Gaule News
शुक्रबार, अशोज २, २०७७
Gaule Entertainment Media Group Pvt.Ltd.

खिचडी पकाउन रोकौं

–विवश वस्ती

खिचडी पकाउन रोकौं

अहिले सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी आन्तरिक अन्तरविरोधमा अल्झिएको छ । अन्तरविरोध घनीभूत बन्दै जाँदा पार्टी एकता जटिल, गम्भीर एवं असामान्य मोडमा पुगेको छ । तीन वर्षअघि तत्कालीन नेकपा (एमाले) र नेकपा (माओवादी केन्द्र) बीच एकता हुन पुगेको थियो । तर, एकताले मूर्त रुप लिन नपाउँदै कतै विभाजनको गर्ततिर उन्मुख भइरहेको त होइन ? भन्ने प्रश्नचिह्न र आशंका ब्युँतिन पुगेका छन् । प्रधानमन्त्री एवं अध्यक्ष केपी शर्मा ओली र अर्का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ बीच शक्ति बाँडफाँटलाई लिएर चुलिएको अन्तरविरोधको समुचित निकास निस्किने सम्भावना न्यून हुँदै गइरहेको छ । निश्चय नै, कुनै पनि चिजको निकास निस्किने अवस्था सिर्जित भएनन् भने त्यसले विस्फोटको रुप लिन्छ, विध्वंसको रुप लिन्छ । यो सार्वभौम नियम नै हो ।

संघीय तथा प्रदेशसभाको निर्वाचनको पूर्वसन्ध्यामा पार्टी एकता हुँदा आम कार्यकर्ता र जनपंक्तिले एउटा विश्वास सँगालेका थिए– नेतृत्वले पार्टी एकतालाई गुणात्मक रुपमा नयाँ उचाइँतिर लैजाने छन् । दुवै निर्वाचन सकियो, नेकपाले बहुमत ल्यायो र संघीय र प्रदेश सरकारहरु पनि गठन भए । तर, जनपंक्तिमा उम्रिएको विश्वास बिस्तारै अविश्वासको कालो बादलमा परिणत हुँदै गयो । आशा र उत्साहका बेर्नाहरूलाई बिस्तारै निराशा र बेचैनीका लाभ्रेहरूले खाँदै जान थाले । हुन पनि, देशमा दुईतिहाइको कम्युनिष्ट–सरकार गठन भएपछि राष्ट्र–विकासले स्वर्णिम चरणमा प्रवेश गर्ने अपेक्षा धेरैले सँगालेका थिए । निर्वाचनको बेला नेकपाले आर्थिक समृद्धिको विषयलाई निकै तीव्र र जोडदार रुपले उठाएको हुँदा र निर्वाचनमा पनि बहुसंख्यक जनताले कुनै नाइँनास्ती नगरी विश्वास गरेका हुँदा त्यस्तो आधारशिला बनेको पनि थियो ।

कम्युनिष्ट सरकार गठन भएपश्चात् शान्ति, राजनीतिक स्थायित्व र सुशासन कायम हुने अपेक्षा–निकट बहुसंख्यक जनपंक्ति उभिएका थिए । तर, परिस्थिति उल्टो दिशातिर गतिमान बन्न थाल्यो । राजनीतिक स्थिरताको ठाउँ बिस्तारै राजनीतिक संकटले लिन थाल्यो । संकटको उत्पत्ति भएपश्चात् त्यसलाई व्यवस्थापन गर्ने कौशल नेतृत्व तहले प्रदर्शन गर्न सक्नुपथ्र्यो, त्यस्तो कौशलबाट नेतृत्व तह चुक्दै आयो । जेलिँदै गएको सत्तारुढ दलभित्रको राजनीतिक संकटलाई भुंग्रोबाट निकाल्नेभन्दा झन् भुंग्रोतिरै धकेल्ने कार्यमा नेतृत्व तह ‘उस्ताद’ सावित हुँदै गयो ।

