Gaule News
आइतवार, अशोज ४, २०७७
Gaule Entertainment Media Group Pvt.Ltd.

अधिराजकुमारी श्रुतीसँगको पत्रकार किरणकृष्णका चार अविस्मरणीय पल

  • admin
  • सोमवार, जेष्ठ १९, २०७७
अधिराजकुमारी श्रुतीसँगको पत्रकार किरणकृष्णका चार अविस्मरणीय पल

पत्रकार किरणकृष्ण श्रेष्ठले वि.स. २०७७ साल जेठ १९ गते, दरबार हत्याकाण्ड भएको १९ वर्ष पुगेको दिन  सेतोपाटी अनलाइनमा  लेखेको संस्मरणात्मक लेख यहाँ जस्ताको तस्तै राखिएको छ ।

>>>>>>>>>>>>>>>>>>>>>>>>>>>>>>>>>>>>>>>>>>>>>>>>

हामी जेठ १५ लाई गणतन्त्र दिवसका रूपमा मनाउँछौं। वैधानिक रूपमा २०६५ जेठ १५ गते नेपालमा गणतन्त्र स्थापनाको घोषणा गरिएको थियो। तर, भावनात्मक रूपमा मेरो लागि २०५८ जेठ १९ को रात नै राजतन्त्र सक्किएको थियो।

त्यो कालरात्रि हामी नेपालीहरूका लागि सधैं दुर्भाग्यपूर्ण र दु:खद स्मरण भएर रहेको छ, रहने छ।

 

स्कुलमा अधिराजकुमारी श्रुति (पछाडिको लहरमा बायाँबाट तेस्रो)। तस्बिर सौजन्य: प्रशंसा

 

त्यस बेला दिवंगत हुनेमा राजा वीरेन्द्र, रानी ऐश्वर्य, युवराज दिपेन्द्र, अधिराजकुमारी श्रुति, अधिराजकुमार निराजन लगायत वीरेन्द्रका दिदीहरू शान्ति सिंह र शारदा शाह, भिनाजु कुमार खड्गविक्रम शाह लगायत दस जना शाही परिवार र नातेदार थिए। दिपेन्द्रले सनकमा पारिवारिक जमघटबीच गोली चलाएर त्यो बितण्ड मच्चाएको मानिन्छ।

अहिलेजस्तो सामाजिक सञ्जाल र इन्टरनेटको बिगबिगी थिएन। मोबाइल फोनको पहुँच पनि सीमित रहेका बेला मेरो घरमा मध्यराततिर फोन बज्यो। दरबार हत्याकाण्डबारे सुनेर म अचम्म र स्तब्ध भएँ।

हो-होइन यकिन गर्न चिनजानका पत्रकार र दरबारनिकट साथीहरूलाई फोन गर्दागर्दै रात कट्यो।

घटनाको विस्तृत विवरण थाहा नभए पनि अनिष्टको संकेत सबैतिरबाट आउन थाल्यो। बिबिसी टेलिभिजनमा समाचार स्क्रोल हुन थालिसकेको थियो। बिहान नेपालको आधिकारिक समाचारका लागि रेडियो नेपाल खोलेँ। रेडियोमा भजन बज्न थालिसकेको थियो। सात बजेको समाचार कुरेँ, समाचार नै बजेन। आठ बजेको अंग्रेजी समाचार कुरेँ। भजन मात्र बजिरह्यो।

त्यत्तिकैमा हाम्रा साथीहरूको एउटा वृत्तमा कुमार खड्गविक्रम र अधिराजकुमारी शारदा पनि परेको खबर घुम्न थाल्यो। मृतक र घाइतेहरू छाउनीस्थित सैनिक अस्पतालमा राखिएको खबर सुन्नेबित्तिकै म छाउनीतिर लागेँ। कुमार खड्गका छोरा दिवस शाह हाम्रा नजिकका मित्र थिए।

 

