Gaule News
आइतवार, अशोज ४, २०७७
Gaule Entertainment Media Group Pvt.Ltd.

एक असल पात्रको सम्झना

–विवश वस्ती

एक असल पात्रको सम्झना

====

घरभन्दा केही पर, दक्षिणी दिशामा एउटा बाँसझ्याङ थियो । त्यही बाँसझ्याङकै छेउमा थियो, एउटा बाटो । त्यो मुलबाटो नभएर उप–बाटो थियो । अर्थात्, हाम्रो घरतिर आउने बाटो । बाटोको प्रवेश–विन्दुमा तगारो हालिएको थियो । वर्षौंदेखि त्यो तगारो चौपायाहरुको सहज प्रवेशलाई रोक्न र बालीनालीहरुलाई सुरक्षित तुल्याउन तैनाथ देखिन्थ्यो ।

ती अपरिचित मानिसले तगारो खोले र हाम्रै घरको आँगन ताकेर आए । आँगनको छेउमा आइपुगेपछि मैले बल्ल ती मानिसलाई ठम्याउन पुगेँ । उहाँ हुनुहुन्थ्यो– सदानन्द सापकोटा ।
‘अहो, कसरी आइपुग्नु भयो ?’ मैले आश्चर्यमिश्रित स्वरमा सोधेँ ।
‘सोध्दै, खोज्दै आइपुगेँ नि । तपाईँको नाम लिएँ, अरुले बताइदिइ हाले नि ।’ उहाँले सहजतापूर्वक भन्नुभयो । र, केही क्षण आँगनमै उभिनुभयो । ¬

त्यो दसैंको फूलपातीको दिन थियो । २०४९ सालको दसैंले सिङ्गो गाउँबस्तीलाई नै व्यस्त तुल्याएको थियो । हिन्दुहरुको ठूलो पर्व भित्रिइसकेको हुँदा सबै मानिस दसैंको रौनकमा झुम्न थालिसकेका थिए । व्यस्त थियौं हामी पनि । बिहान सबेरै एउटा भाले र पोथीलाई भगवान्को नाममा बली दिइसकेका थियौं । त्यो वर्षको दसैंमा सिन्धुली, विजयछापस्थित घरमा बुवा, आमा, माइली भाउजू र म मात्र थियौं । जागिरको सिलसिलामा बाहिर रहनुभएका दुई जना दाजु र जेठी भाउजूका साथै भतिजा–भतिजीहरुको उपस्थिति थिएन । पारिवारिक शून्यता छाएको हुँदा बुवा–आमालाई एक हिसाबले दसैंको आगमनले प्रफुल्ल तुल्याइरहेको थिएन । नेपाली समाजमा दसंै–तिहारजस्ता पर्व पारिवारिक जमघट हुने पर्वका रुपमा स्थापित रहँदै आए पनि त्यो वर्ष भने त्यस्तो अवसर जुरेको थिएन, हामीलाई ।
फूलपातीको दिन सदानन्द सापकोटाले हाम्रो आँगनमा टेक्नु हुँदा म भने निकै उत्साहित बन्न पुगेँ । सोधेँ उहाँलाई, ‘कहाँबाट आउनुभएको हो, अहिले ?’
‘सिन्धुलीबाट आएको हुँ, घर जान । तपाईँकहाँ पसेर जाऊँ भन्ने लागेर आएको हुँ ।’ उहाँले भन्नुभयो ।
अगेनोनिर दसैंको ‘सिकार’ पाक्ने क्रम चल्दै थियो । मझेरीमा ओछ्याइएको गुन्द्रीमा सापकोटा बस्नुभयो । म उहाँसँग संवादमा निमग्न रहन थालेँ । बुवाले चिया पकाउनुभयो र उहाँलाई दिनुभयो । सापकोटाले चिया पिउँदै कुराकानी गर्न थाल्नुभयो । मैले बुवालाई उहाँको चिनारी गराउँदै भनेँ, ‘उहाँ सिन्धुली जिल्लाको पुरानो कम्युनिष्ट नेता हुनुहुन्छ । घर चाहिँ हैवार बेंसी हो । पोहोर साल म हैवार बेंसी गएको थिएँ नि, हो उहाँलाई नै भेट्न गएको हुँ ।’

सापकोटाले चिया पिएर सिध्याउनुभयो । तर, चियाले मात्र उहाँ तृप्त हुनुभएजस्तो लागेन मलाई । उहाँको भाव भङ्गीले त्यही कुराको संकेत गर्दथ्यो । दसैंको समय । घरमा घरेलु मदिरा नहुने प्रश्नै थिएन । दसैंका निम्ति अरु चिजहरु विशेष रुपमा जोहो गरेजस्तै हामीले पनि घरेलु मदिरा बनाएका थियौं । सबै देवी–देउता, सिमेभुमेलाई मदिरा अनिवार्य रुपमा चढाउनुपर्ने भएको हुँदा मदिरा नबनाई सुखै थिएन ।

