Gaule News
आइतवार, अशोज ४, २०७७
Gaule Entertainment Media Group Pvt.Ltd.

मातृभाषा शिक्षा : आजको वहस

राज कुमार खालिङ "मरिस्लाल"

मातृभाषा शिक्षा : आजको वहस

के हो मातृभाषा शिक्षा ?
कुनै पनि वालवालिकाहरूलाई आफ्नो मातृभाषामा दिइने शिक्षालाई नै मातृभाषा शिक्षा भनिन्छ । साना वालवालिकाहरू घरमा जुन भाषा वोल्छन् त्यही भाषामा पठनपाठन गराउँदा चाडै बुझ्दछन भन्ने अवधारणावाट मातृभाषा शिक्षा सुरु गरिएको हो । विगतमा जे जति भाषाहरू भएपनि खास केही भन्न पाइदैनथ्यो । तर २०४७ साल पछाडी भने मातृभाषा शिक्षाको वहस सुरु हुन थाल्यो ।

नेपालको ११औं राष्ट्रिय जनगणना २०६८ अनुसार नेपालमा १२३ वटा भाषाहरू वोलिन्छन् । जहिले देखि मातृभाषा शिक्षाको अभियान सुरु भयो, आजसम्म आइपुग्दा २६ वटा भाषाहरूमा नमुना पाठ्यपुस्तकहरू निर्माण भएका छन् । भाषाविद्हरू भन्छन् “भाषा पनि जन्मिन्छन् र मर्छन्” । एउटा भाषाको आयु लगभग ५०० वर्ष सम्म रहन सक्छ । आज भन्दा लगभग एक हजार वर्ष अगाडी नेपाली भाषाको अभिलेख नै थिएन । १४ सय वर्ष अगाडी अंग्रेजी भाषा नै थिएन तर अहिले अंग्रेजी भाषा संसारभरि चर्चित भाषा वनि रहेको छ । यसले गर्दा भाषाहरू जन्मने, मर्ने र मोडिने लामो इतिहास छ ।

मातृभाषा शिक्षा किन ?

साना वालवालिकाहरू जन्म देखि नै आफ्नो आमा–वुवासँग आफ्नै भाषा वोलि रहेका हुन्छन् । ती वालवालिकाहरूका लागि मातृभाषा शिक्षा अति आवश्यक छ । आफ्ना आमा–वुवासँग जुन भाषा वोल्छन् त्यही भाषा विद्यालयमा वोल्न पायो भने अप्ठ्यारो, लाज र डर मान्दैनन् । घरमा भएकै भाषा विद्यालयमा पढ्दा र वोल्दा उनीहरू स्कुलप्रति वढी नजिक हुन्छन् । शिक्षक–विद्यार्थीबीच अन्तरक्रिया गर्न पनि सहज हुन्छ । यी सवै कुराहरूले सिकाईलाई प्रत्यक्ष प्रभाव पारी रहेका हुन्छन् भने राष्ट्रिय रुपमा भाषा वचाउन ठूलो टेवा पुग्दछ । त्यति मात्र होइन मातृभाषाको पढाई र उच्चारणले नेपाली भाषाको पढाई लेखाईमा धेरै गुणा सहयोग पु¥याउँदछ । अर्को महत्त्वपूर्ण विषय मातृभाषा भएका ठाउँहरूमा मातृभाषामा पठनपाठन गरिएन भने सरकारले संस्कृत भाषा लागु गर्ने भएकोले पनि मातृभाषाको पठनपाठन गर्न जरुरी देखिन्छ ।

संवैधानिक व्यवस्था :
संवैधानिक रुपमा पनि नेपालका भाषाभाषीको लामो उत्तरचढाव छ । नेपाल अधिराज्यको संविधान २०१५ मा देवनागरिक लिपीमा नेपाली भाषा नेपालको राष्ट्रभाषा हुनेछ भनेर उल्लेख गरियो । वि.सं. २०१९ सालको संविधानले पनि माथि जे थियो हुवहु त्यही लागु गर्‍यो । वि.सं. २०४७ सालको संविधानले वैधानिक रुपमा पहिलो पल्ट वहुभाषिक शिक्षा नीति स्वीकार गर्दै नेपालको विभिन्न भागमा मातृभाषाका रुपमा वोलिने सवै भाषाहरू नेपालको राष्ट्रिय भाषा हुन भनेर उल्लेख गर्‍यो । पछि वि.सं. २०६३ सालको अन्तरिम संविधानले यसैलाई निरन्तरता दियो भने वि.सं. २०७२ सालको संविधानले पुर्णरुपमा वहुभाषिक शिक्षा नीति सुनिश्चित गर्‍यो ।

