Gaule News
शुक्रबार, अशोज २, २०७७
Gaule Entertainment Media Group Pvt.Ltd.

सुनको अर्थ–राजनीति

– विवश वस्ती

सुनको अर्थ–राजनीति

सुनौलो बिहान, सुनकेशरी मैयाँ, सुनकोसी, सुनगोहोरो, सुनपङ्खी घोडा– यी यस्ता शब्दावली हुन्, जसमा ‘सुन’ लाई अधिक महत्व दिइएका छन् । किन पनि महत्व नपाओस् त सुनले ? झन् अचेल त सुनको मूल्य सुन्दा जिब्रो नै टोक्नुपर्ने अवस्था सिर्जित हुन पुगेको छ । धातुहरूको संसारमा सुनले जति महत्व पाउँदै आएका छन्, त्यति महत्व अरु धातुहरूले सायदै पाएका होलान् । आखिर, धातुहरूमध्ये एउटा धातुको गणनामा आउने सुनले किन यति धेरै महत्व पायो ? किन, अरु धातुहरूका मूल्यले विश्व–बजारलाई प्रभावित नतुल्याइरहेको सन्दर्भमा सुनले आफ्नो स्थान उकास्न सफल भयो ?
सुनले जसरी राजनीतिक, आर्थिक, सामाजिक, साँस्कृतिक र धार्मिकलगायतका महत्व प्राप्त गर्दै गयो, त्यसले एउटा अकाट्य तथ्य स्थापित गर्दै गयो । जहाँ पनि सुन । बजारमा सुन, सामाजिक सन्दर्भहरूमा सुन, साँस्कृतिक माहोलमा सुन, धार्मिक अनुष्ठानहरूमा सुन ।

कोभिड–१९ को महामारीले विश्व अर्थप्रणाली दुब्लो र थङ्थिलो हुँदै गएपश्चात् बजारमा अरु वस्तुहरूले यथोचित मूल्य पाउन सकेका छैनन् । तर, सुनले भने यति धेरै मूल्य प्राप्त गर्‍यो कि, सुन अहिले विश्व–बजारको ‘एक्लो हिरो’ नै सावित हुन पुगेको छ । अहिले सुनको मूल्यले १ लाख (नेपाली रुपियाँ) नाघिसकेको छ । बजारमा अरु सामानहरूका भाउ घटेका छन् । तर, सुन भने झन्झन् महगिँदै गएको छ । दिनदिनै शिखरउन्मुख हुँदैछ, सुनको भाउ । दिनहुँ सुनको उकालो–उन्मुख मूल्य सुन्न अभिशप्त भइरहेका छन्,
विश्व–समुदाय ।

पूर्ववर्ती समयमा विश्व बजारमा सुनको मूल्य उकालो लाग्नुको पछाडि केही समय–सन्दर्भ जोडिएका हुन्थे । खासगरी, हाम्रो समाजमा बिहे–बटुलहरूका बेलामा सुनको मूल्य शिखरतिर लम्किन्थ्यो । तर, अचेल भने किन अचाक्ली रुपमा बढिरहेछ, सुनको भाउ ? यो सबैको दिमाग रन्थनाउने प्रश्न बनिरहेको छ अचेल ।
सुनको राजनीति अहिलेमात्र उब्जिएको भने होइन । निकै पुरानो र लामो छ, सुनको अर्थ–राजनीति । प्रथम विश्वयुद्ध (सन् १९१४–१८) ताका सुनको स्तरमा आधारित डलरले बेलायती मुद्रा पाउन्ड स्टर्लिङलाई परिपूर्ति गरेको थियो । विदितै छ, प्रथम विश्वयुद्धको बेला तत्कालीन शक्तिशाली देश बेलायतले युद्धका लागि ठूलो अनुपातमा सुन खर्च गरेको थियो ।

सन् १९४४ को जुलाईमा ‘ब्रेटन उड्स’ सम्झौता लागु भयो । उक्त सम्झौतापश्चात् मूलतः शक्तिराष्ट्रहरूलाई मुद्रा छाप्ने विशेषाधिकार प्राप्त भयो । संयुक्त राज्य अमेरिका डलरलाई एक मात्र अन्तर्राष्ट्रिय मुद्रा बनाउन सफल भयो । त्यसपश्चात् अमेरिकाले डलर र सुनबीच स्थिर विनिमय दर तय गरेर डलरलाई सुनको समतुल्यमा पुर्‍यायो । स्थिर विनिमय दरको प्रथाले गर्दा अमेरिकी डलरको तुलनामा मुद्राको अवमूल्यनको प्रक्रिया प्रारम्भ भयो । ‘ब्रेटन उड्स’ सम्झौतापछि त अमेरिकाले संसारको झन्डै ८० प्रतिशत सुन खरिद गर्‍यो ।