स्काउट पोसाकमा अधिराजकुमारी श्रुति (बायाँबाट तेस्रो)। तस्बिर सौजन्य: प्रशंसा

छाउनी अस्पतालको गेट बन्द थियो। भित्र छिर्न पनि निषेध। एक-दुइटा फोन गरेपछि मलाई भित्रबाट कोही लिन आए। म अस्पताल पुगेको केही छिनमा हेलिकप्टर ल्यान्ड गर्यो। तत्कालीन अधिराजकुमार ज्ञानेन्द्र ओर्लिए। राजपरिवार एवं शाही नातेदारहरूको बाक्लो उपस्थिति भइसकेको थियो।

भित्र अरू केही साथीहरू भेट भए। हामी सबै साथीहरू दिवससँगै बस्यौं। के भएको, कसरी भएको यकिनसाथ भन्ने कोही थिएनन्। सबै स्तब्ध थिए।

केही घन्टा त्यहाँ बसेपछि शवहरूलाई अन्तिम दर्शनका लागि अस्पतालकै प्रांगणमा ल्याउने र त्यहाँबाट शवयात्रा चलाउने कुरा सुन्यौं।

सबैका आँखा अस्पतालको चउरमा सेनाले उठाएको पालतिर गयो। केही क्षणमा शवको लश्कर लाग्यो।

दरबारको मर्यादाअनुरुप शवहरू क्रमबद्ध राखिएका थिए। केही क्षण अघिसम्मका राजारानी त्यहाँ शव भएर शान्त मुद्रामा लम्पसार थिए। उपस्थित सबैले शवको दर्शन गरेपछि शवयात्राको क्रम सुरू भयो।

शवयात्रा पनि मर्यादाक्रमअनुसार चलाइएको थियो। पहिले राजा अनि रानी, त्यसपछि अधिराजकुमार अनि क्रमशः अरू।

राजारानीको शवयात्रा निस्केपछि हामी अधिराजकुमारी शारदा र कुमार खड्गविक्रमका शवसँगै कमलादीस्थित शारदा सदन पुग्यौं।

साँझ पर्न लागेको थियो। त्यहाँ पुगेर हामी पशुपतिको खबर कुरेर बस्यौं।

मर्यादा क्रमअनुसार पशुपति आर्यघाटमा शवहरूको लाइन थियो। विशेष परिस्थिति व्यवस्थापन गर्न आर्यघाटको १ नम्बर र २ नम्बर चिताको बीचमा अर्को एउटा अस्थायी चिता बनाइएको थियो। राजा वीरेन्द्र १ नम्बर चितामा र बाँकी दुइटामा रानी ऐश्वर्य र अधिराजकुमार निराजन जलाइए।

हरेक शवको अन्तिम संस्कारका लागि सेनाको सम्मान गारद फरक थियो।

पहिलो खेपको काम सुरू भएको खबर आएपछि कमलादीबाट अधिराजकुमारी शारदा र कुमार खड्गविक्रमको शवयात्राको तयारी चल्यो। ढोकाबाट शव निकाल्न नहुने परम्पराअनुरुप पूर्वतिर पर्खालको एक भाग भत्काइएको थियो। त्यही पर्खालको बाटो निकालेर शवयात्रा पैदलै पशुपति लगियो।

हामी मलामी पशुपति पुग्दा राजा, रानी र निराजनका चिता खरानी भइसकेका थिए। संस्कार भने सकिएको थिएन।

सबैतिर आँखा डुलाउँदै गर्दा जलिरहेको चितासँगै भुइँको एउटा शवतिर मेरो आँखा पुग्यो। दुलहीझैं सिँगारिएकी थिइन्, अधिराजकुमारी श्रुति।

पच्चीस वर्षको कलिलो उमेरमा श्रीमान र दुई छोरी छाडेर चितामा जल्न प्रतीक्षारत् यी अधिराजकुमारीले जिन्दगीमा सायदै कुनै कुराका लागि प्रतीक्षा गर्नुपर्‍यो होला। आज भने उनी चिताको अगाडि आफ्नो पालो कुर्दै थिइन्।

