Gaule News
शुक्रबार, अशोज २, २०७७
Gaule Entertainment Media Group Pvt.Ltd.

साला पहाड मे क्या है ?

–विवश वस्ती

साला पहाड मे क्या है ?

केही वर्षपूर्व, वरिष्ठ कार्टुनिष्ट वात्स्यायनको एउटा कार्टुन छापिएको थियो । त्यो कार्टुनमा एउटा गाउँमुनि हेभी उपकरणले सडक खन्दै थियो । भित्तैसम्म कोपेर सडक खनिएको हुँदा मानव बस्ती पूरै जोखिममा परेको देखिन्थ्यो । सडक खनिरहेको ठाउँतिर औंल्याउँदै एक गाउँलेले अर्कालाई भन्दै थिए, ‘सडक त आयो तर गाउँचाहिँ रहने हो वा नरहने हो ।’
प्रायः कार्टुनहरू प्रचुर व्यंग्यबोधले भरिपूर्ण हुन्छन् । के सम्म भनिन्छ भने कार्टुन वा कुनै व्यंग्य–विधाले मुर्झाइरहेका मानिसलाई ताजा हुन, उनीहरूमा ऊर्जा भर्न र पल्लवित तुल्याउन यथेष्ठ मद्दत
पुर्‍याइरहेका हुन्छन् । कार्टुनजस्ता व्यंग्य–विधाले मानिसमा बढ्दो तनाव र अवसादनलाई हटाउन पनि उत्तिकै सहयोग गरिरहेका हुन्छन् ।

तर, वात्स्यायनको त्यो कार्टुनमा भने व्यंग्य कम र अहिलेको विकासको मोडेलको सजीव चित्रण धेरै थियो । हुन पनि, केही दशकयता हामीकहाँ विकासको परिभाषा नै बदलियो । हरेक गाउँ–गाउँसम्म, अझ त्योभन्दा बढी हरेक घरको आँगनसम्मै सडक पुग्नुलाई विकासको सर्वोत्तम मापदण्ड मान्न थालियो । प्रत्येक गाउँ, टोल र जनताका दैलोसम्मै सडक पुग्दा त्यसले जनजीवनलाई पूर्ववर्ती दिनहरूभन्दा धेरै हिसाब र अर्थले सहज तुल्याएकोमा दुईमत देखिँदैन । आँगनसम्मै सडक सञ्जालको पहुँच हुँदा आफ्ना खेतबारीमा उत्पादित कृषि उपजहरू, आफ्नै गोठमा पालिएका पशुपन्छीहरूलाई बिक्री–हेतु सहज ढंगले बजारसम्म पुर्‍याउन सजिलो भएको छ र समयको बचतसँगै उत्पादनमुखी कार्यहरूमा बढोत्तरीसमेत हुन पुगेको छ ।

यद्यपि, हरेक गाउँ/टोलसम्मै सडकको पहुँचले जनजीवनलाई सहजता त मिलेको होला । तर, पर्यावरणीय संवेदनशीलतालाई बेवास्ता गर्दै, बितेका केही दशकयता सडक निर्माण गर्ने कार्यले तीव्रता पाउँदा प्राकृतिक विपत्तिको सामना गर्नुपर्ने अवस्था सिर्जना हुन पुगेको छ । यो वर्षादमा सिन्धुपाल्चोक, कालिकोटलगायत हिमाली र पहाडी भूभागका जनताले झेल्नुपरेका भयानक भूक्षरणका पृष्ठभूमिमा प्रकृतिमाथि बढ्दो र अनियन्त्रित दोहनले भूमिका खेलेको पक्षलाई नकार्न सकिने आधारहरू देखिँदैनन् ।

मानव जीवन अनेक आवश्यकताले घेरिएका छन् । मानव सभ्यताको उत्पत्तिकालदेखि नै आवश्यकताहरूका चाङ लाग्दै आयो । आधुनिक र सभ्य समाजमा मानव समाज प्रवेश गरिसके पनि त्यो आवश्यकताको चाङ घट्ने होइन, झन् बढ्दै गइरहेका छन् । पुँजीवादी राज्यप्रणालीले सुम्पिएको उपभोक्तावादी संस्कृतिको बढावासँगै मानवीय जीवनलाई आवश्यकताहरूले झनै आक्रान्त तुल्याउँदै लगिरहेको छ । आवश्यकताको भोक र विस्तार आज अक्टोपसझैँ चलायमान हुँदैछन् ।
निःसन्देह, विज्ञान एवं प्रविधिको तीव्र विकाससँगै संसारसामु अनेक विकराल समस्याहरू पनि उब्जिँदै गएका छन् । त्यसले सामाजिक र आर्थिक असन्तुलन त बढाएका छन् नै, पर्यावरण एवं पारिस्थितिकी असन्तुलन पनि निम्त्याइरहेका छन् । जसरी सामाजिक, आर्थिक, पर्यावरणीय असन्तुलन बढ्दै गएका छन्, त्यसले सिंगो विश्वलाई नै बर्बादीको दिशातिर धकेल्दै छ ।

