Gaule News
शनिबार, मंसिर २०, २०७७
Gaule Entertainment Media Group Pvt.Ltd.

गुटबन्दीको गीत

गुटबन्दीको गीत

‘हामीले गाउने गीत मजदुरहरुको, किसानहरुको
रगत सुकाई काम गर्ने श्रमिकहरुको
दुनियाँको निर्माण गर्ने कर्मीहरुको…।’
(रचना– मञ्जुल, संगीत– रामेश)

पञ्चायतकालीन परिवेशमा यो गीत निकै चर्चित थियो । तत्कालीन समयमा जनसाँस्कृतिक आन्दोलनलाई गति दिने दुई जुझारु साँस्कृतिककर्मीहरुको यो सिर्जना समतामूलक समाजको निर्माणको चाहना राख्ने पंक्तिबीच धेरै लोकप्रिय बन्न पुगेको थियो । अर्थात्, नयाँ, समुन्नत र समानताले भरिपूर्ण समाज निर्माण गर्ने दृढ संकल्प र इच्छाशक्ति बोकेर हिँडेका कम्युनिष्ट–कार्यकर्ता र जनपंक्तिबीच लोकप्रिय गीत । यो गीतले कम्युनिष्टहरुको वर्ग–चरित्र र सामिप्यतालाई समेत प्रतिविम्बित गर्दथ्यो । तत्कालीन समयमा कम्युनिष्ट राजनीतिलाई अंगीकार गरेर हिँडेकाहरुले गाउने गीत मजदुरहरुकै हुन्थे, किसानहरुकै हुन्थे र हुन्थे–श्रमिक र कर्मीहरुका । हुन पनि, २०४६ सालको बहुदलीय शासन प्रणाली स्थापित गर्ने आन्दोलन र २०६२/०६३ को गणतन्त्रको जग बसाल्ने आन्दोलनले सफलताको शिखर चुम्नुमा पनि यिनै मजदुर, किसान र श्रमिक वर्गहरुका समुच्च र प्रभावकारी भूमिका रहेको यथार्थलाई नकार्न सकिँदैन ।

देशका किसान, मजदुर, श्रमिक वर्गहरुकै अतुलनीय संघर्ष, बलिदान, उच्च चेतना र सामथ्र्यको प्रतिफलस्वरुप नै परिवर्तनका सानदार प्रतिमाहरु ठडिन पुगेका हुन् । ती वर्गका जनताको रगतले सडक नरङ्गिएका भए, उनीहरुका शरीरले दमन र पीडा नसहेका भए र उनीहरुका पसिना नचुहिएका भए परिवर्तनका रङ्गीचङ्गी इन्द्रेनीहरु टाँगिने थिएनन्, कुनै पनि क्षितिज–रेखामा । न त राजनीतिक दलहरुको नेतृत्वमा रहेकाहरुले परिवर्तनलगत्तै आफूलाई सत्ताको स्वादमा भुल्याउने अवसर नै बटुल्न पाउँथे । न त भ्रष्टाचार, कमिसन, नातावाद, कृपावाद, तथास्तुवादका हिलाम्य आहालमा चुर्लुम्म डुब्ने अवसर नै पाउँथे, तिनीहरुले । निःसन्देह, परिवर्तनसँगै सुन्दर पक्षहरु मात्र स्थापित भएनन् । कुरुप र विदु्रप पक्षहरु पनि स्थापित हुन पुगे । यसका दृष्टान्त राजनीतिक भ्रष्टाचार, मूल्यविहीनता र अपसंस्कृतिको बढ्दो चाङ लागेबाटै स्वतः पहिल्याउन सकिन्छ ।

जनअपेक्षा थियो– परिवर्तनपछि नेतृत्वकर्ताहरुले सही दिशातिर पाइला बढाउनेछन् । समाजको चतुर्मुखी रुपान्तरणमा नेतृत्व तहले पहल गर्नेछन् । प्रत्येक तह÷तप्काको जीवन–परिस्थितिलाई सर्वोत्तम बनाउने, उनीहरुको जीवन स्तरमा व्यापक सुधार ल्याउनमा प्रयत्न गर्नेछन् ।

हुन पनि, परिवर्तनका लागि अग्रमोर्चामा रहेर वैचारिक र व्यावहारिक रुपमा नेतृत्व गर्ने राजनीतिक शक्तिहरु र पंक्तिलाई जनताले शतप्रतिशत नै विश्वास गरेका थिए । उनीहरुले सामन्ती एवं पुरातन राजनीतिक, सामाजिक, आर्थिक, साँस्कृतिकलगायत पक्षहरुको तीव्र आलोचना गरेका थिए । परिवर्तनपछि न्यायपूर्ण, समानतायुक्त र मानवीय समाज एवं राजनीतिक, आर्थिक प्रणाली स्थापित गर्ने बचनबद्धतासमेत पेश गरेका थिए ।