दैवको लीला भनौं, पशुपति आर्यघाटमा उनी दोस्रो वा तेस्रो प्राथमिकतामा समेत परेकी थिइनन्।

उनी चिसो भुइँमा लम्पसार आफ्नो पालो कुरिरहिन्। हामी उनीसँगै उनको पालो कुरिरह्यौं।

कुर्दाकुर्दै मेरो मनमा ती शालीन राजकुमारीसँग जोडिएका केही एकतर्फी यादहरू खेल्न थाले।

२०४६ सालतिरको कुरा हो। मेरो कावासाकी बजाज ब्रान्डको सय सिसीको मोटरसाइकल थियो। गाडा खरानी रंगको त्यो मोटरसाइकलको ब्लुबुकमा लेखिएको थियो- चारकोल ब्ल्याक।

मेरा बाले त्यो मोटरसाइकल २०४५ सालमा किनिदिनुभएको थियो, करिब ३८ हजार रूपैयाँमा। त्यस बेला पाइने हिरो होन्डा, एस्कोर्ट यामाहा, इन्ड-सुजुकीका सय सिसीका बाइकमध्ये सबभन्दा स्टाइलिस्ट बाइक मलाई यही लाग्थ्यो।

अरू सबै त बेस थियो, तर पेट्रोल रिजर्भमा गयो भने तुरुन्तै स्टार्ट गर्न समस्या हुन्थ्यो। ‘सेल्फ स्टार्टर’ हुने कुरै भएन, मज्जाले किक हान्नुपर्ने। यो रोगले हामीलाई बारम्बार दु:ख दिइरहन्थ्यो।

एकदिन म श्रीमती अल्का (त्यस बेलाकी गर्लफ्रेन्ड) लाई पछाडि राखेर दरबारमार्गको बाटो हुँदै लाजिम्पाटतिर जाँदै थिएँ। केशरमहल चोकमा मोटरसाइकल झ्याकझ्याक गर्दै रोकियो। म अल्कालाई ओरालेर किक हान्न थालेँ। मोटरसाइकल स्टार्ट हुने नामै लिएन।

त्यही बेला पछाडिबाट अलि मोटो हर्न बज्यो। मैले वास्ता गरिनँ। फेरि हर्न बज्यो। म रिसको झोँकमा गाली गर्दै फनक्क फर्कें।

त्यत्तिकैमा मेरो बायाँतिरबाट एउटा लामो कालो मर्सिडिज कार अघि बढ्यो। त्यस्ता गाडी चढ्ने मान्छे ठूलाबडा नै हुन्थे। अहिलेजस्तो छ्यापछ्याप्ती गाडी थिएनन्।

मेरो मुख गाली गर्दागर्दै थामियो। हल्का कालोरङको सिसाभित्र मुमा बडामहारानी रत्नको आकृति देखेँ।

म ‘फ्रिज’ भएँ।

उनी भने बेपरवाह अगाडि हेर्दै थिइन्। उनीसँगै एक जना १२–१३ वर्षकी बच्ची मुख छोपेर खित्का छाड्दै थिइन्, हामीलाई जिस्काएको भावमा।

फोटो र टिभीमा प्रशस्तै देखेको भए पनि मैले ती बच्चीलाई प्रत्यक्ष देखेको त्यही पहिलोपटक थियो।

 

 

सेन्ट मेरिजमा पढ्दा अधिराजकुमारी श्रुति (सिस्टरको बायाँतर्फ)। तस्बिर स्रोत: प्रशंसा

मेरो स्मरणमा अधिराजकुमारी श्रुतिको पहिलो आकृति त्यही रह्यो- चञ्चल स्वभावकी, मेरो मोटरसाइकल बिग्रेको र म तर्सेको देखेर मुख छोपेर जिस्क्याउँदै गएकी।

