Gaule News
बुधबार, अशोज ७, २०७७
Gaule Entertainment Media Group Pvt.Ltd.

संगीतकार डी. आर. अटु, उनका सिर्जना र जीवनसङ्‌घर्ष

'चरी भए भुरुरु' गीतका संगीतकार डी. आर. अटु...

  • admin
  • आइतवार, जेष्ठ २५, २०७७
संगीतकार डी. आर. अटु, उनका सिर्जना र जीवनसङ्‌घर्ष
सन्च खालिङ राई

सामान्यतया गीत हामी जो कोहीले पनि सुन्छौँ त्यो चाहे खुसीको पल बाड्न साथीहरूसँग होस या दु:ख भुल्न एकान्तमा एक्लै होस् । यसले के प्रष्ट पार्छ भने गीत संगीत एउटा मानव जातिको अभिन्न अङ्ग भनौँ या शक्तिको स्रोत जसले हाम्रो जीवनलाई जिवन्त बनाई राखेको हुन्छ। हामीलाई सुन्दा जति आनद र सजिलो लाग्छ तर यो सृजना गर्न सर्जकलाई भने सजिलो छैन। सृजना गर्न कडा साधना मात्र भएर हुदैन गीत संगीतभित्र पुरै जीवन  डुब्नै पर्छ अनि मात्र बल्ल राम्रो सृजना गर्न सक्छ एउटा सर्जकले। यस्ता राम्रो सृजना गर्न सक्ने सर्जकहरू अत्यान्तै कम मात्र पाइन्छ त्यसभित्रको एक सफल र कुशल सर्जक हुन् डी आर अटु। सफल गीतकार तथा संगीतकार अटुले अनगिन्ती चर्चित गीतहरू बजारमा ल्याएर सवैको मन जितेका छन्। त्यसमध्ये ‘दिक्तेल बजार’, ‘गुडि जाने रेल’, ‘घामछायाँ’, ‘झुम्के माया’, ‘नौलाई सुन्ना नब्बे’, ‘माथि है पर्‍यो’ , ‘दिक्तेल बजार २’, ‘हिडिजाने बटुवा’, ‘माथिमाथि हिमाली भेगमा’  जस्ता चर्चित गीतहरू अहिले पनि श्रोताहरूको कानमा सदाबहार रूपमा गुन्जिरहन्छन् । यी बाहेक अनगिती चर्चित गीतहरू बजारमा छन् । जसले गर्दा उनलाई यस क्षेत्रले नजिक बनाई रहेको छ। अत्यान्तै मिलनसार सबैका प्रिय अटुले नेपालका सबै चर्चित गायक/गायिकाहरूसँग काम मात्र गरेनन् सबैको उत्तिकै प्यारा पनि छन् ।

 

