Gaule News
शनिबार, मंसिर २०, २०७७
Gaule Entertainment Media Group Pvt.Ltd.

सर्पहरू क्षमायोग्य हुँदैनन्

–विवश वस्ती

सर्पहरू क्षमायोग्य हुँदैनन्

भद्र, सालिन एवं विनम्र स्वभावका डा. मनमोहन सिंहले छिमेकी राष्ट्र भारतमा दुई कार्यकाल सरकारको नेतृत्व गरे । सन् २००४ देखि २०१४ सम्म उनको नेतृत्वमा सरकार चल्यो । डा. सिंहले प्रधानमन्त्रीको जिम्मेवारी सम्हाले पनि उनले ‘छायाँ प्रधानमन्त्री’ को बिल्लालाई भने आफ्नो कार्यकालभरि हटाउन सकेनन् । विदितै छ, कांग्रेस (आई) का अध्यक्ष सोनिया गान्धी र युवा–नेता राहुल गान्धीकै बोलवाला चल्यो, सरकारको पूरै अवधिभर । डा. सिंहलाई ‘रवरट्याम्प प्रधानमन्त्री’ को रुपमा मात्र धेरैले चिन्हित गरे ।

यद्यपि, कांग्रेस (आई) नेतृत्वको सरकारको कार्यकालभरि एउटा पात्र भने सर्वाधिक चर्चामा रहे–रोवर्ट वाड्रा । उनी थिए, सोनियाका एक मात्र प्रिय ज्वाइँ । व्यापारिक पृष्ठभूमिका वाड्राले कांग्रेस नेतृत्वको सरकार रहुन्जेलसम्म सत्ता–सामिप्यको फाइदा उठाएर आफ्नो व्यापारिक दायरालाई निकै फराकिलो तुल्याए । कांग्रेस सत्तामा आउनुअघि सामान्य व्यापारिक हैसियत भएका उनले त्यसपछिका दिनमा भने चमत्कारिक रुपले व्यापारिक फैलावट र विस्तार गर्न सके । सोनिया–राहुलको अथाह निगाह, सहयोग र समर्थनमा उनले ठूला–ठूला व्यापारिक सम्झौता र साझेदारीसमेत गर्न भ्याए । नातावादको आड–भरोसामा चम्किएका सफल भारतीय व्यापारीहरूमध्ये वाड्राको गणना पहिलो लहरमै हुन्छ, अहिले ।

दुई पटकसम्म भारतीय सत्ताको बागडोर सम्हाल्न सफल कांग्रेस (आई) ले पछिल्लो समय नराम्ररी पराजयको स्वाद चाख्नुमा यस्तै नातावाद, कृपावादको अथाह मोहले भूमिका खेलेको छैन होला भन्न सकिँदैन । कांग्रेस (आई) लाई वंशवादको कालो दाग त लागेको थियो नै, त्यसमा सत्तामा रहँदा नातावाद, कृपावादलाई प्रश्रय दिएका कारण पनि भारतीय जनता पार्टीले त्यसलाई चुनावी मुद्दा बनाउन पाए र कांग्रेस (आई) को पतनको प्रक्रिया सुरु भयो । भाजपाले अपार सफलता पाउनुमा कांग्रेस (आई) ले सत्तामा रहँदा गरेका गम्भीर गल्ती र कमजोरीहरू नै मुख्य कारक बन्न पुगे ।

नेपाली राजनीतिक वृत्त पनि नातावाद, कृपावाद, चाकडीवाद, कमिसनवादबाट ग्रस्त रहँदै आएको छ । सत्ता र शक्तिको लगाम समातेकाहरूले यस्ता अनेक वादहरूलाई सदैव शिरोधार्य गर्दै आएका छन् । कुनै योग्य, क्षमतावान् र नेतृत्व–कौशल भएका एकाध व्यक्तिहरूले कहीं कतै अवसर पाएका होलान् । तर, यसलाई अपवादको पंक्तिमा राख्नुपर्ने हुन्छ । जेजतिले अवसर हात पारेका छन्, बहुसंख्यकले नातावाद, कृपावाद, चाकडीवाद र कमिसनवादकै आडमा पाएका छन् । अझ, राजनीतिक नियुक्तिमा त यस्ता वादलाई पछ्याउने बाहेककाले आँखा लगाउनै पर्दैन । राजनीतिक नियुक्ति यिनै वादहरूलाई ‘एक मात्र असल र व्यावहारिक वाद’ ठान्नेहरूकै कब्जामा पर्दै आएको छ ।