बुवाले मदिराको नाम नलिइकन भन्नुभयो, ‘उहाँले त्यो खानु हुन्छ कि, सोध न ।’
मैले सापकोटालाई सोधेँ, ‘तपाईँलाई रक्सी चल्छ कि चल्दैन ? खानु हुन्छ ? दसैंका निम्ति घरमै बनाइएको हो ।’

मुसुक्क हाँस्नुभयो उहाँ । चियाको गिलास भुइँमै थियो । उहाँले भन्नुभयो, ‘हामी जनतासँग नजिक हुने मान्छे । जनताले दिएका जे पनि खानुपर्छ । छ भने ल्याउनुस् न त ।’
बुवाले उहाँलाई मदिरा दिनका लागि गिलास खोज्न थाल्नुभयो । तर, उहाँले आफूले चिया पिएको गिलास देखाउँदै भन्नुभयो, ‘यही गिलासमा हालिदिनुस् न ।’
‘त्यो जुठो गिलासमा के खानु ?’ बुवाले भन्नुभयो ।
‘हैन, यही राखिदिनुस् । मैले खाएको गिलास त हो नि ।’ उहाँले त्यही, आफूले चिया पिएको गिलासमै मदिरा थाप्नुभयो ।

सापकोटासहित हामी पनि ‘सम्ये’ मा सहभागी भयौं । चिउरा, कुखुराको मासुलगायतका परिकारको स्वादमा भुल्न थाल्यौं । उहाँले भने त्यस्तै दुई गिलासजति पिउनुभयो । दसैं–तिहारजस्ता पर्वमा उच्च गुणस्तरको मदिरा तयार पारिने भएको हुँदा थोरै सेवनले पनि नशा उताथ्र्यो ।

बिहानको ११ जति बजेको हुँदो हो । उहाँ हिँड्ने तयारीमा लाग्नुभयो । हामीले उहाँलाई खाना खाएर जान अनुरोध ग¥यौं । तर, उहाँले भन्नुभयो, ‘भै’हाल्यो नि । यति विघ्न खाइयो । अब घर पुगिहाल्छु नि ।’
मध्याह्न नलाग्दै उहाँ हामीबाट बिदा हुनुभयो ।
००

२०४६ सालको आखिरी दिनमा बहुदलीय व्यवस्था पुनस्र्थापना भएपछि सिङ्गो देश नै राजनीतिक रुपले तरङ्गित बन्न थाल्यो । राजनीतिको लहरले सहर–बजारदेखि ग्रामीण बस्तीहरुलाई समेत घनीभूत रुपमा स्पर्श गर्दै थियो । कांग्रेस र कम्युनिष्टको लहर सुनामीझँै फैलिँदै गयो । पञ्चायती राजनीतिमा सक्रिय पञ्चहरु भने परिवर्तनको छालले आफूलाई हुत्याउने त्रासमा डुबेका थिए, एक हिसाबले उनीहरु गतिविधिशून्य नै देखिन्थे ।
बहुदलीय व्यवस्था स्थापनापश्चात् २०४७ सालको वैशाख र जेठको मध्यसम्मै नेपाली कांग्रेस र संयुक्त वाममोर्चाका केन्द्रदेखि स्थानीय तहसम्मका नेतृत्वकर्ताहरु पूरै बेफुर्सदिला देखिए । दुवै दलले संयुक्त रुपमा जिल्लाका मुख्य–मुख्य ठाउँहरुमा कार्यक्रम राखेको थियो । देशमा नौलो राजनीतिक प्रणालीको सुरुवात भएको हुँदा राजनीतिक दलहरुले आयोजना गरेका कार्यक्रमहरुमा उपस्थिति जनाउनु गर्व र सन्तोषको विषय ठानिन्थ्यो । मैले पनि त्यस्ता कार्यक्रमहरुमा उपस्थिति जनाएको थिएँ र एकाध सभामा भने आफ्ना सिर्जना पनि वाचन गरेको थिएँ ।

एकदिन, मरिन, कुँडुलेमा एउटा सभा राखिएको थियो । त्यो सभामा मैले एउटा कविता वाचन गरेँ । त्यही सभामा सहभागी एकजना स्थानीय बासिन्दाले भने, ‘यो जिल्लाको पहिलो कम्युनिष्ट त सदानन्द सापकोटा हुन् । राणाकालमै उनी लाल–कम्युनिष्ट बनेका थिए ।’