लामो समयदेखि यस क्षेत्रमा गीत-संगीत र सृजनामा नै  जीवन बेथित गर्दै आएका अटु नेपालको पूर्वी पहाडी जिल्ला खोटाङमा जन्मिएका हुन्। सबैको दुख पीडालाई सृजनामार्फत् व्यक्त गर्न सक्ने एक कुशल सर्जक अटुका आफ्नै जीवनमा पनि सानैदेखि अनगिन्ती उत्तारचढावले पछ्याई रहेका छन् । सानै हुदा आमाको मायाबाट टाढा भएका उनले थुप्रै चुनौतिहरू पार गर्दै यहासम्म आइपुगेका हुन् । जब आमाको माया ममतालाई राम्रोसँग महसुस गर्न सक्ने मात्र के हुन पाएका थिए कलिलो भाइ बहिनीहरूको अभिभावक पनि बन्ने जिम्मेवारी आफ्नै काधमा छाडेर आमाको स्वर्गबास भयो त्यसपछि उनमा झन  उत्तारचढाब बढ्दै गयो। एकातिर आमाबाट टाढा हुनुको पीडा अर्कोतिर भाइबहिनीको भविष्य कसरी उज्ज्वल बनाउने कुराले बढी चिन्तित हुन्थे। उनी हरेक दु:ख पीडालाई शब्दमाभन्दा सृजनामार्फत् व्यक्त गर्दथे। सानैदेखि बनपाखामा बासुरीको धुन बजाउदै हुर्केका अटुको यस क्षेत्रमा यति धेरै सफलता पाउछु, सबैको मन जित्छु त्यो चाहिँ सोचेका पनि थिएनन् होला। जब उनी काठमाडौं आउने तरखर हुँदै थियो त्यो बेला उनी गाउँमै थिए एक दिन बिहानै रेडियोमा एकोहोरो अनौठो धुनमात्र बजिरहे । त्यो दिन थियो २०५८ साल जेठ २० गतेको दिन। त्यसको केही समय पछि थाहा भयो करिब पौने तीन करोड नेपाली जनताहरूलाई टुहुरो पारेर तत्कालीन राजा बीरेन्द्रको बंश नास भएको रहेछ। पुरै देश शोकमा डुब्यो।  एकातिर आफ्नै आमा गुमाएको पीडा त अर्कोतिर देश नै टुहुरो भएको पीडाले झन मन छियाछिया भयो। त्यस्तै भारी मन लिएर ५८ सालतिर एउटा बासुरी बोकेर आफ्नो सुन्दर भविष्यको सपना बुन्दै काठमाडौं भित्रिए। यो बिरानो सहरमा गाउँ जस्तो केही पनि थिएन तैपनि जिउनको लागि सङ्‌घर्ष त गर्नै पर्‍यो समस्याबाट भाग्ने ठाउँ पनि त थिएन। त्यसको केही समयपछि अटु पाटन क्याम्पसमा भर्ना भए। भर्ना भएको केही समयपछि नै क्याम्पसको आयोजनामा एउटा ठूलो कार्यक्रम भयो । त्यसबेला स्वर्गीय राजा बीरेन्द्रको परिवारको सम्झनामा स्वार्गीय राजपरिवारप्रति समर्पित ‘देश रोयो’ कविता रचना गरी वाचन गर्ने अवसर जुर्‍यो यो कविताले उनलाई प्रथम त बनायो नै उनको पहिचान नै फेरियो। उनी एका एक चर्चित भए। सबैको प्रिय बने। सबैको माया पाएका उनलाई त्यो माया नै यस क्षेत्रमा लाग्नु पर्छ भन्ने प्रेरणाको स्रोत पनि हुन सक्छ।  त्यसपछिका लगातार तीन वर्ष क्याम्पसमा कविता प्रतियोगितामा प्रथम भए। साहित्यिक क्षेत्रको त्यो निरन्तर तीन वर्षको सफलतासँगै उनले फेरि अर्को साहित्यिक सफलता हासिल गरे । त्यो थियो त्रिचन्द्र कलेजमा आयोजना भएको उपत्यकाव्यापी प्रगतिशील राष्ट्रिय कविता प्रतियोगितामा पनि प्रथम। यसरी उनको सफलताले शिखर चुम्दै गयो उनलाई झन यस क्षेत्रमा केही गर्नुपर्छ भन्ने उर्जा मिल्दै गयो र यस क्षेत्रमा कमाएको नाम र सबैको मायालाई यथावत राख्न अनेकौ समस्या झेल्दै सृजनातिर लागे। आफ्नो पढाइसँगै फुर्सदको समयमा कहिले रेकर्डिङ स्टुडियोतिर त कहिले सृजनामा व्यस्त अटुले काठमाडौंमा पनि असीमित समस्या झेल्नु परेको थियो। राम्रो बासुरी बजाउने कला भएका उनले रोधिघरमा बासुरी बजाएर नै आफ्नो खर्च जम्मा गर्थे साथमा भाइबहिनीहरूको खर्च पनि धान्थे। भाइबहिनीहरूको पढाइसँगै केही कुरामा पनि अभाब हुन दिएनन् । उनी बासुरिका अलावा मादल, गिटार, हार्मोनियम पनि राम्रो बजाउन सक्ने खुबी राख्छन्। कसैको कुभलो नचाहने, सबैलाई केही न केही नयाँ कुरा गर्न उर्जा दिने अटुले जहिले पनि अरु कसैलाई दुखी नबनाउनु, मर्दा सबैले इज्जत गरुन्, पैसा नकमाए पनि धेरै नाम कमाउनु भन्छन्। आफूसँगै भाइबहिनीहरूको अभिभावक बनेर भाइबहिनीहरूलाई आफ्नो खुट्टामा उभिन सक्ने मात्र बनाएनन्, उनी गीत संगीतमा लाग्ने र यस क्षेत्रमा भविष्य देख्नेहरूका लागि पनि अभिभावक बने।

 

