Gaule News
शुक्रबार, अशोज २, २०७७
Gaule Entertainment Media Group Pvt.Ltd.

‘एक अनमोल हिरा’ पर्खि राई

अन्तर्राष्ट्रिय कराते रेफ्रि तथा प्रशिक्षक पर्खि राई...

  • admin
  • शनिबार, जेष्ठ २४, २०७७
‘एक अनमोल हिरा’ पर्खि  राई

करातेका अन्तर्राष्ट्रिय रेफ्रि तथा प्रशिक्षक  पर्खि खालिङ राईका सफलता र सफलताका पछाडि जोडिएका  तर नभनिएका र नलेखिएका सङ्घर्षको कथा पूर्ण राईले सगरमाथा अनलाइनमा लेखेका हुन् र यसलाई  केही  शुद्धाशुद्धीबाहेक जस्ताको तस्तै प्रस्तुत गरिएको छ । 

सर्वोच्च शिखर सगरमाथाको एक सुन्दर बगैचा हो सोलुखुम्बु । उत्तरतिर हिमशृङ्खलाहरुको बादशाह मानिने विश्वको छानो सगरमाथासँगै दन्तलहर देखिने हिमशृङ्खलाहरु, पहाड, पर्वत हुँदै दक्षिणतिर बग्ने दुधकोशी नदी अनि हरियाली डाँडाकाँडासँगै ठूला फाँटहरुको समिश्रण हो सोलुखुम्बु । सोलुखुम्बुका अनगिन्ती गाउँ वस्तिहरु मध्येको एउटा सुन्दर गाउँ हो राप्छा । जो अहिले माप्य दुधकोशी गाउँपालिका वडा नं. २ मा पर्दछ । राप्छा आँफैमा खालिङ राईहरुको ऐतिहासिक थातथलो वा खालिङ राजधानी मात्र नभएर प्राकृतिक, साँस्कृतिक तथा धार्मिक हिसाबले एक प्रशिद्ध भूमि मानिन्छ । त्यही पवित्र भूमिमा जन्मिएका एक प्रेरणादायी ब्यक्ति हुन् पर्खि खालिङ राई । जसको इतिहाससँग जोडिएकी ती महान् आमा र पवित्र भूमि राप्छालाई कोटीकोटी प्रणाम । इतिहासले कुनै दिन पर्खि राईको नाम स्वर्ण अक्षरले लेख्नेछ । जसको इतिहास खोज्दै र पछ्याउदै संसारभरबाट त्यो भूमिको माटोमा पाइला राख्नुअघि, त्यही पवित्र भूमि राप्छालाई ढोगुन् र त्यहाँको मट्टिलाई सिरमा चढाउने स्वर्णिम समय आउन सकोस् । मेरो अथक कामना छ ।

वि. सं. २०३२ सालमा पिता गहनबहादुर राई र माता जातीमाया राईको माइलो सन्तानको रुपमा निम्न परिवारमा जन्मिएका हुन् पर्खि राई । कम बोल्ने, मृदुभाषी, सरल र समान व्यवहार गर्ने, झट्ट हेर्दा साधारण जीवनशैली देखिने पर्खि राई असाधारण क्षमताका एक नक्षत्र हुन् । सानैबाट आगोका लप्कासँग खेल्दै हुर्किएका उनी यथार्थमा पनि आगोसँग खेल्न डराउदैन थिए । जन्मिएकोे डेढ वर्षमा बाबा बितेर टुहुरो मात्र भएनन् । उनको बाबाको पसिनाले बनेको घरसम्म पनि दैवले नै खोसेर लगिदियोे । बाबाको सम्झनाको रुपमा आमाले रुदै र बिलौना गर्दै बाबाको मृत शरीरलाई माटो दिनुभएको बाहेक केही सम्झनाहरु बाँकी रहेन भने अर्का अभागी कान्छा भाइ त आमाको गर्भमै भ्रुणको रुपमा विकसित हुँदै थिए ।

