Gaule News
शनिबार, मंसिर २०, २०७७
Gaule Entertainment Media Group Pvt.Ltd.

हामी ‘सुपर–र्‍याट’ मात्रै हौं ?

हामी ‘सुपर–र्‍याट’ मात्रै हौं ?

नेल्सन मण्डेलाहरु अपवाद हुन सक्छन् । तर, संसारका हरेकजसो शासकको मुख्य दृष्टिविन्दु नै शासन–सत्तालाई जसरी भए पनि दीर्घकालसम्म तन्काउने रहँदै आएको इतिहास हामीबीच मौजूद छन् । परापूर्वकालदेखि नै शासकहरुमा देखिएको यस्ता चरित्र आधुनिक समय र राज्यमा झनै झाँगिदै गएका छन् । अनन्तकालसम्म सत्तामा रहेर शासन गर्ने नियतद्वारा डोरिएका त्यस्ता शासकहरुले कुर्सीमा निर्लिप्त रहिरहन भद्दा, हास्यास्पद र अशोभनीय प्रहसनहरुका सहारा लिँदै आएका अनेकन् दृष्टान्त छन् । त्यस्ता शासकहरुले मञ्चन गर्ने ढंग र रंगविहीन प्रहसनसामु संसारका नामुद कमेडियनहरु पनि ‘लिलिपुट’ देखिन पुग्छन् ।

सत्ताको पृथक स्वादमा दीर्घकालसम्मै रमाउने स्वभाव भएका शासकहरु जुनसुकै राजनीतिक विचारधारामा आबद्ध छन् । चाहे पुँजीवादी होस् वा समाजवादी/साम्यवादी । सत्ताको शीर्षासनमा रमाइरहने बिमारीद्वारा ग्रसित त्यस्ता शासकहरु आफ्नो सिद्धान्त, वाद वा विचारधारालाई होइन, व्यक्तिवादी प्रवृत्ति र अहंलाई प्राथमिकताको केन्द्रविन्दुमा राखेर चल्न चाहन्छन् ।

भ्लादिमिर पुटिन–प्रवृत्ति विश्व राजनीतिक रंगमञ्चमा झन् प्रखर रुपमा प्रदर्शित हुँदैछ । सन् १९९० को सुरुवाती दशकमा सोभियत संघ विघटन भएपछि उदाएका थिए– बोरिस यल्तसिन । दुई कार्यकाल राष्ट्रपतिको जिम्मेवारी सम्हाल्दा पूर्वकम्युनिष्ट मुलुकको राजनीतिक, सामाजिक, साँस्कृतिक आर्थिक ग्रहदशा बिग्रिएपछि उनले त्यसलाई सम्हाल्न सकेनन् । नब्बेको आखिरी दशकतिर यल्तसिनको विश्वासिला पात्रका रुपमा उदाएका पुटिनले संघ विघटनपश्चात् निर्मित रुसमा अविच्छिन्न रुपमा शासन गर्न थालेको दुई दशक व्यतित भइसकेको छ ।

तत्कालीन रुसी राष्ट्रपति यल्तसिनले तत्कालीन प्रधानमन्त्री पुटिनलाई उत्तराधिकारीमा चयन गर्दाताकाको एउटा रमाइलो प्रसंग छ । जुन प्रसंग यल्तसिनले आफ्नो आत्मकथा ‘अर्धरात्रीको दैनिकी’ मा उल्लेख गरेका थिए । सन् १९९९ डिसेम्बर १४ मा यल्तसिनले आफ्ना उत्तराधिकारीका रुपमा पुटिनलाई प्रस्ताव गर्दा पुटिनले जिम्मेवारी लिन अस्वीकार गरेका थिए । पुटिनले अस्वीकृतिको भाषामा भनेका थिए, ‘मलाई लाग्दछ, म यो जिम्मेवारीका लागि तयार छुइनँ । तपाईँलाई पूरै थाहा छ कि, यो कति यातनापूर्ण भाग्य हो…।’