हामीकहाँ अधिकांश राजनीतिक नियुक्ति सदैवजसो नै विवादमा पर्दै आएको छ ।
अधिकांश नियुक्ति परिवारवादको परिधिभन्दा टाढा नहुने भएका कारण पनि यस्तो विवाद उत्पन्न हुँदै आएकोमा विवाद देखिँदैन । सत्तामा पुगेपछि उच्च, प्रभावशाली एवं राम्रो सेवा–सुविधाले लैस पदहरूमा आफ्नै परिवार वा नाताभित्रका मानिसहरूलाई पुर्‍याउने ध्याउन्ना पहिलादेखि नै प्रारम्भ हुँदै आएको हो । मूलतः हामीकहाँ यस्तो प्रवृत्तिको विकास २०४६ सालको राजनीतिक परिवर्तनपछि घनीभूत रुपमा देखा पर्न थालेको हो । २०४८ सालमा नेपाली कांग्रेसको नेतृत्वमा सरकार गठन भएपछि त यो प्रवृत्ति कुनै परजीवि वनस्पतिझैँ झ्याँगिन थाल्यो र त्यसले प्रजातन्त्ररुपी वृक्षलाई पूरै कुरुप र सौन्दर्यहीन तुल्याउन नकारात्मक भूमिका खेल्यो ।

सबैमा एउटा आशा पलाएको थियो, गणतन्त्र आएपछि यस्तो प्रवृत्तिमा पूर्णविराम लाग्ला । तर, भ्रम मात्रै रहेछ । चाहे बहुदलीय व्यवस्था होस् वा गणतन्त्र होस्, यस्तो प्रवृत्तिले बिदा पाउनु निकै गाह्रो र मुस्किल कार्य रहेछ । परिवारवादका हाँगाबिगाहरू मौलाउने कार्य गणतन्त्रमा पनि उत्तिकै भइरहेको छ र त्यसले गणतन्त्रको सुन्दर अनुहारमा दाग पोत्ने कार्य मात्रै गरिरहेको छ ।

नियुक्ति प्रकरणमा परिवारवादको घेरा नाघ्ने प्रयत्न कसै–कसैले गरे पनि चाकडीवाद लम्पसार परेर हाजिर भइहाल्दो रहेछ । आम मानिसको स्वभाव नै सत्ताको लगाम समातेकाहरूप्रति अतिशय चाकडीमा लिप्त हुने नै हुँदो रहेछ । आखिर, सत्ताको आकर्षक भनेकै त्यही होला । आफ्नो वरिपरि चौबीसै घन्टा गणेशझैं घुम्नेहरूलाई बहुरुपी महादेव–पार्वतीहरूमा दयाभाव र सदाशयता पलाउनु स्वाभाविकै हो । बिचरा, कुमारहरू आजीवन ‘कुमार’ नै रहन्छन् । आज पनि नेपाल कम्युनिष्ट पार्टीका अधिकांश ‘कुमार’ हरू ‘गणेश’ हरूसामु लाचार छन् र दक्ष, क्षमतावान् भए पनि महादेवहरूका दयादृष्टिबाट ओझेलमा परेका छन् ।