अनेकौ जिम्मेवारीले जीवन व्यस्त छ तर ती अप्ठ्यारा  घुम्तीहरु सम्झदा मनभरी भक्कानो फुटेर आउछ । गरिवी र अभावले घेरिएको जन्जिरबाट बाहिर निस्किने कुनै उपाय थिएन । दुःखको पहाड बज्रिएको बेला भरोसा गर्ने भगवानसँग हो, त्यही भगवान पनि आफ्नो नभएपछि कसको भर पर्नु छ र जिन्दगीमा । यदि संसारमा भगवान छन् भने तिनै मेरी आमा र बाबा हुन, पर्खि राई भन्छन् । क्रमश: दिन, हप्ता, महिना हुदै वर्षहरु अभाव र टुहुरोपनमा बित्दै गए निरन्तर । त्यो बालापन कसैको सहारामा बल्ल हिड्न र जमिनलाई छाम्न सक्ने अवस्थाबाट उठ्दै थियो । पर्खि राई भने अबोधपन मै अन्जान अनगिन्ती चुनौती र जिम्मेवारीहरुले थिचिन थाले । पढ्ने मान्छे ठुलो मान्छे हुन्छ रे भन्ने उनले पनि सुन्ने गर्दथे । ठुलो मान्छे बन्नका लागि उनका साथीहरु खरी र कालोपाटी बोकेर स्कुल जान्थे । घरमा ओझिलो बाबाको काखमा खेल्दथे, रमाउदथे । तर बाबाको स्नेह, स्पर्ष र अबिभावकत्व सदाका लागि गुमाएका पर्खिले टाढैबाट साथीहरुलाई हेरेर मन बुझाउथे त कहिले लुकेर धोको पुग्नेगरी रोइदिन्थे र मन शान्त बनाउथे ।

आखिर एउटा टुहुरोसँग बाड्न मिल्ने त्यहि आशु त थियो । सँगैका साथीहरु ताते गर्दै स्कुल जान थाले तर उनी भने सम्पत्तिको नाममा भएको ३ वटा भेडाहरु लिएर भेडीगोठतिर लागे भेडीगोठालो बन्न । त्यही भेडीगोठालो बन्न पनि कहाँ सजिलो थियो र ? याम अनुसार कहिले दुधकोशीको तिरैतिर, कहिले राप्छा पातलको घना जङ्गल त कहिले सिद्धिलेक (दुधकुण्ड हिमाल) आसपास सबैतिर पुग्नु पर्दथ्यो । त्यो सिद्धिलेकको कठ्याङ्ग्रिदोे चिसोले भेडीगोठालोको टुहुरोपना र अभाव किन बुझ्थ्यो र ? जो खाली पाइताला बिरहका बासुरी बजाउदै भेडी चराउथे । भेडीहरु चर्दै चर्दै जहाँ पुग्थे त्यही कहिले चिसो ओडार, ठुलो रुखको फेद वा कहिले खुल्ला आकाश नै उनको घर हुन्थ्यो । भोक प्यास के छ भनेर सोध्ने त को हुन्थे र ?

एउटा टुहुरोलाई त्यो सिद्घीलेकमा, जहाँ मान्छेहरुको चहलपहल नै हुन्न । क्रमश: वर्षहरु बित्दै गए, भेडीहरु पनि थपिदै गए । तर आफ्नो साथीहरुले स्कुल जान पाएको सम्झेर आफै भकानिन्थे उनी । त्यो बिवशता र बाध्यताको जुम्रे लुकुनी लथालिङ्ग छोडेर स्कुल जान पाए हुन्थ्यो भनेर एक्लै कल्पिन्थे । त्यही सिलसिलामा पर्खिलाई पनि स्कुल भर्ना गर्नुपर्छ भनेर छर–छिमेकमा कुरा चलिरहेको उनले थाहा पाए । भाग्यवश छिमेकीहरुको कुरा र पर्खिको बाध्यतालाई नजिकबाट बुझ्ने एकजना शिक्षकको आग्रहमा उनी स्कुल भर्ना भए । नयाँ विद्यार्थीको रुपमा दैनिक स्कुल जान सम्भव नभए पनि सिर्फ स्कुल भर्ना हुदाको खुशीलाई अझैसम्म पर्खि राईले सम्हालेर राखेका रहेछन् । स्कुल भर्ना हुने ईच्छा त पूरा भयो तर उहि बाध्यता र जिम्मेवारी !