सन् १९७१ मा भने निक्सन प्रशासनको मातहतमा सुनको स्तर घटाइयो र असीमित ढंगले डलर छाप्ने कार्य गरियो । ‘बेट्रन उड्स’ सम्झौताले दिएको विशेष अधिकारको आडमा अमेरिकाले एकतर्फी रुपमा जिन्सीलाई नगदमा रुपान्तरण गर्ने प्रचलनलाई हटायो र जुनसुकै ठाउमा कागजी नोट चल्ने नियम लागु गर्‍यो । डलर एक्चेन्ज हुँदा वस्तु र सेवाको पनि मूल्य प्राप्त हुन पुग्छ नै ।

सन् १९२९ को एउटा उदाहरण लिऔं । त्यो समय एउटा ‘ट्रोइओन्स’ को मूल्य २० अमेरिकी डलर थियो । तत्कालीन राष्ट्रपति रुजवेल्टले स्वदेशी ग्यारेन्टी दिएर त्यसको मूल्य ३५ डलर निर्धारण गरे । एउटा ‘ट्रोइओन्स’ को मूल्य ३५ डलर निर्धारण गरिएको बेला जब सुनको स्तर घट्यो, त्यसले कम्तिमा सुनको मूल्यमा ३० गुणा घाटा लाग्यो । सन् १९२९ मा त्यही चीजको मूल्य ४८ गुणाभन्दा बढी थियो । तर यो घाटा अमेरिकाले होइन, विश्वका अरु देशले ब्यहोर्नु परेको थियो । शक्ति राष्ट्रबाहेकका अरु देशले आफ्नो प्राकृतिक स्रोत र नगद युद्धका लागि परोक्ष रुपमा खर्चिनु परेको थियो ।

प्रथम विश्वयुद्धताका सुनले खेलेको भूमिकालाई लिएरै हुनुपर्छ, सन् १९१७ मा रुसको जारशाही सत्तालाई पल्टाएर समाजवादी दिशा अपनाएका महान् नेता भ्लादिमिर लेनिनले भनेका थिए, ‘समाजवादी राज्यव्यवस्था लागु भएपछि सुन शौचालयमा प्रयोग गरिनेछ ।’
हुन पनि, बीसौं शताब्दीका क्रान्ति–नायक लेनिनले समाजवाद स्थापना भएपछि सुनले प्राप्त गर्ने मह्त्व र मूल्यबारे एउटा बेजोडको कल्पना गरेका थिए । यद्यपि उनको कल्पनाले कालान्तरमा सार्थक रूप पाए वा पाएनन् ? यो अध्ययनको पाटो हुन सक्दछ । तर, सुनप्रति लेनिनको यो भनाइ भने निकै चर्चित र उत्तिकै रमाइलो पनि छ, ‘जब हामीले विश्वव्यापी स्तरमा विजय प्राप्त गर्नेछौं, मलाई लाग्छ, त्यस बेला हामीले केही ठूल्ठूला सहरहरूका सडकहरूमा सुनका सार्वजनिक शौचालयहरू बनाउनेछौं । सन् १९१४–१९१८ को महान् स्वतन्त्रतावादी युद्धमा ब्रेष्ट सन्धि र भेर्साल सन्धिमा कुन शान्ति सन्धि बढी खराब हो भन्ने महान् प्रश्नको समाधानको लागि भएको लडाइँमा सुनको लागि एक करोड मानिस मारिए, तीन करोड मानिसलाई अपाङ्ग बनाइयो र त्यसै सुनको लागि सन् १९२४ तिर अथवा १९२९ तिर जापान र अमेरिकाको बीचमा अथवा बेलायत र अमेरिकाको बीचमा अथवा यस्तै किसिमले अरू कसैको बीचमा हुने लडाइँमा दुई करोड मानिस मार्न र छ करोड मानिसलाई अपाङ्ग बनाउन तम्सिएका छन् भन्ने कुरा जुन पिँढीले बिर्सेको छैन, उसको लागि यस्तो प्रयोग सबभन्दा ‘न्यायोचित’ र सबभन्दा जल्दोबल्दो उदाहरण ठहरिन जानेछ ।’