यसमै जोडिन आउँछन्– सडक निर्माण पनि ।
हामीकहाँ सडक निर्माण जुन प्राविधिक तरिका अपनाएर भइरहेका छन्, त्यसमा असंख्यौ त्रुटि छन् । हामीले हाम्रो भौगर्भिक संरचनालाई बिथोलेर/गिजोलेर सडक निर्माण कार्य गरिरहेका छौं । जापान, अमेरिका, स्वीट्जरल्याण्डजस्ता विकसित मुलुकहरूमा जसरी सडक निर्माण हुन्छन्, ती देशहरूमा पारिस्थिति प्रणालीलाई नखल्बल्याइकन, कुनै असर नपुर्‍याइकन सडक वा अरु भौतिक निर्माणका कार्यहरू हुने गर्दछ । जुन ठाउँमा सडक निर्माण गर्दा भौगर्भिक संवेदनाप्रति विचार पुर्‍याउनु पर्छ, त्यही आधारमा नै ती देशहरूमा सडक निर्माण हुँदै आएका छन् ।

हामीकहाँ भने सडक निर्माण गर्दा ‘गोर्खे पारा’ लाई अवलम्बन गरिएको प्रष्टै देखिन्छ । जुन पायो, त्यही भौगर्भिक संरचनामा हेभी उपकरणहरू चलाउने र जथाभावी उत्खनन गर्ने कार्य चलिरहेका छन् । यसले विकासलाई होइन, विनासलाई निम्तो दिनेमा सन्देह देखिँदैन । पहाडमा सडक निर्माण गर्दा भूवैज्ञानिक एवं पर्यावरणीय संवेदनशीलतालाई मध्यनजर गरेर गर्नुपथ्र्यो, तर पूरै अवैज्ञानिक ढंगले सडक निर्माण गर्दाको परिणाम हामीले अहिले भोगिरहेका छौं । मूलतः पहाडी भूभागमा सडक निर्माण गर्दा हेभी उपकरणहरूको प्रयोग यतिविघ्न हुने गरेका छन् कि, त्यसले कुनै सुन्दर मानिसको अनुहारमा कसैले रिसाएर कोपरेकाजस्ता दागहरू देखिन्छन् । र, त्यसले हाम्रो पर्यावरणलाई खल्बल्याउन यथेष्ट भूमिका खेलिरहेको छ ।

पछिल्लो समय, हामीले जेजति प्राकृतिक विपत्तिको सामना गरिरहेका छौं, त्यसलाई निम्त्याउने हामी नै हौं । हामीले प्रकृतिलाई अनावश्यक रुपमा चुस्दैछौं । प्रकृतिलाई जति दोहन गर्दा पनि हुन्छ भन्ने मानसिकताले हामीलाई लपेटिरहेको छ र हामीले प्रकृतिलाई आवश्यकताभन्दा बढी दोहन गरिरहेका छौं ।

हामीले प्रकृतिलाई उसकै तरंग र प्रवाहमा बग्न दिइरहेका छैनौं । हामीले प्रकृतिलाई उसकै लय र आलापमा गुन्जायमान हुन दिइरहेका छैनौं । हामीले प्रकृतिलाई उसकै रङ र कुचीमा सजिन दिइरहेका छैनौं । हामीले प्रकृतिलाई उसकै भाषामा अभिव्यक्त हुन दिइरहेका छैनौं । हामीले प्रकृतिलाई उसकै कोलाजमा फक्रिन दिइरहेका छैनौं । हामीले प्रकृतिलाई उसकै रचनाशीलता र संघर्षमा रम्न दिइरहेका छैनौं । हामीले प्रकृतिलाई उसकै भाव, संवेदना र अर्थबोधमा अभिव्यक्त हुन दिइरहेका छैनौं । दिनदिनै हामीले प्रकृतिलाई बिथोलिरहेका छौं, गिजोलिरहेका छौं ।
अनियन्त्रित उत्खननको चपेटामा परेका पहाडलाई बचाउन अब झन्झन् चुनौतीपूर्ण सावित हुँदै गएको छ । अबका दिनमा भौगर्भिय संरचनालाई नपहिल्याइकन सडकलगायत अरु निर्माण कार्यहरूलाई तीव्रता दिने हो भने त्यसले झन् भयावह प्राकृतिक विपत्तिलाई अनिवार्यतः निम्त्याउनेमा कुनै सन्देह देखिँदैन । पहाडमा कुनै प्राकृतिक समस्या उब्जिँदा त्यसले नदीनाला तटीय क्षेत्रका साथै मधेसलाई समेत नोक्सान पुर्‍याउने निर्विवाद तथ्य हो । यसले नदी किनारका बस्तीहरूको भविष्यमाथि प्रश्नचिह्न उठाउने छ, निश्चित रुपमा । मधेसका समथर भूभागहरूले झेल्नुपर्ने विपत्तिको प्रष्ट तस्बिर पनि देखिनेछ ।