गाउँ आसपासमा भेडीगोठ हुदा भ्याएसम्म कहिलेकाही स्कुल जान्थे । तर राप्छा पातल हुदै सिद्धिलेक गएपछि जतनले राखेको नयाँ किताब भेडीहरु चराउदै आफै पढ्थे । खुब मेहेनत गरेर पढ्थे अनि परिक्षा दिन मात्र जान्थे । बिद्यालयमा आंशिक उपस्थिति जनाउन पाएका उनी जहिले पनि प्रथम वा द्वितीय भएरै छोड्दथे । त्यो स्थान ग्रहण गरी छोड्नुको ठूलो आकर्षण चाहि पुरस्कारस्वरुप पाइने आधा दर्जन ज्योती कापी र फाउन्टेन पेन हो रे, भन्छन् उनी । हुने बिरुवाको चिल्लो पात भने जस्तै त्यो बिगतले पनि पर्खि राईको मेहेनत र लगावलाई जनाउदछ । भेडीगोठमै बसेर उनले कक्षा ५ सम्मको पढाइ त पुरा गरे । त्यसपछिको पढाइका लागि अर्कै गाउँको स्कुल (खास्ताप) जानु पर्दथ्यो । जहाँ स्कुल भर्ना भएर परिक्षार्थी मात्र हुन पाउने छुट थिएन उनलाई । त्यो परिस्थितिले बाँकी पढाइ स्थगित हुने सङ्केत देखा पर्‍यो, तर उनले आमालाई अनुरोध गर्न भने बाँकी राखेनन् । अफसोच, आमाले पनि स्वीकृती दिनु भएन । बाँकी पढाइमा पूर्णबिराम लागेको झोकमा निराश भएर भेडीगोठ फर्किएका पर्खिले जतनले राखेका किताब-झोलाहरु सबै झाडीतिर फालिदिए । अब एकोहोरो भेडीगोठालो हुनु पर्ने भएपछि किन मालिक नबन्ने भन्ने सपना बुन्न थाले उनले ।

ग्रामीण परिवेश भित्रको अनगिन्ती अभावहरु झेल्दै हुर्किदै गरेका पर्खि राई भेडिगोठमा काका (ऐनस्लाल्) सँग बस्ने गर्दथे । ऐनस्लाल्‌सँग ठूलोे सङ्ख्यामा भेडाहरु थिए । त्यो समयमा भेडीगोठ भएको मान्छे निक्कै धनीमानी मानिन्थ्यो र प्रतिष्ठित ठानिन्थ्यो । उनको मेहेनत र लगनशिलता देखेर ऐनस्लाल्‌ले हरेक वर्ष पर्खिले छानेको एउटा एउटा भेडा दिने गर्दथ्यो । क्रमश: आफ्नै स्वामित्वका भेडीहरु थपिदै गएको कतिपय छिमेकीहरुलाई मन पर्दैनथ्यो । त्यही रिस पोख्नका लागि बिना कारण छिमेकीहरुले पिट्ने र किताब झोला फालिदिने हर्कतहरु उनले पटक पटक झेल्नु परेको त्यो टुहुरो बिगत सम्झन्छन् । तर उनले सिर्फ आफ्नो काम र जिम्मेवारीलाई निभाइरहे निरन्तर।

कामको अलावा मुरली, बासुरी र बच्चै बाजा बजाउन निक्कै माहिर थिए उनी । मौका पर्दा कोलेदु, दुधकुण्डो र बोदु बजारमा आयोसा (मौलिक दोहोरी) गाउदै सिङ्गै रात कटाएको स्मरणहरु पनि ताजै छन उनीसँग । ती साथी-सङ्गीहरु सँगको रमाइलो भेटघाट आखिर क्षणिक थियो, भोली फेरि भेडीगोठ फर्किनु छदै थियो । त्यो समयमा अरुको पनि भेडाहरु हुन्थे, तर उनी नाइके बन्न चाहन्थे । ताकी नाइकेको कुरा सबैले मान्नु, सुन्नु पर्ने हुन्थ्यो । त्यो नाइके हुनका लागि सबैभन्दा धेरै भेडा सोही नाइकेको हुनुपर्ने नियम थियो । जुन पर्खिको हकमा लामो समय कुर्नुपर्ने पक्का थियो । दुधकोशी आसपासदेखि सिद्घीलेक सम्मको सबै घुम्तिहरु छिचोलेका पर्खिले, कहिले समयमा घरबाट सामल नआइपुगेर ३-४ दिनसम्म भोकै बिताएका अनिदो रातहरु छन् ।