पुटिनले अस्वीकृति जनाउँदै यल्तसिनलाई भने, ‘रुसलाई तपाईँको धेरै नै आवश्यकता छ । तपाईँले मलाई धेरै नै सहयोग गर्नु हुन्छ । तसर्थ, एउटा महत्वपूर्ण कुरा के हो भने हामी मिलेर काम गरौं ।’ क्रेमलिनको एउटा कोठामा यल्तसिन र पुटिनबीच संवाद हुँदा यल्तसिनले पुटिनलाई मनाउने अथक प्रयत्न गरेका थिए । पुटिनको अस्वीकृतिसँगै यल्तसिनले कोठाको झ्यालबाट बाहिर नियाले । उनी पुटिनलाई बाध्य पार्न चाहँदैनथे । तर, केही क्षण दुवै मौन रहेपछि पुटिनले यल्तसिनको प्रस्ताव स्वीकार गरे र त्यसको केही समयपश्चात् नै राष्ट्रपति बने ।

सत्ताको स्वाद बेजोडको हुन्छ । कुनै समय राष्ट्रपति बन्न अनिच्छुक पुटिन बितेको दुई दशकयता निरन्तर रुसको राष्ट्रपति/प्रधानमन्त्री मात्रै बनेनन्, आफू अझै कैयौं वर्षसम्म राष्ट्रपति बन्नका लागि मार्गप्रशस्त गरिसकेका छन् । रुसको संविधानमा कुनै पनि व्यक्तिले दुई कार्यकालभन्दा बढी राष्ट्रपति बन्न नपाइने प्रावधान छ । तर, शासकहरुलाई सत्तामा लामो समयसम्म टिकिरहन लडड चल्यो भने कसको के लाग्छ र ? संविधान त एउटा कागजको ठेली मात्रै बन्न पुग्छ, त्यतिबेला । हुन पनि, दुई कार्यकाल राष्ट्रपतिको जिम्मेवारी सम्हालेपछि संविधानलाई सम्मान गरेजस्तो गरेर पुटिन प्रधानमन्त्री बने । प्रधानमन्त्रीको कार्यकाल सकिएपछि राष्ट्रपति बन्न संविधान फेरि बाधक बन्न पुग्यो । बाधक संविधानलाई संशोधन गरेर अविच्छिन्न रुपमा राष्ट्रपति बन्ने बाटो खुलाएर निश्चिन्त रहँदै आएका छन्, पुटिनले । विडम्बनाको विषय, पुटिनको मार्गचिह्न अरु राष्ट्रका शासकहरुले पनि पछ्याउँदै आएका छन्प/छ्याउने क्रम बढ्दो छ ।

हुन त, दीर्घकालसम्मै शासन–सत्ताको बागडोर सम्हाल्ने मनोकांक्षामा लिप्त कतिपय राष्ट्रका शासकहरु जनविद्रोहको झट्कासामु पतन भएका दृष्टान्तहरु नभएका होइनन् । धेरै टाढा जानै पर्दैन, केही वर्षपूर्व लिवियाका पूर्वराष्ट्रपति कर्नल मौमर गद्दाफीले भोग्नुपरेको दुःखद् र दर्दनाक नियतिलाई नियाले पुग्छ । वर्षौंसम्म आफूद्वारा शासित जनताबाटै उनी मारिनुपर्‍यो । जनविद्रोहको उभारसामु कुनै पनि शासकको दाल नगल्दो रहेछ भन्ने यस्ता प्रमाणहरु विश्व राजनीतिक क्षितिजमा प्रशस्तै छन् ।

निःसन्देह, सत्ताको तिर्खा साँच्चै नै अतृप्त हुँदो रहेछ । एक–दुई घुट्कोले मात्रै आँत नभिज्दो रहेछ । हुन त, सत्ता–प्राप्तिको प्रश्न कुनै राजनीतिक शक्ति/समूहको व्यापक उद्देश्यसँग अन्तर्निहित रहन्छन् । सत्ता–प्राप्ति कुनै आमुल परिवर्तनका निम्ति गर्ने हो वा केवल इतिहास रच्ने र एकाध दशक/वर्ष शासक बन्ने तहसम्म मात्रै सीमित रहने हो ? यो मुख्य प्रश्न हो । विश्वका महान् प्रजातन्त्रवादी नेता नेल्सन मण्डेलाको सत्ता–प्राप्तिको ध्येय सदीयौंदेखि रंगभेदी उत्पीडन, शोषण र दासतापूर्ण जीवन बाँचिरहेका दक्षिण अफ्रिकाका जनताको मुक्तिको प्रश्नसँग गाँसिएको थियो । रंगभेदीय अपमान, तिरस्कार र उत्पीडनका घुट्काहरु पिउँदै आएका आफ्ना जनताको मुक्तिका लागि २७ वर्षसम्म कठोर जेलजीवन बिताएका मण्डेलाले स्वतन्त्रतापश्चात् एक कार्यकाल राष्ट्रपतिको जिम्मेवारी स्वीकारे पनि अर्को कार्यकालका लागि भने मरिहत्ते गरेनन् । उनले चाहेका भए बाँचुन्जेल दक्षिण अफ्रिकामा शासन गर्न सक्थे, सत्ताको लगाम अँठ्याइरहन सक्थे । वर्षौंवर्षसम्म सत्तामा ढलिमली गर्ने ठाँटबाँटबाट उनी मुक्त भए । एउटा भव्य महानताको प्रदर्शन गरे । आज पनि मण्डेला विश्व–राजनीतिमा आदर्श व्यक्तित्वका रुपमा स्थापित छन् । यस्तो उचाइँ सीमित राजनेताहरुले मात्रै प्राप्त गरेका छन् ।