पहाडी भूभागमा हेभी उपकरणहरू प्रयोग गरेर जसरी सडक निर्माण गरिएका छन्, त्यस्ता सडकको कति सदुपयोग भइरहेका छन् ? यो सबैले उठाउनुपर्ने सवाल बन्न पुगेको छ । निर्मित वा निर्माणाधीन सडकहरूका अवस्था यति दयनीय छन् कि, वर्षाद्को समयमा त यातायात सञ्चालन हुनु दुरूह छँदैछ, हिउँदमा पनि उबडखावड त्यस्ता सडकहरूमा सवारी साधन चलाउनु कुनै ठूलै युद्ध जित्नुजत्तिकै सकसपूर्ण देखिन्छ । एक पटक सडक निर्माण भएपछि त्यसको स्तरोन्नति र मर्मतमा राज्यका कुनै निकायहरूले पहलकदमी नउठाउँदा त्यस्ता सडकहरू जर्जर छन् र अझ जथाभावी रुपमा उत्खनन गरिएका हुँदा पहिरोका भरपर्दो स्रोतका रुपमा चिनिन थालेका छन् ।
धेरै वर्षअघि कवि मीनबहादुर विष्टको एउटा कविता पढेको थिएँ, ‘साला, पहाड मे क्या है ?’ तत्कालीन समयमा यो कविताको भावभूमि पहिल्याउन निकै कठिन भएको थियो मलाई । त्यो सुन्दर कविताका केही हरफले अझै पनि पछ्याइरहन्छन्–
‘मुहानबाट फुत्त कहीं हुत्तिँदै, कहीं थामिँदै
तर कहीं कतै पनि पछाडि फर्केर एक नजरसम्म नलाउँदै
बरु उल्टै दुई किनारहरूमा सालिक झैँ उभिएका
रोगी पहाडहरूलाई लात हान्दै बेस्सरी
भागिरहेछ नदी देश छाडेर ।’

एउटा लाहुरे वा एउटा विदेशीले पहाडलाई गाली गर्दै ‘साला पहाड मे क्या है ?’ भनेर प्रश्न उब्जाउने समय पनि थियो होला । तर, अब भने पहाडमा सबै चिज छन् । के छैनन् र पहाडमा ? अपार प्राकृतिक स्रोत, साधनहरूले पहाड भरिपूर्ण छन् । पहाडको अप्रतिम सौन्दर्यप्रति मुग्ध नहुने को होलान् र ? यदि, कुनै क्रुर शासकले पहाडको सौन्दर्य ग्रहण गरेका भए उनले आफ्नो नाम इतिहासमा कलंकित तुल्याउने कार्य गर्दैनथे होलान् सायद ।

पहाडसँग सबै चिज छन् । तर, पहाडलाई बचाउने सोच, चिन्तन र तत्परताको भने नीतिमान्हरूमा दिनानुदिन अभाव देखिँदै गइरहेको देखिन्छ । तसर्थ, अनियन्त्रित रुपले पहाडलाई दोहन गर्न छाडेर र बढ्दो पर्यावरणीय एवं पारिस्थितिकीय संकट र असन्तुलनलाई रोक्न ढिलाइ भइरहेकोमा भने कुनै द्विविधा छैन । जति ढिलाइ हुँदै जान्छ, त्यसले गम्भीर र भयावह संकटहरूलाई निम्त्याउने निश्चित छ ।
पर्यावरणको अथाह स्रोत पहाडलाई बचाउनुको विकल्प देखिँदैन ।
००

तपाइको प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *

हामी तपाईंको इमेल अरू कसैसँग साझा गर्दैनौं।

ट्रेन्डिङ