सलाईको अभावमा झुलो-चक्मक पनि वर्षात र झरीले ओसिएको बेला सहेका भोक र चिसो सिरेटोहरु भुलेका छैनन् अनि कहिले आफुभन्दा ठुलाहरुले सुत्न नदिएर भेडाहरुको हुल भित्र सिङ्गै आकाश ओढेर सुत्नु परेको बिगतलाई सम्झदा अझै उनी भावुक हुन्छन् । एउटा टुहुरोलाई दुखेको ब्यथा त्यहाको डाँडाकाडाले कसरी सुनोस् ? उनको अभाव र प्यासलाई भेडीहरुले कसरी बुझुग् ? साच्चै त्यो जुम्रे लुकुनीलाई सिद्घीलेकले कसरी पत्याओस् ? अनि कसरी पत्याओस् उनको दुःखको सुसेली र मुरलीको धुन त्यो निर्मम झरीबादलले ? नदेखिदो भविष्यको आशाले बिगतलाई पर्गेल्न निक्कै गाह्रो थियो पर्खिलाई । त्यसै सिलसिलामा एकदिन उनी घर फर्किए । पढ्न नपाएर त्यसै मन बरालिएको बेला उनले भेडीगोठ हैन सुटुक्क राजाधानी काठमाडौंतिर बेग हाने । काठमाडौंमा जेठा दाई (जसे राई) बस्नु हुन्थ्यो । उहाँलाई अनुरोध गरेर दाइसँगै भरियाको रुपमा ट्रेकिङ गर्न थालेका पर्खिलाई पुन: गाउँ फर्किएर भेडीगोठ सम्हाल्नु पर्ने तारान्तार समाचार आउन थाल्योे । जन्म दिने आमाको समाचारलाई बेवास्ता गर्न नैतिकताले दिदैनथ्यो भने दाइले पनि गाउँ जान भनेपछि अनुत्तरित पर्खि फेरि गाउँ फर्किए र भेडीगोठतर्फ लागे । कुनैबेला नाइके हुने सपना देखेका पर्खिले संयोगवश एक जना गाउँले काकाले २५ वटा भेडाहरु बेच्ने कुरा सुनिहाले । ती भेडाहरु किनेको खण्डमा पहिला आफुसँग भएको १०० वटा भेडाहरुमा थप्दा सहजै नाइके हुने निश्चित देखे । यस्तै खपतका लागि भनेर समय–समयमा भेडाहरुको उन बेचेर बचेँको पैसा जतनले राख्ने गरेका थिए । सोचे, अब यो साचेर राखेको पैसाले २५ वटा भेडाहरु थप्छु र नाइके बन्छु, आदी इत्यादी।

अफसोच, उनलाई हेय भावले हेर्ने तिनै चिनजानकै मान्छेको उल्टो षड्यन्त्रले गर्दा ति भेडाहरु किन्न नपाउने भएपछि नाइके हुने सपनामा तुषारापात छायो । अब पर्खिको मन नराम्रो सँग भाचियो । आफ्नै अबिभावक सरहका मान्छेले गरेको फोहोरी खेल देखेर सदाका लागि भेडीगोठलाई त्यागीदिए र घुमराडी बुन्नका लागि आमालाई एक भारी ऊनसँग एउटा टुहुरो भेडीको पाठोलाई काख च्यापेर घर फर्किए । घरबाट एकजना मगर थरको आमाको सहयोगीलाई फकाएर भेडीगोठ पठाईदिए र उनी फेरी काठमाण्डौ लागे । निरन्तर १२ वर्ष भेडाहरुलाई साथी बनाएर झरी-बादल सँग बन जङ्गल छिचोलिरहेको एउटा गाउँले ठिटो सँग काठमाडौंमा के गर्ने भन्ने खास उपाय र योजनाहरु केही थिएनन् । ट्रेकिङकै सिलसिलामा भेटिएका कतिपय साथीहरु आफु जस्तै भरिया गर्दै एसएलसी को तयारी गरेको थाहा पाउदा मन बेचैनी हुन्थ्यो, जुन अवसरबाट उनी छुटिरहेका थिए । सोच्थे, असम्भव त रहेनछ तर त्यो भन्दा पहिलो कहाँ जाने र के गर्ने भन्ने कुनै निश्चित थिएन उनको । कुनै कामको लय र टुङ्गो नहुँदै जिरीबाट गाउँ जाने सिलसिलामा सिद्घि राई (खास्ताप) सँग भेट भयो ।