संवैधानिक रुपमा मातृभाषा पठनपाठनले मान्यता पाएसँगै नेपाल सरकार भाषा आयोग, पाठ्यक्रम विकास केन्द्र, सानो ठिमी भक्तपुर र धेरै जातिय संस्थाहरूले सशक्त अभियान सुरु गरेका छन् । यी तीन दशकको अवधिमा पाठ्यक्रम विकास केन्द्रले २६ वटा मातृभाषामा नमुना पाठ्यपुस्तक तयार पारेर पठनपाठन हुदैछ भने अन्य मातृभाषाका पाठ्यपुस्तकहरू लेखन कार्यमा निरन्तरता दिदै आएका छन् । पाठ्यक्रम विकास केन्द्रवाट प्रकाशित तल उल्लेखित सुचना अनुसार सवैभन्दा अगाडी मैथिली भाषा देखिन्छ । जुन समुदायको पाठ्यपुस्तक लेखन कक्षा सात सम्म पुगेको छ । यद्यपी यी २६ भाषाको पाठ्यपुस्तक नेपाल सरकार, पाठ्यक्रम विकास केन्द्र, सानो ठिमी भक्तपुरले प्रकाशन तथा सम्वद्र्धन गरेको छ भने केही जातिय संस्थाहरूले आफ्नै पहलमा पाठ्यपुस्तक प्रकाशन गरेर अध्यापन गराईरहेका छन् ।

नेपालको संविधान २०७२ ले मातृभाषा सम्वन्धी व्यवस्थामा “नेपालमा वसोवास गर्ने प्रत्येक नेपाली समुदायलाई आफ्नो मातृभाषामा आधारभूत तह वा माध्यमिक तहसम्म शिक्षा प्राप्त गर्ने अधिकार छ” भनेर किटान गरेको छ । धारा १८ को समानताको हकमा “भाषाको आधारमा विभेद गर्न पाइने छैन” भन्ने उल्लेख छ । त्यसै आधारमा नेपाल वहुभाषिक शिक्षा Multilingual Education अगाडी वढेको छ । १०० पूर्णाङ्कको मातृभाषा ऐच्छिक रुपमा पठनपाठन गर्न सकिनेछ । वहुसंख्याक मातृभाषी विद्यार्थीहरू भएको विद्यालयमा हप्ताको ४ वटा कक्षा सञ्चालन गर्ने गरी प्राथमिक शिक्षा पाठ्यक्रम २०६२ अनुसार व्यवस्था गरिएको छ ।

सरकारको पछिल्लो नीतिः

पाठ्यक्रम विकास केन्द्र सानो ठिमी भक्तपुरले आधारभूत विद्यालयमा वहुसंख्याक विद्यार्थी भएको ठाउँमा मातृभाषा त्यो पनि नभए स्थानीय भाषा पढाउनु पर्नेछ । यी दुवै विषय पठनपाठन नगराउने हो भने संस्कृत भाषा लागु गर्न सकिने पछिल्लो नीतिले भाषिक संस्थाहरू हज्किएका छन् । वास्तवमा संस्कृत भाषा अहिले पाली र ल्याटिन भाषा जस्तै कही पनि वोलिदैन । यो हिन्दु धर्मावलम्वीहरूको वेद, पुराणा पढाउने शास्त्रीय भाषाको रुपमा मात्र सीमित भाषालाई विद्यालयमा पढाउदा अव्यवहारिक मानिन्छ । भाषाविद्हरूको वैज्ञानिक र व्यवहारिक अध्ययनले पनि “आफ्नो मातृभाषा वोलिरहेको वालवालिकाहरूलाई कक्षा १ मा नेपाली, अंग्रेजी र संस्कृत पढाउदा तीनै वटा नयाँ भाषा हुन्छन् यो व्यवहारिक हुदैन”
भन्ने तर्क छ । त्यस अर्थमा पनि संस्कृतको ठाउँमा मातृभाषा पठनपाठन उपयुक्त देखिन्छ ।
त्यसका लागि भाषिक समुदाय चनाखो रहनु पर्ने देखिन्छ । आप्mनो समुदायमा ऐच्छिक विषय आप्mनै भाषा पढाउने कि संस्कृत ? स्थानीय सरकारले भाषा नीति र स्थानीय भाषा नीति वनाउनु पर्ने देखिन्छ । भाषिक समुदायका वुद्धिजीविहरूले आप्mनो भाषालाई पठनपाठन गराउन पहल गर्नुपर्छ । गाउँपालिका, नगरपालिका र विद्यालय व्यवस्थापन समितिसँग वढी समन्वय गर्नुपर्ने देखिन्छ ।

