Gaule News
शुक्रबार, अशोज २, २०७७
Gaule Entertainment Media Group Pvt.Ltd.

ओखलढुंगामा यातायात व्यवस्था कार्यालय खुल्ने

सोलुखुम्बुबासीलाई सहज

ओखलढुंगामा यातायात व्यवस्था कार्यालय खुल्ने

गाउँले न्युज, सोलुखुम्बु । ओखलढुंगामा यातायात व्यवस्था कार्यालय स्थापना हुने भएको छ । प्रदेश १ सरकारको बिहिबार बसेको मन्त्रिपरिषद बैठकले ओखलढुंगामा यातायात व्यवस्था कार्यालय स्थापना गर्ने निर्णय गरेको हो ।

मन्त्रिपरिषद्को बैठकको बारेमा जानकारी दिनुहुँदै आार्थिक मामिला तथा योजनामन्त्री इन्द्रबहादुर आङ्बोले भौतिक पूर्वाधार विकास मन्त्रालयको प्रस्ताव स्वीकृत गर्दै यातायात व्यवस्था कार्यालय ओखलढुंगा स्थापना गर्ने निर्णय गरेको जानकारी दिए ।

प्रदेश सभामा पूर्व सगरमाथा अञ्चलमा यातायात व्यवस्था कार्यालय नहुँदा सेवाग्राही समस्यामा परेको भन्दै पटक पटक आवाज उठेपछि सरकारले कार्यालय स्थापनाको निर्णय गरेको हो । हाल यातायात सम्बन्धी कार्यका लागि सोलुखुम्बु, खोटांगका नागरिक लाहान धाउन बाध्य छन् ।

यस्तै बैठकले महालेखा परीक्षकको प्रतिवेदन २०७७ लाई प्रदेशसभामा पेश गर्न स्वीकृति दिएको मन्त्री आङ्बोले जानकारी दिए ।

बिहीबारको मन्त्रिपरिषद् बैठकले सामाजिक विकास मन्त्रालयको प्रस्ताव अनुसार मस्जिद व्यवस्थापन तथा सञ्चालन कार्यविधि २०७७ स्वीकृत गरेको छ भने सामााजिक संस्था ऐन २०७५ संशोधनका लागि स्वीकृति प्रदान गर्ने निर्णय पनि गरेको छ । यस्तै पर्यटन विकास सम्वन्धी नियमावली २०७७ र प्रदेश वातावरण सम्वन्धी नियमावली २०७७ समेत बैठकले स्वीकृत गर्ने निर्णय गरेको छ । नियमावली स्वीकृतिसँगै प्रदेशमै आइईई र इआईए प्रतिवेदन तयार पार्ने बाटो खुलेको छ । बैठकले पर्यटन र वनसँग सम्वन्धित कार्यक्रमहरु सञ्चालनका लागि आवश्यक कार्यविधि स्वीकृत गर्ने निर्णय गरेको छ । यो निर्णयसँगै यस अघि कार्यान्वयन हुन नसकेको बजेट खर्च गर्ने बाटो खुलेको मन्त्री आङ्बोले बताए ।

प्रदेश सरकारले अघिल्लो आर्थिक वर्षमा भएका कामको बाँकी भुक्तानी दिने र स्रोत मिलान गर्ने निर्णय पनि गरेको छ । आर्थिक वर्षको अन्तिममा समय चापका कारण बाँकी रहेका योजनाहरुको भुक्तानी गर्ने बाटो खुलेको मन्त्री आङ्बोले जानकारी दिए । उनले प्रदेश सरकारले चालु आर्थिक वर्षका कार्यक्रमहरु कार्यान्वयन प्रकृया सुरु गर्ने निर्णयसमेत गरेको छ ।

मन्त्रिपरिषद्को बैठकले घरेलू विकास समितिमा कार्यरत सबै करार सेवाका कर्मचारीहरुको समयावधी एक वर्ष थप गर्ने निर्णय गरेको छ । उद्योग पर्यटन, वन तथा वातावरण मन्त्रालयको प्रस्ताव अनुसार संघीय सरकारले घरेलु विकास समिति हस्तान्तरण गर्दा आएका सबै अस्थायी करार सेवाका कर्मचारीहरुको म्याद एक वर्ष थप गर्ने निर्णय भएको हो ।

प्रदेशसभाको जारी बजेट अधिवेशन भने भोलि साउन ९ गते शुक्रबार राति १२ बाट अन्त्य हुने भएको छ । प्रदेश सरकारको बिहीबारको बैठकले जारी छैठौं तथा बजेट अधिवेशन अन्त्य गर्न प्रदेश प्रमुख समक्ष सिफारिस गर्ने निर्णय गरेको हो ।

साभार: सोलुखुम्बुसमचार

तपाइको प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *

हामी तपाईंको इमेल अरू कसैसँग साझा गर्दैनौं।

ट्रेन्डिङ