पर्खिका लागि बाटोमा भेटिएका एक अबिभावक सिद्घि राई आँफै कानुनका विद्यार्थी हुन् । जसलाई पर्खिले आफु सानैमा टुहुरो हुनु, पढाइ छुट्नु आदि बृत्तान्त सुनाई हालेछन् । ग्रामीण परिवेश भोगिसकेका सिद्घि राईलाई पर्खिको कहानीले ज्यादै भावुक बनायो । तत्काल उनले गाउँ पुग्ने बित्तिकै बिद्यालय भर्ना हुनका लागि हिमालय मा. बि. (खास्ताप) आउन सल्लाह दिए । पढाइको तिर्खाले ब्याकुल बनिरहेको पर्खिलाई सिद्घि राईको त्यो सल्लाहले मन मात्र हैन बोकिरहेको ढाकर पनि हलुका भएको भान भयो । सोही अनुरुप सिद्धि राईकै भन्सुनमा बिना सर्टिफिकेट कक्षा ६ मा भर्ना हुन पाएका थिए । भेडीगोठमा स्वअध्ययन गरेर कक्षा ५ पास गरिसकेको लगातार ५ वर्षपछि फेरि विद्यार्थी जीवनमा फर्किनुको श्रेय र आजसम्मको पर्खि राई सावित हुनुमा गुरु सिद्धि राईलाई पटक-पटक सम्झिन्छन् उनी । कर्म क्षेत्रको जिम्मेवारी जस्तोसुकै चुनौतीपूर्ण होस् या कुनै उत्स, तर कतिपय ब्यक्ति र नामहरु अझै प्रिय लाग्छन् र लागिरहनेछ भन्न भुल्दैनन् उनी । हिमालय मा. बि. मा ३-४ महिनाको पढाइ अनुभव बटुल्दै गर्दा दाइले कागजपत्रहरुसँग काठमाडौं आउन भनेपछि फेरि निरन्तरतामा क्रमभङ्ग भयो । उनी काठमाडौं पुगे लगत्तै देशमा २०४६ सालको जनआन्दोलन चर्किन थाल्यो । देशभरि कर्फ्यु जारी भएपछि विद्यालय फर्किने अवस्था पनि रहेन । उनी सम्झन्छन्, त्यो जनआन्दोलन देश बिकास, परिवर्तन र प्रजातन्त्र प्राप्तिका लागि थियो भन्ने अन्दाजसम्म पाए । तर त्यसबेला रेडियो नेपाल बाहेक पत्रपत्रिका वा टेलिभिजन सबैको पहुँचमा हुदैनथ्यो । त्यही समयमा पर्खिका भाइ (मानबीर राई) शहिद शुक्रराज शास्त्री मा. बि. बागबजारका शिक्षक पिताम्बर खनालसँग ट्युसन पढ्दथे । दिनभरि कुनै काम हुन्नथ्यो । आफ्नो पढाइको कुनै टुङ्गो थिएन । अब समय बिताउनकै लागि भएपनि बिहान बेलुकी भाइलाई पछ्याउदै जान्थे र छेउमा बसेर ध्यानपूर्वक हेर्थे, सुन्थे । स्कुल भर्नासम्म नभएको त्यो धैर्यवान, लगनशिल केटोले बारम्बार ट्युसन कक्षामा ध्यानपूर्वक पढेको, सुनेको देखेर नेपाली शिक्षक पिताम्बर खनालले पर्खिको बारेमा जानकारी लिए ।

कसैले सोध्यो भने आफ्नो रामकहानी सुनाई हाल्न माहिर पर्खिले पनि सम्पूर्ण कुराहरु सरलाई सुनाउन भ्याइहालेछन् । उनको इमान्दारिता र पढाइको भोक देखेर भाइसँगै पढ्न आउने सल्लाह मात्र दिएनन् बिना सर्टिफिकेट कक्षा ८ मा भर्ना गरिदिने र दाइलाई सम्झाई दिने जिम्मा पनि पिताम्बर सरले लिए । एक अन्जान ब्यक्ति पिताम्बर खनाल, जो पर्खि राईको जीवनमा अर्को साक्षात भगवानको रुपमा प्रकट भए र ठुलो काँध थापिदिए । गुरुको त्यो सहयोगलाई अठोटमा बदले र हरेक परिक्षामा प्रथम भएरै छोड्दथे । एसएलसी पश्चात ठमेलको पिपुल्स क्याम्पसबाट पढाइ सकेसँगै शिक्षण पेशा सुरुवात गरेका पर्खिले गोदावरी र चरिकोटमा ३ वर्ष समय बिताए । तर शिक्षण पेशाको सिमित कमाइले परिवार धान्न मुस्किल भएपछि पुःन ट्रेकिङ ब्यवसायमा फर्किए । बेलाबेलामा ट्रेकिङ जान्थे तर सोचे जस्तो काम गर्ने अनुकुलता नभएपछि अन्तत, धन कमाउन खाडी मुलुक जाने योजनानुरुप बनाएको पासपोर्ट एक साथीको सहयोगमा कर्मभूमि अमेरीकातिर मोडियो । सन् २००२ मा अमेरिका पुगेका पर्खि राईका लागि अझ बढी सङ्घर्षका दिनहरु शुरु भए । त्यहा उनले स्टोरमा काम त शुरु गरे तर नयाँ ठाउँ, नयाँ परिवेश र प्रविधी उन्मुख देशमा हरेक कामहरु सम्हाल्न सजिलो थिएन । एक अन्जान समाज र परिधीभित्र निशन्देह मेहेनत गर्नुको अर्को बिकल्प छदै थिएन । काम र दामको परिमाण जस्तो होस् तर दुनियामा मालिक र मजदुरको पहिचान फरक छ भन्ने बुझेका पर्खिले आफैले ट्याक्सी किनेर चलाउन थाले । निजी रुपमा ट्याक्सी चलाउनु आप्रवासीहरुका लागि निक्कै चुनौतीपूर्ण मानिन्छ त्यहाँ। त्यो चुनौती मोल्ने किराती समुदायको पहिलो ट्याक्सी ड्राइभर पनि हुन् पर्खि राई । नेपालमा रहदा अनेकौ हण्डर, धोका-धपेडी र असफलताहरु झेलिसकेका पर्खिले हमेसा सङ्घर्ष गर्न भने छोडेनन् । आजको मेहेनतले भोलिको पुस्तालाई सहजीकरण हुन सकोस् भन्ने अठोटले काम गरिरहेका पर्खिले एकदिन ज्याक्सन हाइटको ढाका क्लबमा डम्फु साँझ कार्यक्रममा कराते डेमो प्रदर्शन हेरेर प्रभावित भएका उनले इन्टरन्नयास्नल मार्सल आर्ट एसोसिएसनले कराते प्रशिक्षणका लागि भर्ना खुलेको थाहा पाए । जसका संचालक नेपाली नागरिक शान्त थोकर थिए । उनकै स्कुलमा छोराहरुलाई कराते सिक्नका लागि भर्ना गरिदिए ।