हेरौं त, कर्नल मौमर गद्दाफीलाई । जनविद्रोहबाट च्युत नहोउन्जेलसम्म उनको ध्येय नै सत्तामा रहने, सत्ताको आडमा ऐस–आरामको जिन्दगी गुजार्ने र सत्ताको यथाशक्य दोहन गर्नेमा नै केन्द्रित रह्यो । भलै, साम्राज्यवादी शक्तिहरुको विरुद्धमा उनले चालेका कदमलाई विश्व राजनीतिक परिदृश्यमा सकारात्मक कार्यको रुपमा लिइने गरिन्छ । तर, साम्राज्यवादीहरुप्रति कठोर र निर्मम भएपश्चात् उजिलिएको उनको छविलाई सदैव सत्तामा रहन चाहने र राज्यको दोहन गर्न चाहने गलत प्रवृत्तिले अन्ततः धूमिल तुल्याएरै छाड्यो र २० अक्टोवर २०११ भीषण विद्रोहको तापले गलेर तीन दशकभन्दा लामो समयसम्म तन्किएको उनको शासनकालको दुःखद् पटाक्षेप हुन पुग्यो ।

कुनै पनि राजनीतिक प्रणाली वा व्यवस्थाको गरिमालाई बचाइराख्न शासक वर्गको अहम् भूमिका रहनेमा सायदै सन्देह होला । शासक वर्गले देश र जनताको सर्वोपरी हितमा चाल्ने कदमहरुले नै प्रणालीलाई जीवन्त, चलायमान र गतिशील तुल्याउनुका साथै सम्मानित बनाउनसमेत अक्षुण्ण भूमिका खेल्छ । तर, एउटा निश्चित समूहको स्वार्थको घेरामा अल्झिएर र तिनै स्वार्थी तप्काको मनोकांक्षा पूरा गर्ने हेतुले शासकहरु चल्न थाले भने त्यसले दुःखद् मोडतिर अग्रसर तुल्याउँछ । अन्ततः त्यो शासक वर्गका लागि प्रत्युत्पादक त हुन्छ नै, त्यसले देश र जनताको स्वप्नलाई समेत पूरं कुठाराघात गर्न पुग्छन् ।

अन्तमा, जोनाथन शाँको एउटा कथाको प्रसंग ।
शाँको एउटा कथाको शीर्षक छ– ‘सुपर र्‍याट’ । जनपंक्तिबाट उठेका कुनै व्यक्ति जब शासन–सत्ताको केन्द्रभागमा आसिन हुन पुग्छन्, तिनीहरुले आफूलाई ‘सुपरम्यान’ का रुपमा उभ्याउन पुग्छन् । अन्ततः उनले तिनै जनता अर्थात् आफूलाई ‘सुपरम्यान’ को तहसम्म पुर्‍याउने पंक्तिमाथि नै दलन, उत्पीडन, अमानवीयताका औजारहरुले प्रहार गर्न थाल्छन् ।

अतः जनता भने कमजोर मुसाजस्तै तिनै ‘सुपरम्यान’ हरुको सिकार बन्न पुग्छन् । निःसन्देह सघन र गम्भीर प्रश्न उठ्न पुग्छ– के सत्तानियन्ताहरुका सामु हामी केवल ‘सुपर–र्‍याट’ मात्रै हौं ?
००

तपाइको प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *

हामी तपाईंको इमेल अरू कसैसँग साझा गर्दैनौं।

ट्रेन्डिङ