मैले सदानन्द सापकोटाको नाम त्यहीं सुनेको थिएँ, पहिलो पटक । पछिल्ला दिनहरुमा भने वामपन्थी नेताहरु वासुदेव श्रेष्ठ, कृष्णहरि अधिकारी, शंकरनाथ शर्मालगायतले पनि उहाँको नाम लिन थाल्नुभयो । त्यसपछि ममा अनेक जिज्ञासाहरु तैरिन थाले– सदानन्द सापकोटाप्रति । उहाँलाई भेट्ने तीव्र लालसा पनि क्रमशः पलाउँदै गयो ।
बोझे, सदरमुकाम नजिकैको एउटा गाउँ । त्यो गाउँमा पनि थियो, हाम्रो घर र जग्गा–जमिन । म बोझेमै बस्न थालेको थिएँ । त्यो समय हाम्रो सँधियार बन्न आइपुगेका थिए, गोपाल पोखरेल र रामजी बराल । पोखरेल हैवार बेंसीका हुनुहुन्थ्यो भने बरालचाहिँ घोक्सिलाका ।

एकदिन पोखरेलले प्रसंगै–प्रसंगमा भन्नुभयो, ‘सदानन्द त मेरा छिमेकी हुन् ।’
पोखरेलले सदानन्दबारे अनेक कहानी बताउन थालेपछि राणाकालीन समयमा नै जहानियाँ शासकको प्रताडना झेल्न बाध्य ती पात्रलाई भेट्ने उत्कट इच्छाले मलाई झनै दपेट्न थाल्यो ।

२०४९ सालको हिउँदको कुनै दिन । बिहानको खाना खाएर सदानन्दलाई भेट्ने आकांक्षा र उत्साह सँगालेर मैले हैवार बेंसीतिर आफ्ना पाइला सोझ्याएँ । कसरी पुग्ने हैवार बेंसीसम्म ? म त्यो ठाउँसम्म पुग्ने बाटोबारे अनभिज्ञ थिएँ, पूरै । तर, सल्लेबास, अँधेरी खोला हुँदै बाराहाको डाँडामा पुग्ने र त्यहाँबाट घोक्सिला खोलामा ओर्लिएर लुकुवा गाउँ हुँदै हैवार बेंसीमा पुग्न सकिन्छ भन्ने जानकारी पाएको थिएँ ।

घरबाट हिँड्ने बेलामा बुवाले सतर्क गराउँदै भन्नुभएको थियो, ‘बाराहाको डाँडातिर त निगाले चितुवा भेटिन्छन् । अलि छिटोछिटो बाटो काट््नू नि ।’
म चितुवाको त्रास झेल्दै हैवार बेंसीतिर लागेँ । त्यो दिन म पोखरेलकहाँ नै बसेँ । भोलिपल्ट भने उहाँले मलाई सदानन्दकहाँ लिएर जानुभयो ।

त्यो समय म पत्रकारिता क्षेत्रमा बामे सर्दै थिएँ । ‘दृष्टि’ साप्ताहिकमा समाचार पठाउँथेँ । पत्रकारिता क्षेत्रमा प्रारम्भिक कदम राखेको हुँदा आफूलाई ‘ठूलै’ पत्रकार ठान्थेँ । ‘लाटो देशमा गाँडो तन्नेरी’ झैँ भएको थिएँ । अरुलाई आफ्नो परिचय दिँदा ‘पत्रकार हुँ’ भन्दा कताकता गर्व महसुस हुन्थ्यो र अरुहरुचाहिँ ‘लिलिपुट’ हुन् भन्ने मनोग्रन्थीले थोरबहुत भरिएको थिएँ ।

सदानन्दलाई भेट्ने बित्तिकै मैले आफू पत्रकार भएको परिचय दिएँ र भनेँ, ‘तपाईँको बारेमा अरुहरुबाट धेरै कुरा सुनेँ । म तपाईँको बारेमा बुझ्न र लेख्न भनी आएको हुँ ।’
उहाँ पनि खुसी हुनुभयो । आफ्नो इतिहास र योगदानबारे बुझ्न कुनै पात्र आफूलाई खोज्दै–खोज्दै गाउँसम्मै आइपुगेकामा उहाँमा अपार खुसी सल्बलाइरहेको प्रष्टै अनुमान गर्न सकिन्थ्यो ।

त्यो दिनभरि नै मैले उहाँलाई पछ्याएँ । बिहानको खाना खाइसकेपछि उहाँ गाईवस्तु चराउन नजिकैको खोलातिर जानुभयो । म पनि उहाँसँगै गएँ र उहाँले गाई हेर्दै आफ्नो जीवनका अध्यायहरु खोतल्दै जानुभयो । मैले पनि त्यसलाई डायरीमा टिप्दै गएँ ।
सापकोटाले २००४ सालतिरको एउटा प्रसंग सुनाउनुभयो । त्यो समय उहाँ संस्कृत पाठशालामा अध्ययन गर्नु हुँदोरहेछ । संस्कृत पाठशालामा पढाइ मात्र हुने रहेछ र मध्यमा, शास्त्री आदिको जाँच दिनचाहिँ बनारस (कासी) जानु पर्दोरहेछ ।