हरेक दिन बिहान बेलुकी छोराहरुलाई ट्रेनिङका लागि स्कुल पुर्‍याउने र एक घण्टा कुरेर सँगै लिएर फर्किने क्रममा उनले सोचे, अब यो एक घण्टाको समय चाँही म आँफै कोण बाहिर खेलेर कटाउछु भन्ने योजना बनाए । वि. सं. २०४९ सालतिर गुरु महेन्द्र राईसँग आर. आर. क्याम्पसमा ६-७ महिना सितोरिया कराते सिकेको आधारभुत ज्ञानले समय कटाउन सजिलो पनि बनायो उनलाई । अरु खेलाडीहरु जस्तै ड्रेस लगाएर एक्लै खेल्दै गरेका पर्खिलाई एकदिन त्यहाँको प्रशिक्षकले भर्ना भएर टिममा खेल्न सल्लाह दिएपछि उनलाई औपचारिक प्रशिक्षण लिन रहर जाग्यो । सन २००८ मा यो रहर जाग्दै गर्दा पर्खि ३२ वर्षको भई  सकेका थिए । उमेरले ३ दशक पार गरिसके पछि छोराहरुसँगै इन्टरन्यास्नल मार्सल आर्ट एसोसिएसनमा भर्ना भएका पर्खि राईले सन २०१० मा पहिलो पटक न्ययोर्क ओपेन च्याम्पियनसिप गोल्ड मेडल जित्न सफल भएका थिए । त्यो पहिलो प्रतिष्ठित सफलताले उनलाई खुशीसँगै बिगततिर डोर्‍याएर लाग्यो । कुनैबेला ट्याक्सी ड्राइभर हुदा सेवा लिने ग्राहकहरुले नेपाल भन्ने देश पनि छ ? भनेर गरेको प्रश्नहरुले खुब गिज्याउथ्यो र मनमनै ईर्ष्या लाग्थ्यो । देश र आमा भनेको जति नै गरिव, अशिक्षित वा बिपन्न किन नहोस् तर सहर्ष स्वीकार्न गाह्रो हुन्छ ।

अक्सर नेपालीहरु भौतिक सुविधा उपभोग चलनका लागिभन्दा डलर कमाउनका लागि बिदेशिन्छन् । खुशी, स्वतन्त्रता र अपनत्वलाई चटक्क त्यागेर बाध्यतावश अरुको माटोलाई सिंचित गरिरहेका हुन्छन्। तर पर्खिले भने त्यही सफलतालाई टेकेर आफ्नो देशलाई चिनाउनका लागि खेलकुदमा लगानी गर्न थाले निरन्तर । सन् २०११ मा ब्ल्याक बेल्ट गरेपछि सोही स्कुलमा प्रशिक्षकको रुपमा काम पनि शुरु गरे । प्रशिक्षण सँगै अफिसियली निर्णायकको भूमिकामा राष्ट्रिय खेलहरु खेलाउदै सन् २०१४ मा सेकेण्ड डान पूरा गरेका थिए उनले । एउटा खेलाडीको रुपमा प्रशिक्षित हुनु, प्रशिक्षण गराउनु र निर्णायकको जिम्मेवारी पाउनु सामान्य अवसर र चुनौती थिएन । त्यही चुनौतीहरुबीच सन् २०१५ मा यूएसए कराते महासंघ अमेरिकाबाट राष्ट्रिय निर्णायकको जिम्मेवारी पाए । यो दोहोरो ‘ए’ प्राप्त व्यक्तिहरु सम्पन्न मुलुक अमेरिकामै पनि नगन्य मात्र छन् । जसमा पर्खि राई ‘दोहोरो ए’ प्रात गर्ने दोश्रो नेपाली हुन् । यो जिम्मेवारी एक निश्चित नियममा रहेर गरिने निरन्तर खेलकुद अभ्यासभन्दा जटिल थियो । अफिसियली राष्ट्रिय तथा अन्तर्राष्ट्रिय निर्णायक हुनु भनेको अनगिन्ती अन्तर्राष्ट्रिय नियम, कानुन र दुर्लभ पुस्तकहरुको ठेलीको अध्यायन पनि हो । जो सर्वसुलभ खरिद गर्न सम्म पनि पाइदैन ।