चरमोत्कर्षमा पुगेको नेकपाभित्रको विवादलाई अनेक रङ छ्यापेर रङ्गाउने होडबाजी चलेको छ, अहिले । तर, विवादको अन्तर्यमा भने शक्ति बाँडफाँट नै जोडिएकोमा कुनै द्विविधा देखिँदैन । अध्यक्षद्वय ओली र दाहालबीच सुरु भएको शक्ति बाँडफाँटको विवादले अनेक चरण पार गर्दै अहिले विधि, पद्धतिजस्ता विषयहरूमा प्रवेश गरिसकेका छन् । आफूलाई जनताले पाँच वर्षका लागि सत्ता चलाउने ‘म्यान्डेट’ दिएकामा पूरा अवधि नै पार गर्ने अडानबीच प्रधानमन्त्री ओली उभिन पुगेका छन् । तर, दाहालले भने ओलीबाट सरकार र पार्टी दुवै चल्न नसकेको निचोड निकाल्दै ती दुवै पद त्याग्नुपर्ने अडानमा यथावत छन् । तसर्थ, दुई अध्यक्षबीच शक्ति संघर्ष बाक्लिँदै जाँदा नेकपाभित्र यतिबेला असहज र गम्भीर परिस्थिति उत्पन्न हुन पुगेकोमा सन्देह छैन ।

यद्यपि, पार्टी–जीवनमा देखा परेको असामान्य परिस्थितिलाई पन्छाउनतिर पछिल्लो समय केही युवाले जाँगर देखाएका छन् । केही दिनपूर्व, संघीय संसद्को ६३ जना सांसदले ‘कुनै पनि हालतमा पार्टी विभाजन हुन नदिने’ संकल्प गरे । आशा गर्न सकिने ठाउँ कहाँनेर छ भने, ती युवा सांसदहरूले आफूहरू गुटभन्दा केही माथि उठेका झलक दिएर पार्टीलाई एकताबद्ध र सुदृढ तुल्याउन पहल थालेका छन् । हुन त, ती युवा सांसदहरूले आफ्ना प्रतिबद्धता बाहिर ल्याउनुअगावै दोस्रो पुस्ताका नेताहरूले अध्यक्षद्वयको झगडालाई साम्य पार्न भगीरथ प्रयत्न नगरेका भने होइनन् । तर, दोस्रो पुस्ताका नेताहरूको त्यस्तो प्रयत्नले सही गन्तव्य पहिल्याउन भने सकिरहेको छैन । किनभने, दोस्रो पुस्ताका नेताहरू यदाकदा रुपमा अध्यक्षद्वयको विवादमा जोडिएका हुँदा प्रभावकारी तरिकाले पहल हुन नसकेको स्पष्टै देखियो । तसर्थ, पछिल्लो समय युवा सांसदहरूले उठाएको कदमलाई भने स्वागतयोग्य मान्न सकिन्छ र उनीहरूले चाहे भने पार्टीलाई विभाजनको दिशातिर उन्मुख गराउन खोज्ने शीर्ष नेतृत्वलाई दबाब दिएर ‘साइज’ मा ल्याउन सक्नेछन् ।

युवा सांसदहरूले आफ्नो स्पष्ट मार्गचित्र अघि सारेर शीर्ष नेतृत्वलाई झक्झकाउने कार्य गर्नुले धेरै हिसाबले आम कार्यकर्ता र जनपंक्तिबीच आशाको सञ्चार गराएको छ । उनीहरूले मार्गचित्र प्रस्तुत गर्दै भनेका छन्, ‘सिंगो नेपाली समाजको प्रगतिशील रुपान्तरण, मजबुत राष्ट्रिय एकता, सबल अर्थतन्त्र निर्माण, वैज्ञानिक समाजवादी दिशाको यात्रामा अविचलित पाइलाहरू अगाडि बढाउने यति ठूलो जनताको समर्थन, हजारौं सहिदहरूको सहादत र लाखौं कार्यकर्ताको त्याग र समर्पणलाई हेक्का नराखी पार्टीका आगामी नीति, कार्यक्रम, सिद्धान्त, लक्ष्य, उद्देश्य, संगठनात्मक संरचनासम्बन्धी बहसभन्दा अन्य विषयमा केन्द्रित भई शीर्ष नेतृत्वमा देखा परेको अन्तरविरोध कुनै पनि अर्थमा ग्राह्य र उपयुक्त नभएकोले हामी कार्यकर्ताको तहबाट साथ र सहयोग हुन सक्दैन ।’
निःसन्देह, नेकपाभित्र देखिएको विवादको मुल जड त पहिलो पुस्ताका नेताहरूमा देखिएको सत्ता र शक्तिप्रतिको तीव्र लालच नै हो । शक्तिको लगामलाई सदैव आफ्नै हातमा लिइराख्ने उत्कट चाहनाले नै संकटका प्वालहरू जन्मिन पुगेका हुन् । समस्या त के हो भने, पहिलो पुस्ताका नेताहरू अवकाश–उन्मुख भए पनि उनीहरूलाई त्यसप्रति कुनै बोध छैन वा बोध भए पनि बेवास्ता गरिरहेका छन् । दोस्रो वा युवा पुस्तालाई नेतृत्व हस्तान्तरण गरेर अभिभावकको भूमिकामा रहन रत्तिभर चाहिरहेका छैनन् । ब्रम्ह्नालमा पुगुन्जेलसम्म पनि शक्ति र सत्ताको लगाम आफैँले खिच्ने अतीव मोहले शीर्ष नेतृत्वलाई नराम्ररी गाँजेको छ र त्यो नै समस्याको मुख्य जड बनिरहेको छ ।