विडम्बना, परिवर्तनपश्चात् कम्युनिष्ट पार्टीको नेतृत्व तहले गाउने वर्गीय भाकाका गीतहरु पनि बदलिन थाले । उनीहरुले मजदुर, किसान र श्रमिकहरुको गीत बिर्सिदै जान थाले । विगतमा गाइने यस्ता गीतहरु विस्मृतिको चपरीमुनि पुरिँदै गए । एक हिसाबले, उनीहरुले जुन वर्गको गीत गाउँथे, त्यसको ‘नोटेसन’ नै हराए÷बिर्सिए । अहिले हामी त्यही नोटेसन बिर्सिएको गीत सुन्न बाध्य छौं ।

नेतृत्वबीच पदीय लडाइँले तीव्रता पाउँदै गएपछि त अरु नै विषयवस्तुका गीतहरु कथ्न र त्यसमा लय भर्न नेतृत्व पंक्ति क्रियाशील देखिए । तसर्थ, पछिल्लो समय कम्युनिष्ट पार्टीमा सर्वाधिक लोकप्रिय, धेरै ‘भ्युअर्स’ बटुल्न सफल र नेता–कार्यकर्ताहरुको ओठ–ओठमा झुन्डिनलायक गीत बन्न पुग्यो– ‘गुटबन्दीको गीत’ ।

नेपाली कम्युनिष्ट आन्दोलनमा गुटबन्दी कुनै नौलो ‘प्रडक्ट’ भने होइन । यो वर्षौं पुरानो ‘प्रडक्ट’ हो । तर, समय–समयमा यसको ‘लेबल’ भने फेरिँदै आएका छन् । जसरी कुनै कम्पनीले उपभोक्ताहरुलाई भ्रमित तुल्याएर आफ्नो उत्पादन बेच्न ती उत्पादनहरुको ‘लेबल’ मा नयाँपन ल्याउने गर्दछन्, कम्युनिष्ट पार्टीमा पनि गुटबन्दी समयक्रममा नौलो ‘लेबल’ सहित प्रकटीकरण हुने गरेका छन्हुँ/दै आएका छन् ।

नेपालको कम्युनिष्ट आन्दोलनमा गुटबन्दीको बिजारोपण कहिलेदेखि भयो ? एक पटक इतिहासको पाना पल्टाउनु नै उचित र सान्दर्भिक होला । नेपाल कम्युनिष्ट आन्दोलनको अध्येता डा. सुरेन्द्र केसीको यो दाबीले कम्युनिष्ट पार्टीको जग खन्दादेखि नै गुटबन्दीका ढुंगा–माटाहरु परेका देखिन्छन्, ‘नेपालमा कम्युनिष्ट पार्टीको स्थापना र कम्युनिष्ट आन्दोलनको सुत्रपात नै विश्व कम्युनिष्ट आन्दोलनको एउटा अंगको रुपमा भएको हो । यस स्थितिमा विश्व कम्युनिष्ट आन्दोलनभित्र देखा परेका उतारचढाव तथा मतभेदहरुको नेपाल कम्युनिष्ट पार्टीभित्र ठाडो असर पर्नु पनि त्यत्तिकै स्वाभाविक हुन्छ । वास्तवमा नेपाल कम्युनिष्ट पार्टीको स्थापना नै अन्तर्राष्ट्रिय कम्युनिष्ट आन्दोलनको प्रचण्ड प्रभावका कारणबाट भएको थियो भन्ने स्वयंसिद्ध छ । विशेषतः नेपाल कम्युनिष्ट पार्टीको स्थापनामा भारतीय कम्युनिष्ट पार्टीको बंगाल शाखाको यथेष्ट योगदान रहेको छ । साथै, तथ्यहरुबाट के स्पष्ट हुन्छ भने नेपाल कम्युनिष्ट पार्टी स्थापना कालसम्ममा भारतीय कम्युनिष्ट पार्टीभित्र आन्तरिक गुटबन्दीले जन्म लिइसकेको थियो । त्यो गुटबन्दी रणदिवे र पीसी जोशीको बीचमा थियो र नेपाल कम्युनिष्ट पार्टीको स्थापनामा विटी रणदिवे समूहको विशेष योगदान थियो । यही कारण थियो, प्रारम्भमा पुष्पलालले कम्युनिष्ट दलको गठन गर्दा एकै समूहका पाँचजना व्यक्तिलाई मात्र लिएका थिए ।