जस्तो सुकै परिस्थितिलाई पनि वास्ता नगरी लामो समय यस क्षेत्रमा निरन्तर जीवन ब्यथित गरेका अटु करिब आठ वर्षअगाडि कर्मभूमि कोरिया बनाएर सात समुन्द्रपारि पुगे। तन सात समुद्रपारि तर मन भने कहिल्यै त्यहा अडिन सकेन। अटुका मन सधै वारि नै गीत-संगीत र नेपाली माटोमा नै रहिरह्यो। त्यहीबाट नै नेपाल र नेपाली गीत संगीतलाई माया गरिरहे सृजना गरिरहे, कहिल्यै उनले आफ्नो माटो र आफ्नो क्षेत्रलाई माया मारेनन्। झन उनको सृजनामा निखारता आउदै गयो। आफ्नो र लाखौँ युवाहरूको भोगाइ र नेपालीहरूको बिवशतालाई सृनजामा व्यक्त गर्न थाले। अहिलेको जमानामा प्रविधिको गलत प्रयोग र फाइदा लिदै आफ्नो भिडियो ट्रेन्डिङमा पार्न हरेक हत्कन्डा गर्छन्। समाजमा अपाच्य र अश्लील शब्दको प्रयोगदेखि आफ्नो सस्कृतिमाथि नै प्रहार गर्छन् तर उनले यस्ता हर्कत कहिल्यै गरेनन् । यो नै एउटा सफल र कुशल सर्जकको वास्तविक पहिचान हो जुन कुरा अटुले साबित गरे। संगीत र आफ्नो व्यस्त जीवनको पाँच वर्षको बसाइलाई केही समयको लागि थाती राख्दै करिब तीन वर्षअगाडि फेरि जन्मभूमि फर्केर आफ्नो जीवनलाई सार्थक बनाउन उनी विवाह बन्धनमा बाधिए तर फेरि बाध्यता उहीँ सातसमुद्रपारि पुग्नुपर्ने। विवाह बन्धनमा बाधिएको केही समयमै आफ्नो अर्धाङ्गिनीलाई छाडेर जानु परेको बिवशता र  काठमाडौं अन्तर्राष्ट्रिय बिमानस्थलको त्यो दृस्य अनि आफ्नो लागि परिवारले बगाएको त्यो बलिन्द्र आसुका धारा जुन कुराले उनलाई भारी मात्र भएन  त्यहा पुगेर पनि कैयौ रात निदाउन दिएन। यस्तै नियती भोगेका लाखौँ युवाहरूको अवस्था पनि उस्तै अनि उनले त्यो पीडालाई कापी र कलमको माध्यमबाट सृजनामार्फत मीठो गीतमा व्यक्त गरे ‘चरी भए भुरुरु’ जुन गीतले आज सबैको मन मात्र छोएन धेरैको रात अनिदो नै भयो। आफैले शब्द संगीत गरेका यस गीतलाई सबैले अत्यान्तै रुचाएको त थियो नै यो बेलाको लकडाउनको समयमा यो गीतले झन सार्थकता पायो र यसलाई माया गर्नेहरू दिन दुई गुना र रात चौ गुना बढ्दैछ।  बबिना किरातीको पहिलो एल्बममा समाबेश यस गीतमा स्वर पनि बबिनाकै रहेको छ। बबिना किराती यस क्षेत्रमा एउटा छुट्टै पहिचान बनाएर उदाउदै गरेको एक बहुप्रतिभाशाली कलाकार हुन्। विशेष गरी पप/रक गीतलाई आफ्नै शैलीमा न्याय गर्न सक्ने उनको खुबीलाई सबै श्रोता-दर्शकहरूले रुचाएका छन्। आफ्नो छुट्टै पहिचान स्थापित गरेका बबिनाले यस गीतमार्फत आफ्नो चर्चालाई थप उचाइमा पुर्‍याउदै अर्को जादु नै गरिन्। कहिल्यै पूर्वेली गीतमा नसुनिएका बबिना यस गीतमा भने आफ्नै शैलीमा मारुनी भाकामा पूर्वेली गीतलाई न्यो मात्र गरिनन् अभिनयमा समेत आफुलाई अब्बल रहेको साबित गरिन्। अहिले दर्शक-श्रोताहरूले उनको गायकीसँगै अभिनय पनि खोज्न थालेका छन्। जस्तो गीतलाई पनि आफ्नै शैलीमा गाएर श्रोताहरूको मन जित्न सक्ने बहुप्रतिभाशाली कलाकार बबिना किरातीको व्यस्तता अहिले ह्वात्तै बढेको छ। प्राय: स्वदेश तथा बिदेशतिर स्टेज कार्यक्रमहरू र स्टुडियोतिर व्यस्त हुने बबिनाले फेरि यस गीतको सफलतापछि पुन: ‘चरी भए भुरुरु भाग-२’ छिट्टै बजारमा ल्याउदैछिन्। ‘चरी भए भुरुरु’ को सम्पूर्ण युनिटले नै  भाग-२ मा पनि काम गर्नेछन् भने डी.आर. अटुकै शब्द संगीत रहनेछ। अहिले जारी लकडाउन खुल्ने बित्तिकै यस गीतलाई श्रब्य-दृश्यसहित बजारमा ल्याउने तयारी भैरहेको छ। यस गीतलाई बजारमा ल्याउन तयारीमा रहेका सम्पूर्ण टिम र बबिना किरातीलाई पहिलो ‘चरी भए भुरुरु’ जस्तै आगामी ”चरी भए भुरुरु भाग-२’ मा पनि सफलता मिलोस् र यो गीत उनको सांगीतिक यात्रालाई अझ शिखरमा पुर्‍याउन सफल रहोस् लाखौँ लाख सांगीतिक शुभकामना।

पङ्तिकार सन्च खालिङ राईलाई सामाजिक संजालमा यहाँ क्लिक गर्नहोस् । 

 

तपाइको प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *

हामी तपाईंको इमेल अरू कसैसँग साझा गर्दैनौं।

ट्रेन्डिङ