काठमाडौँमा अध्ययन गर्ने र बनारसमा जाँच दिन जानुपर्ने । त्यो त्यति व्यावहारिक नभएपछि त्यसमा विद्यार्थीहरुले आपत्ति जनाएछन् । आपत्ति जनाउनुपर्ने अर्को विषय त के पनि रहेछ भने परीक्षा दिन बनारस जाने विद्यार्थीलाई सरकारले बाटो खर्चस्वरुप ५० रुपियाँ दिँदै आएकोमा त्यो पनि ५० प्रतिशत कटौतीमा परेछ । माहिला गुरुज्यू हेमराज पाण्डे शिक्षा हेर्ने डायरेक्टर भएका हुँदा उहाँले नै ५० बाट घटाएर एकैचोटी २५ मा झार्नु भएको रहेछ । तर, विद्यार्थीहरुले भने त्यो विषयलाई लिएर आन्दोलन गरे । जुन आन्दोलन नेपाली इतिहासमा ‘जयतु संस्कृतम’ को नामले चर्चित छ ।

आन्दोलनको नेतृत्व गरेको आरोपमा जहानियाँ राणा सरकारले ५ जना विद्यार्थीलाई चार भञ्ज्याङबाट बाहिर निकाले । तिनै ५ जनामध्ये पूर्व २ नम्बरका सदानन्द सापकोटा पनि परेका थिए । त्यसरी चार भञ्ज्याङबाट निस्काशित हुनेहरुमा सापकोटासँगै पूर्व २ नम्बर (रामेछाप) का पद्मशंकर अधिकारी, इलामका गंगाप्रसाद गौतम, पोखराका तारा शर्मा र गुल्मीका गिरिराज ज्ञवाली थिए ।

सापकोटाले आफू लाल–कम्युनिष्ट मा आबद्ध रहेर काम गरेको पनि सुनाउनुभयो । सो पार्टीको आफू संस्थापक नै रहेको उहाँको भनाइ थियो । २००४ सालमा ‘नेपाल लाल कम्युनिष्ट पार्टी’ गठन भएको थियो । त्यसको महासचिवमा गंगालाल श्रेष्ठ (हलवाई) हुनुहुन्थ्यो । त्यो पुष्पलाल श्रेष्ठको नेतृत्वमा नेपाल कम्युनिष्ट पार्टी स्थापना हुनुभन्दा करिब दुई वर्षअघिको कुरा थियो ।

एउटा सिङ्गो दिन नै सदानन्दसँग अनेक विषयमा कुराकानी गरेर म घर फर्किएँ, नयाँ ऊर्जा र जोश सँगालेर । पछि मैले सदानन्दबारे लेखेँ । तर, कुन पत्रिकामा छापियो, यकिन हुन सकेन ।
००

२०४९ सालपछि भने लामो समयसम्म सदानन्दसँग मेरो भेट हुन सकेन । उहाँ मेरो स्मृतिको पटाङ्गिनीबाट लगभग हराइसक्नुभएको थियो । तर, २०६०÷०६१ सालतिर भने मैले उहाँलाई पुनः भेटेँ । हामी (जीवनचन्द्र कोइराला, मलगायत) किरण दाइ (किरण थापा) को घरमा गएका थियौं । त्यहीं नै सापकोटासँग भेट भयो । दिवङ्गत समाजसेवी, राष्ट्रसेवी बद्रीविक्रम थापासँग सापकोटाको बाक्लो उठबस भएको हुँदा उहाँकै सुपुत्र किरण दाइलाई भेट्न पुल्चोकस्थित घरमा जानुभएको रहेछ । त्यो जाडो मौसम थियो र हामी पुग्दा उहाँ जाडो धान्ने पहिरन लगाएर बाहिर नै बसिरहनुभएको थियो ।

त्यो समय उहाँ बुढ्यौलीका दिनहरु गन्दै हुनुहुन्थ्यो । मैले उहाँसँग केही कुरा गरेँ । पुराना दिनहरुको स्मरण गराएँ । तर, उहाँले ती दिनहरु खासै सम्झिन सक्नु भएन ।
त्यसपछिका दिनमा भने मैले उहाँलाई भेट्न पाइनँ । तर, आजपर्यन्त पनि उहाँसँग गाँसिएका प्रसंगहरु भने मेरो हृदय–पटलमा अङ्कित छन् । छैनन् मेटिएका अझै ।
००

तपाइको प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *

हामी तपाईंको इमेल अरू कसैसँग साझा गर्दैनौं।

ट्रेन्डिङ