मेहेनत र लगनशिलताले उपलब्धीहरुलाई कैद गर्न नचुकेका पर्खिको जीवनमा थुप्रै उतार चढाव, व्यावसायिक तथा आर्थिक असन्तुलनहरु पनि आए । तर परिस्थितिलाई सापेक्षित रुपमा निवारण गर्दै सन् २०१६ मा इन्टरन्यासनल मार्सल आर्ट एसोसियसन आफ्नै स्वामित्वमा किन्ने निर्णयमा पुगेका थिए । स्मरण रहोस्, संयुक्त राज्य अमेरिकाको केन्द्र न्युयोर्क शहर स्थित इन्टरन्यासनल मार्सल आर्ट एसोसियसन अमेरिकामा नेपाली नागरीकद्वारा संचालिक पहिलो स्कुल हो । बृहत लगानी, व्यवस्थापन र जिम्मेवारीका साथ संचालित यस स्कुलले अहिले दर्जनौको सङ्ख्यामा राष्ट्रिय खेलाडी तथा निर्णायकहरु उत्पादन गरिसकेको छ भने संचालन र प्रशिक्षणका लागि सिनियर ब्ल्याक बेल्ट गरिसकेका आफ्नो छोराहरु (दिपक र अरुण) ले साथ दिइरहेको  बताउछन् । छोटो समयावधिमा सफलताको लामो दूरी पार गरेका पर्खिले सन् २०१६ मा ‘इन्टरन्यासनल रकि माउन्टेन च्याम्पियनसिप गोल्ड मेडल’ कोलोराडो जितेका थिए भने सन् २०१७ मा सोतोकान कराते तर्फ थर्ड डानको सर्टिफिकेट हात पार्न सफल भएसँगै प्राप्त प्रतिष्ठित उपाधीले प्रशिक्षक पर्खि राई बन्न सफल भए ।

यी उपलब्धीहरु ब्ल्याक बेल्टदेखि डन टेस्ट  र ट्रेनिङसम्मका सम्पूर्ण सर्टिफिकेट वल्ड कराते फेडेरेसनमा ४० वर्ष बिताएका इन्टरन्यासनल मार्सल आर्ट एसोसियसन, हेडक्‌वाटर, कोलरडोका सँस्थापक साइरस माडनीको हातबाट ग्रहण गरेका हुन् भने सन् २०१९ मा अन्तर्राष्ट्रिय कराते महासंघ अन्तर्गत ‘पान अमरिकन काराते कमिसन’बाट अन्तर्राष्ट्रिय निर्णायकको लाइसेन्स लिन सफल भएका थिए । अन्तर्राष्ट्रिय यो लाइसेन्स प्राप्त ब्यक्तिहरु विश्वभरि नगन्य सङ्ख्यामा मात्र छन् । सेन्सेइ पर्खि राईले तिनै नगन्य सङ्ख्याभित्र आफ्नो नाम अटाएका छन्, जो नेपालको दोश्रो प्रतिनिधित्व हुन्।

सेन्सेइ पर्खि राईको दैनिकी अझ ब्यस्तता र चुनौतिपूर्ण छ । अन्तर्राष्ट्रिय निर्णायकको गहण जिम्मेवारीमा सम्पन्न हुने बिभिन्न मुलुकको कार्यक्रममा मुल निर्णायकको भूमिकामा नेपालको झण्डा बोकेर संसारलाई फन्को मारिरहेका छन् उनी । उनले नेतृत्व गर्ने हरेक शिर्ष कार्यक्रमहरुमा ‘नेपाल’ भनेर मात्र उनलाई सम्बोधन गरिन्छ । त्यो एक शब्द उनका लागि सर्वाधिक प्रिय क्षण पनि हो, भन्नुहुन्छ । कुनै समय भेडीगोठको नाइके हुन नसकेका पर्खिलाई न्युयोर्क स्टेट गभरमेन्टले प्रतिष्ठित प्रतिभा सम्मानद्वारा सम्बोधन गरिसकेको छ भने आज सिङ्गै देशको प्रतिनिधित्व गर्दै अफिसियली अन्तर्राष्ट्रिय निर्णायकको हैसियतमा अघिल्लो पङ्तिमा उभिएर जिम्मेवारी सम्हालिरहेका छन् । सोतोकान करातेको अलावा उनलाई भलिवल निक्कै मन पर्ने खेल हो ।