जसले परिवारवाद, चाकडीवादको घेराभन्दा माथि उठ्ने महानता देखाउँछन्, तिनीहरूले अपनाउने बाटो रहेछ– कमिसनवाद । वादहरूमा यो निकै उच्च, महान् र सबै ऋतुहरूमा मौलाउने वाद रहेछ । यो वादलाई पूर्ववर्ती दिनहरूमा सत्ताको लगाम खिच्नेहरूले नअपनाएका होइनन् । यही वादको पुच्छर समातेर कतिपयले आफ्नो वर्ग नै परिवर्तन गरे भने कतिपय भने यही वादको ‘बात’ लागेर धूलो चाट्ने तहसम्म पनि पुगे । यो वाद अँगाल्नेहरूमा कोही आफ्नो चातुर्‍यताका कारण राजनीतिको रंगमञ्चमा आजसम्मै अभिनयरत छन् भने कोही चाहिँ दर्शकहरूसामु केही सामान्य भूमिका र संवाद छाडेर अलप भइसकेका छन् ।

परिवारवाद, नातावाद, कृपावाद, कमिसनवादका गन्थनलाई केही क्षण रोकेर तक्षक सर्पको कथा भन्न मन लाग्यो ।

तक्षक सर्पको कथा
श्रीमद् भागवतमा एउटा कथा छ– तक्षक सर्पको । कथा निकै चोटिलो छ ।
एक पटक तक्षक सर्पले डस्दा राजा परीक्षितको मृत्यु हुन्छ । राजा जनमेजयले आफ्ना पिता परीक्षितको मृत्युको बदला तक्षक सर्पसित लिनका लागि एउटा ठूलो नाग–यज्ञ गराउँछन् । त्यो नाग यज्ञमा कैंयौं सर्पहरू आउँछन् र त्यहीं नै भस्म हुन्छन् । तर, तक्षक सर्प भने त्यो यज्ञमा आउँदैन । बाठाहरूका कुरै बेग्लै ।

नाग यज्ञमा तक्षक सर्प नआएपछि राजा जनमेजय चिन्तित हुन्छन् । राजा जनमेजयले सोध्छन्, ‘अरु सबै सर्पहरू आए तर किन तक्षक सर्पचाहिँ आएन ?’

केही पण्डितहरूले बताउँछन्– ‘तक्षक सर्पलाई कुनै पनि मन्त्रले असर गर्न सक्दैन, किनकि ऊ इन्द्रको सिंहासनमा लपेटिएर बसेको छ ।’

त्यसपछि पण्डितहरूले ‘तक्षकाय स्वाहा, इन्द्राय स्वाहा’ भनी जप गर्छन् । जप सुरु हुन थालेपछि इन्द्र हड्बडाएर उठ्छन् र तक्षक सर्पलाई भगाइदिन्छन् ।

आज ‘इन्द्र’ को सिंहासनका केही तक्षक सर्पहरू गज्जबले टाँस्सिएर बसेका छन् । कहिलेकाहीं जब केही पण्डितहरूले ‘तक्षकाय स्वाहा, इन्द्राय स्वाहा’ भनेर जप गर्न थाल्छन्, त्यतिबेला ‘इन्द्र’ ले तक्षक सर्पहरूलाई भगाउन खोज्छन् । तर, जब पण्डितहरू फेरि चुप लाग्छन्, तक्षकहरू इन्द्रकै आशन वरिपरि घुम्छन् र आफ्नो स्वार्थको खेती गर्न तल्लिन भइहाल्छन् ।

(पुनश्चः यो लेखमा मैले कुनै नाग जातिप्रति विद्वेषपूर्ण अभिव्यक्ति दिन चाहेको होइन । म मूलतः नागपूजक हुँ । पुर्खाहरूले अपनाउँदै आएका कारण म प्रत्येक वर्षको नागपञ्चमीका दिन दैलोमाथि नागको तस्बिर टाँस्ने गर्छु । यो तक्षकलगायत अरु तमाम नागहरूप्रति मेरो सम्मान र उनीहरूको बक्रदृष्टिमा नपरौं भन्ने चाहना पनि हो । यदि कुनै नागप्रति अवहेलना हुन पुग्यो भने म विनम्रपूर्वक क्षमा चाहन्छु ।)
तर, सर्पहरु कहिल्यै क्षमायोग्य भने हुँदैनन् ।
००

तपाइको प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *

हामी तपाईंको इमेल अरू कसैसँग साझा गर्दैनौं।

ट्रेन्डिङ