

कहिलेकाहीं नेपाल–भारतबीचको सम्बन्ध त फेवा तालमा फैलिने जलकुम्भी झारझैं यत्रतत्र फैलिन्छन् पनि । र, त्यसले तालको सौन्दर्यलाई पूरै विदु्रप र विरुप तुल्याइदिन्छ । तसर्थ, त्यसलाई सफा गर्नुपर्ने झन्झट पनि उठाउनु पर्छ कुनै–कुनै बेला ।

नेपाल–भारत सम्बन्ध प्रकरणमा मैले देखेको सपनाको टे«लर त बडो रोचक थियो । सनसनीपूर्ण पनि उत्तिकै । म ठोकुवा गरेर भन्न सक्छु, यो सपना मैले देखेका अहिलेसम्मकै उच्चकोटीको सपना पनि थियो । जहिल्यै दरिद्र, निम्न तहका सपना देख्दै आएका मजस्ता मनुवाका निम्ति नेपाल–भारतबीच सम्बन्धको सपनाको विषयवस्तु भने अत्यन्तै मौलिक हुनुका साथै शिल्प, कथ्य, संवेदना र अर्थबोधका हिसाबले समेत निकै मोहकसमेत थियो ।

कस्तो थियो त, त्यो सपनाको ट्रेलर ?
यस्तो थियो– ‘मेरो सपनामा उत्तरतिर होइन, दक्षिणतिर अग्ला–अग्ला हिमालहरू उभिइरहेका थिए । सगरमाथा दक्षिणमा, माछापुछ्रे दक्षिणमा, धौलागिरि दक्षिणमा, मकालु दक्षिणमा, सैपाल दक्षिणमा । सबै हिमालहरू दक्षिणतिर उभिइरहेका । कस्तो ताज्जुवको सपना । दक्षिणतिर उभिएका अग्ला–अग्ला हिमचुलीहरूका कारण नेपाल र भारतबीचको सम्बन्ध दुरुह हुँदै गएका रहेछन् । र, त्यही दुरुह भौगोलिक सम्बन्धका कारण दक्षिणका छिमेकीले हामीलाई खासै दुःख दिन सकेका रहेनछन् ।

नेपाल–भारतबीचको सौहार्द सम्बन्ध देख्दा यो उखानको याद आयो मलाई, ‘असल मित्रताले आनन्दलाई दुई गुना र दुःखलाई आधा तुल्याइदिन्छ ।’

तृतीय ट्रेलर: समृद्धि–सपना ।
मेरो सपनामा प्रायः नछुट्ने ‘विषयवस्तु’ हो– गाउँ । म सपनामा गाउँको बाटा, दोबाटा, गल्ली, चौतारी, भञ्ज्याङ, खेतका आली–आली सर्वत्र दौडिरहेको हुन्छु । गाउँको सपना देखेको बिहान म निश्चय नै ताजा र स्फूर्ति सँगालेर ब्युँझिन्छु । सपनामा गाउँ देखेको दिन त्यसले मेरो दिनचर्यालाई पनि प्रभावित तुल्याउँछ ।

केही समयअघि मैले गाउँका सबै घरहरू पूरै सिमेन्टेड भएको देखेँ । म गाउँको बाटैबाटो हिँडिरहेको रहेछु । त्यही क्रममा, गाउँका सबै घरहरू अग्ला–अग्ला, पूरै सिमेन्टद्वारा निर्मित । खरले छाएका घरहरू त अतितको विषय बनिसकेछन् । जस्तापाताले छाएका घरहरू पनि पाउन मुस्किल । सबै घर तीन–चार तला अग्ला, पूरै सिमेन्टेड ।

अहाँ, म कति रमाएँ । हाम्रा गाउँहरु त अमेरिका, जापान, युरोपका गाउँहरूभन्दा पनि कति समृद्ध । गाउँबासीहरू पनि अत्यन्तै प्रफुल्ल । आधारभूत सुविधा भन्ने कुरा त एकादेशको कथा बनिसकेको रहेछ ।
चतुर्थ ट्रेलर: साथी–संवाद ।
म आफ्नो सपनामा पुराना साथीहरूलाई देख्ने गर्दछु, प्रायः । निकै पुराना साथीहरू । प्रायजसो बाल्यकालीन दिनहरूका साथी–संगिनीहरू । युवाकालीन दिनका साथीहरूलाई पनि म सपनामा बारम्बार भेट्ने गर्दछु ।

जुन साथीभाइलाई म विपनामा खासै सम्झिन्नँ, तिनीहरू नै मेरो सपनामा आउँछन् र मलाई अनेकथरि मनोरञ्जन दिएर बिदा हुन्छन् । आखिर, हुन्छ किन यस्तो ? जसलाई म सपनाको पटांगिनीबाट हटाउन चाहन्छु, तिनै साथीहरू बारम्बार आउँछन् पटांगिनीमा र आफ्ना कुरुप नृत्य देखाएर मबाट अलप हुन्छन् । यो कस्तो उल्टो सपना हो ?
पुनश्चः मैले देख्ने हरेक सपना उल्टा हुन्छन् । त्यही उल्टा सपनाले मलाई पिरोलिइरहेको छ अहिलेसम्म । म आफ्ना हरेक सपना सुल्टा नै देख्न चाहन्छु । तर, पटक्कै देख्दिनँ । के गर्नु ? रोएर र कराएर आफूले चाहेजस्तो सपना देखिँदो रहेनछ ।

यदि सपनामा वास्तुशास्त्र लागु हुन्थ्यो भने म कुनै नामुद वास्तुशास्त्रीलाई बोलाएर वास्तु–परामर्श लिन्थेँ र वास्तुदोष हटाउन चाहन्थेँ । अर्थात्, वास्तु दोषमुक्त हुन चाहन्थेँे । र, वास्तु दोषमुक्त सपनाको प्रांगणमा उभिँदै रमाएर बस्थेँ म । के गर्नु सपनाको कुनै वास्तुशास्त्र नहुँदो रहेछ ।

यदि, सपनामा वास्तुशास्त्र लागु हुन्थ्यो भने कुनै वास्तुशास्त्रीले वास्तु परीक्षण गरेर परामर्श दिने क्रममा भन्थे पनि होलान्, ‘तपाईँको सपनाको उत्तर वा उत्तर–पश्चिम उँचो हुनुका साथै उत्तर वा उत्तर–पूर्वमा सपनाको भण्डारगृह हुनु नै मुख्य वास्तुदोष हो । उत्तर वा उत्तर–पूर्वमा भण्डारगृह हुँदा अत्यधिक खर्च, पारिवारिक झगडा र आपसी समन्वयमा कमी आइरहेको हो । तसर्थ, तपाईँले आफ्नो सपनाको भण्डारगृह स्थानान्तरण गर्नुस् र वास्तुदोषबाट पूर्णतः मुक्त हुनुस् ।’
उफ, कहिले देख्न सकुँला म सुल्टा सपना ?
००

तपाइको प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *

हामी तपाईंको इमेल अरू कसैसँग साझा गर्दैनौं।

ट्रेन्डिङ