सन् २००३ देखि २०१० सम्म न्युयोर्क राई टिमको क्यापटेनसिप गरिसकेका पर्खिले सन् २००६ मा न्युयोर्क नेपाली समाज न्युयोर्क प्रथम उपाधी सहित गोल्ड मेडल समेत सँस्थालाई जिताएका थिए । क्रमश: परिमाणात्मक हिसाबले सोतोकान करातेतर्फ छोटो समयमा श्रेणीगत सफलता मिल्दै गएपछि अन्य खेलकुदलाई प्राथामिकता घटाउदै गए । ३२ वर्षको उमेरमा सोतोकान कराते सुरु गरेका एक सामान्य पर्खि राई आजको प्रशिक्षक (सेन्सेइ) पर्खि राई तथा अन्तर्राष्ट्रिय निर्णायकसम्म आइपुग्दा निरन्तर अभ्यासको क्रममा बगेका पसिनाहरुले बेग्लै सुखानुभुती दिलाएको गन उनी बताउछन् । दैनिक ४-५ घण्टासम्मको कठिन अभ्यासका कारण कोठामा चार पाउले टेकेर उठ-बस गर्नु परेको तितो सत्यहरुसँग कहिलेकाही आँफै गम्छन् उनी । सुन्दर अट्टालिकाहरुबिच सानो देशको सानो मान्छेले गरेका ठूला ठूला प्राप्तीहरुसँग अविच्छिन्न जोडिएका आफ्नो जीवनसाथी नुर्सरी राईलाई स्याबासी दिन चुक्दैनन् उनी । घरपरिवार र व्यावसायिक स्कुल सञ्लचान तथा व्यवस्थापना सम्हाल्दै आएका नुर्सरी राई स्वयम् सोतोकान करातेका राम्रा खेलाडी हुन् । यो सानो सियो किनेर हात्तीको बखान गर्ने समय हो । कालोलाई सेतो देखाउने नीयतको पापड बेल्ने हुलहरु अनि आफ्नै आकार, पदचाप र पहिचान नखुलेकाहरुले अरुहरुलाई सिकाउदै हिड्ने फुर्सदिलो भिडभन्दा टाढा रहेर चुपचाप मिठो फल लागेर नुहिएको बृक्ष हुन प्रशिक्षक पर्खि राई, जो तलाउ झै शान्त र चिश्चल छन् । फलस्वरुप, सगरमाथाको सुन्दर बगैचामा टुसाएको त्यो मुनाले आज समग्र समाज, क्षेत्र र सिङ्गो देशको निधित्व गर्दै सगरमाथा जस्तै उचाइ प्राप्त गरेका छन् । उनको लगनशिलता, मेहेनत र सङ्‌घर्षले एक अनमोल हिरा सावित भएका छन् प्रशिक्षक (सेन्सेइ) पर्खि राई । एउटा सूचना संग्रहकर्ताको दृष्बिाट हेर्दा त्यो उच्चाइलाई चुम्न त के गम्न पनि सम्भव छैन । सुन्दरता र त्यसको महत्व नजिरमा भर पर्दछ । प्रशिक्षक पर्खि राईको महत्व, त्याग र योगदानलाई नेपाल सरकार, समुदाय वा मिडियाले कति पहिचान गरेको छ ? वास्ताविक सुन्दरताको मापन गर्ने खोज पत्रकारिताको सुरुवात कहिले होला ? राष्ट्रियतासँग जोडिएका यस्ता प्रश्न र प्राप्तीहरु बाटो मुनिको फूल सरह फुलिरहन सम्भव हुँदैन । त्यसैले एक युग, एक रत्न र एक ब्यक्तिको सफलता हाम्रो साझा प्राप्ती र परिचय हो । सामान्य धरातलबाट हेर्दा क्षितिजमा लम्किरहेको प्रशिक्षक (सेन्सेइ) पर्खि राईको बाँकी गन्तन्य अन्दाज गर्नसम्म मुस्किल पर्छ । अहंकारको मुठ्ठी हैन समर्पणको अञ्जुलीमा भरिएको उनको पसिनाहरुले देश, समाज र सिङ्गो खेल जगतलाई सिंचित गरिरहन सकोस् । शुभकामना !

तपाइको प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *

हामी तपाईंको इमेल अरू कसैसँग साझा गर्दैनौं।

ट्रेन्डिङ