शीर्ष नेतृत्वले युवा पुस्तालाई विश्वास र भरोसा गर्नुको विकल्प देखिँदैन अब । ‘मेरो गोरुको बाह्रै टक्का’ को शैलीमा चल्ने हो भने त्यसले अप्रिय अवस्थातिर पार्टीलाई डोर्‍यायो निश्चितप्राय छ । नेतृत्वले के बुझ्नुपर्छ भने, हरेक युगको राजनीतिक–चेतनाको विकासमा युवा पुस्ताको भूमिका अपरिहार्य रहँदै आएको छ र अबको चेतन र परिवर्तनको बाहक बन्ने अवसर युवाहरूलाई नै दिनुपर्छ । सन्देह नगरौं, नेकपाभित्रका युवा पुस्ता इतिहासको महत्वपूर्ण दायित्व, लक्ष्य र गतिलाई पूरा गर्दै त्यसलाई अगाडि बढाउन सक्षम छन् । उनीहरूले परम्परागत सोच र चिन्तनलाई नपछ्याइकन सक्षम ढंगले पार्टी वा सरकारलाई हाँक्ने क्षमता राख्छन् ।

शतप्रतिशत नै नभए पनि मूलतः पहिलो पुस्ताबाट उपेक्षित छन्, युवा पुस्ता । युवा पुस्तामा व्याप्त ऊर्जा, सामथ्र्य र नयाँ सोच÷चिन्तनलाई ग्रहण गरेर यथोचित अवसर दिने कार्यमा उदार देखिँदैनन्, पहिलो पुस्ता । युवा पुस्तालाई आफ्नो पिछलग्गु बनाउने, सदैव हनुमानको भूमिकामा उभ्याउन चाहने र भूमिकाविहीन बनाउने कार्यमा नै पहिलो पुस्ताका नेताहरू सक्रिय देखिन्छन् । दुःखद् पक्ष त, पुराना र नयाँ पुस्ताबीच कुनै सार्थक संवाद हुने अवस्थाको अन्त्य हुँदै गइरहेको छ र कुनै बहस–विमर्शले स्थान पाउनु दुर्लभ पक्ष बन्दै गइरहेको छ ।

यद्यपि, युवा पुस्ताको सशक्त एवं प्रभावकारी हस्तक्षेप अब नेकपालाई अति आवश्यक भइसकेको छ । यतिखेर नेकपा गम्भीर मोडमा उभिन पुगेको विदितै छ र युवा पुस्ता पार्टीलाई गम्भीर मोडमा उभिएको देख्न चाहँदैनन् । आफ्नो राजनीतिक भविष्य, आशा र विश्वास जोडिएको एउटा संस्थाको दुर्दशा वा दुःखद् अवशानको तस्बिर आँखैसामु देखिनु पक्कै पनि सुखद् र उत्साह जगाउने पक्ष होइन । तसर्थ, युवा पुस्ताले विवादको खिचडी पकाउन व्यस्त शीर्ष नेतृत्वलाई प्रभावकारी रुपमा दबाब दिने कार्यमा अग्रसरता लिइरहेको सन्दर्भमा दबाबको तहलाई अझ माथि उकास्न र गति दिनु आवश्यक छ । साथै, यतिखेर इतिहासको ऐनालाई नियालेर गहन पाठ सिक्नु पनि आवश्यक छ– विभाजन र फुटले केकस्तो दुर्दशा निम्त्याउँदो रहेछ । आखिर, यो उखान त्यसै बनेको त होइन होला– ‘भाइ फुटे, गँवार लुटे ।’
गँवारले लुट्ने दिन नआओस् ।
००

तपाइको प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *

हामी तपाईंको इमेल अरू कसैसँग साझा गर्दैनौं।

ट्रेन्डिङ