लेनिनले सुनको सार्वजनिक शौचालयहरू बनाउने कुरा बताए पनि विश्वका कतिपय धार्मिक मन्दिरहरूमा भने सुन चढाउने र मन्दिरका गजुरहरूलाई सुनले झकिझकाउ तुल्याउनेजस्ता कार्य भइसकेका थिए, त्यसअगावै । त्यसले सुनको महत्व परापूर्वकालदेखि नै थियो भन्ने पक्षलाई प्रष्टै झल्काउँछ । अझ, कतिपय धर्महरूले त सुनको महत्वलाई माथिल्लो तहमै राख्दै आए । हिन्दु धर्मले सुनलाई यति पवित्र धातु मान्यो कि, त्यो धातुलाई हरेक अनुष्ठानहरूमा प्रयोग गर्न मानिसहरूलाई बाध्य पारियो । सुनको पवित्रतालाई धार्मिक ग्रन्थहरूमा नै व्याख्या/विश्लेषणसमेत गरियो । धर्मग्रन्थहरूमा सुनलाई ‘धातुहरूको राजा’ को रुपमा मान्यता दिइयो । भनिन्छ, सुन कहिल्यै विकृत नहुने धातु हो । यसको कान्ति र चमक जहिल्यै स्थायी रहन्छ । आयुर्वेदमा सुनबारे भनिएको छ, ‘सुवर्ण, शीतल, वीर्यवद्र्धक, बलदायी, रसायन, स्वादिष्ट, पवित्र, पुष्टिदायक, आँखालाई हितकारी, बुद्धि, स्मरणशक्ति, हृदयको आयु बढाउने क्षमताले भरिपूर्ण, कान्ति, वाणीलाई स्वच्छ तुल्याउने, स्थिरतादायी, क्षय, उन्माद, ज्वर तथा रोषको नाशक गुण यो धातुमा हुन्छन् ।’
फेरि एक पटक विश्वमा सुनको अर्थ–राजनीति चम्किएको छ । अहिले सुनको मूल्य अचाक्ली वृद्धि हुनुमा मुद्रा अवमूल्यनको त्रास धेरै हदसम्म जिम्मेवार मान्न सकिन्छ ।

कोभिड–१९ ले विश्व अर्थतन्त्रलाई थला पारिरहेको बेला सबैले सोचे होलान्– के ठेगान अब डलरको अवमूल्यन नहोला र ? सुनको शासन चम्किरहेको यो बेला सिकन्दरको जीवनमा घटेको यो प्रसंग उप्काउँदा पक्कै केही फरक नपर्ला ।

सुन र सिकन्दर
सिकन्दर विश्व–विजयको सपना बुनेर हिडिरहेका थिए । आफ्नो सपनालाई सार्थक रुप प्रदान गर्ने क्रममा उनले एउटा सहरलाई महिनौ दिनसम्म नाकाबन्दी गरे र अन्ततः कब्जामा पनि लिए ।

सहर कब्जा गरिसकेपछि युद्धका कारण उनी आकुलव्याकुल बनेका थिए र उनलाई भोक र प्यास एकैपटक लागिरहेको थियो । उनले त्यो सहरको प्रमुखलाई भने, ‘मलाई धेरै नै भोक लागेको छ, छिट्टै खानेकुराहरू ल्याऊ ।’

सहरका प्रमुखले एउटा आकर्षक रिकापीमा सुनैसुन पस्केर सिकन्दरका सामु राखिदिए । थालमा भातको साटो सुनैसुन देखेर सिकन्दर क्रुद्ध भए, ‘कहीँ सुनले पनि भोक मेटिन्छ र ?’

सहरका प्रमुखले भने, ‘महाराज, लगातारको युद्धले गर्दा यो सहरमा केही पनि अन्नपात बँचेका छैनन् । जनता भोक र प्यासले मरिरहेका छन् । खाने चिज केही पनि नभएको हुँदा मैले हजुरलाई सुनको खाना पस्किदिएको हुँ ।’
००

तपाइको प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *

हामी तपाईंको इमेल अरू कसैसँग साझा गर्दैनौं।

ट्रेन्डिङ