यो स्थितिमा भारतीय कम्युनिष्ट पार्टीको गुटबन्दीको असर नजानिँदो गरी नेपाल कम्युनिष्ट पार्टीभित्र पनि पर्दै आएको थियो । त्यसैले भन्न सकिन्छ– भारतीय कम्युनिष्ट पार्टीभित्रको गुटबन्दी जुन गतिमा बढेर गयो नेपाल कम्युनिष्ट पार्टीभित्र त्यसको असर पनि सोही गतिमा पर्दै आयो । अर्कोतर्फ भारतीय कम्युनिष्ट पार्टी स्वयं अन्तर्राष्ट्रिय कम्युनिष्ट आन्दोलनमा आएको फुट तथा विभाजनबाट प्रभावित थियो जो २०१७ साल (ई. १९६०) पश्चात् उग्र रुपमा देखा परेको चरमोत्कर्षतर्फ बढिरहेको थियो ।’ (नेपालमा कम्युनिष्ट आन्दोलनको इतिहास, डा. केसी, २०५६)

तत्कालीन समय र वर्तमानमा देखिएका गुटबन्दीको प्रकृतिमा अनेक भिन्नता र आयाम छन् । तत्कालीन समय सैद्धान्तिक, वैचारिक मूल्य–मान्यतालाई अक्षुण्ण राख्ने विषयदेखि राष्ट्रिय, अन्तर्राष्ट्रिय घटनाक्रमहरुलाई नियाल्ने दृष्टिकोणसम्ममा नेतृत्व तहबीच मतैक्य कायम हुन सकस पथ्र्यो र त्यसले अन्ततः गुटबन्दीको जन्म लिन पुग्थ्यो । गुटबन्दीको चरम विकासले पार्टीलाई विभाजनको तहसम्मै पुर्‍याएका धेरै दृष्टान्त छन् । अझ, २०१७ सालको राजनीतिक परिवर्तनपछि त कम्युनिष्ट पार्टीमा यति धेरै विग्रह देखा प्र्‍यो कि– छिन्नभिन्न हुने घटना त भइ नै हाले, नेतृत्व तहमा रहेका कतिपय नेताहरुले आफ्नो वैचारिक आस्थालाई राजा महेन्द्रको पाउमा चढाउने कार्यमा प्रतिस्पर्धा नै चलाएका थिए । पछिल्ला चरणहरुमा भने गुटबन्दीको फेर समातेर नेतृत्व हत्याउने गलत अभ्यासको सुरुवात कम्युनिष्ट पार्टीभित्र हुन थाल्यो । त्यो क्रम र निरन्तरता आजपर्यन्त कायम छ । अझ, पछिल्लो समय त कम्युनिष्ट पार्टी र गुटबन्दी पर्यायजस्तै बन्न पुगेको छ । बिना गुटबन्दी कम्युनिष्ट पार्टीको अस्तित्व सोच्नु अब त बेकार नै होलाजस्तो देखिन्छ ।

हुन त, कम्युनिष्ट पार्टी होस् वा अरु बुर्जुवा पार्टी, गुट–निरपेक्षताको अपेक्षा राख्नु स्वप्न मात्रै हुनेछ । वर्चश्वशाली गुटहरुको चंगुलमा हरेक पार्टी फसिरहेका छन् । र, त्यसले विग्रहलाई मात्र आमन्त्रण गर्ने परिपाटी विकसित हुँदै गइरहेका छन् । अब त हुँदाहुँदा गुट–गुटबीच नै आफ्नो बचाउमा लाग्ने र दोस्रो गुटको आँखामा धुलो हाल्ने कार्यमा सिद्धता हासिल गर्दै गइरहेका छन् ।

गुटबन्दीको परजीविताले कम्युनिष्ट पार्टीलाई नराम्ररी बेर्दै लगिरहेको छ । बिस्तारै–बिस्तारै नेता–कार्यकर्ताहरु लयबद्ध रुपमा गुटबन्दीको गीत गाउन अभ्यस्त भइसकेका छन् । यस्तो परिवेशमा मजदुरहरुको गीत गाउन, किसानहरुको गीत गाउन र श्रमिकहरुको गीत गाउन भुल्दै जानु स्वाभाविकै हो । अब ‘हामीले गाउने गीत मजदुरहरुको…’ नभएर ‘गुटबन्दीको…’ भन्नु सान्दर्भिक बन्दै गइरहेको छ ।
००

तपाइको प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *

हामी तपाईंको इमेल अरू कसैसँग साझा गर्दैनौं।

ट्रेन्डिङ