खालिङ मातृभाषामा शिक्षाः

प्राथमिक शिक्षा पाठ्यक्रम २०६२ अनुसार खालिङ भाषामा पनि पाठ्यपुस्तक तयार भएका छन् । पहिलो प्रकाशन २०७३ सालमा गरिएको थियो भने अहिलेसम्म निरन्तर लेखनको क्रममा छ । अहिलेसम्म कक्षा ४ सम्मका पाठ्यपुस्तकहरू पुर्णरुपमा सम्पादन भइसकेका छन् भने कक्षा ५ को सम्पादनको क्रममा रहेको छ । कक्षा ३, ४ र ५ को पाठ्यपुस्तक प्रकाशन हुन वाँकी छ । यसलाई पनि यही वर्ष भित्र प्रकाशन गर्ने तयारी भइरहेको छ । अहिले सोलुखुम्बु जिल्लाको माप्य दुधकोशी गाउँपालिका र सोलुदुधकुण्ड नगरपालिकामा गरि ६ वटा विद्यालयमा खालिङ मातृभाषा पठनपाठन भइरहेका छन् भने यस शैक्षिक सत्रभित्र थप ४ वटा विद्यालयहरूमा पठनपाठन हुने भएको छ । बाँकी विद्यालयहरूमा सञ्चालनका लागि तयारी भइरहेको छ ।
भाषाशास्त्रीहरूका अुनसार “जुनै पनि भाषा कालान्तरमा मर्छन्, जति समयहरू वित्दै जान्छन् भाषाहरू मोडिदै जान्छन् । आदिकवि भानुभक्त आचार्यको नेपाली भाषा र अहिलेको नेपाली भाषाको विच निकै अन्तर रहेको पाईन्छ । सेक्सपियरले उवेला वोलेका अंग्रेजी भाषा र अहिले वोलिने अंग्रेजी भाषाबीच पनि निकै फरक छ ।” त्यसो त खालिङ भाषाले पनि निकै लामो समय व्यतित गरी सकेको छ । खालिङहरू विच नै केही उच्चारणहरू मिल्दैनन् । यद्यपी यो पाठ्यपुस्तकले सवैलाई एउटै वाटोमा हिडाउने कसरत गर्दैछ ।

खालिङ भाषा पाठ्यपुस्तकहरूका विषयहरूमा सवै आफ्नै गाउँ, ठाउँ, सभ्यता र पहिचानलाई उठान गरिएका छन् । कथा, गीत, कविता र सम्वादमा जे लेखिएका छन् ती सवै खालिङ सभ्यताका वारेमा समेटिएका छन् । पात्रहरूका नाम खालिङ समुदायसँग सम्वन्धित छन् भने तस्वीरहरू पनि खालिङ सभ्यतासँगै नजिक भएका बढी समावेश गरिएका छन् । यस अर्थमा खालिङहरूले अत्यन्तै अपनत्व ठान्ने छन् भने अर्कोतिर राष्ट्रिय रुपमा खालिङ सभ्यता स्थापित र संरक्षित हुने देखिन्छ ।

लेखक राज कुमार खालिङ “मरिस्लाल” खालिङ पाठ्यपुस्तक लेखक हुनुहुन्छ ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *

हामी तपाईंको इमेल अरू कसैसँग साझा गर्दैनौं।

ट्रेन्डिङ