श्रुतिको स्कुले जीवन जावलाखेलस्थित सेन्ट मेरिजमा बित्यो। रानीको निर्देशनअनुरुप स्कुलमा उनलाई साधारण विद्यार्थीझैं व्यवहार हुन्थ्यो। उनी पनि सरल बालिका थिइन्। साथीहरूले साधारण व्यवहार गरेको रुचाउँथिन्।

दरबार निकटका, सरकारी कर्मचारी वा सेनाका छोरीहरूले ‘सरकार’, ‘हजुर’ भनेर सम्बोधन गर्दा र झुकेर दर्शन गर्दा उनी भनिहाल्थिन्, ‘छ्या के गर्‍या होला… आई हेट ड्याट के !’

स्कुलमा पढ्दा दरबारमै आवतजावतको अनुमति पाएका उनका पाँच जना साथीहरू थिए। २०४६ सालमा उनी आठ कक्षा पढ्थिन्। जनआन्दोलन बेला केही केटाहरूको जुलुस सेन्ट मेरिज पुग्यो। श्रुतिलाई जुलुसमा पठाउन माग गरियो। स्कुल प्रशासनलाई त्यो परिस्थिति सम्हाल्न हम्मे परेको थियो।

त्यसपछि स्कुलका अरू केटीहरूले पनि उनीसँग अभद्र व्यवहार गर्न थाले। राजतन्त्रबारे अभद्र बोली र घोचपेच गर्न थाले। उनलाई त्यस्तो व्यवहारबाट निकै चोट पर्ने गरेको उनका नजिकका सहपाठी सम्झन्छन्।

जनआन्दोलन सफल भयो। सबैलाई बराबर तुल्याउन ल्याइएको प्रजातन्त्रले बिचरी श्रुतिको भने साधारण बालिका हुने अधिकार खोसिदियो।

उनी स्कुल आउने वातावरण बनेन। घरै बसेर २०४८ सालमा प्राइभेट एसएलसी दिइन्।

‘श्रुति अत्यन्तै सरल, नम्र र भद्र स्वभावकी थिइन। वास्तवमै मनकी राजकुमारी। आँखैमा राखे पनि नबिझाउने,’ उनका सहपाठी प्रशंसा भन्छिन्, ‘नम्रता र भद्रताको पाठ मैले उनीबाटै सिकेँ। सी वाज अ जेनुवेन ह्युमन बिइङ, सी वाज अ जेम अफ अ पर्सन।’

एसएलसी दिएपछि श्रुति भारतको अजमेरस्थित मेयो कलेजमा पढिन्। त्यसपछि पद्मकन्या क्याम्पसबाट साइकोलोजीमा स्नातक गरिन्।

२०५३ सालमा दीक्षित त्यो ब्याचमा उनका सहपाठीहरूमध्ये गायिका नलिना चित्रकार पनि थिइन्। त्यही नाताले नलिनाले २०५६ सालमा त्यस बेलाका चर्चित गीत ‘गोरी कली’, ‘मेहेन्दी लगाऊ’ संलग्न आफ्नो दोस्रो एल्बम विमोचन गराउन श्रुतिलाई निम्तो गर्न सफल भएकी थिइन्।

म त्यो समय एफएम रेडियोमा आबद्ध भएकाले नलिनासँग चिनजान थियो। उनको एल्बम विमोचनको निम्तो आयो। नलिनाको कर गर्ने स्वभाव र प्रमुख अतिथिको नामले मलाई कार्यक्रममा जान आकर्षित गर्‍यो।

कार्यक्रम रसियन कल्चर सेन्टरमा थियो। म पछाडिको सिटतिर बसेको थिएँ। प्रमुख अतिथिको आगमन भयो। उनी स्टेजमा रहेको सोफामा गएर बसिन्। उनको अनुहारमा संकोचयुक्त मुस्कान थियो। सबैका अगाडि प्रमुख अतिथिका रूपमा आफूलाई उभ्याउन अप्ठ्यारो मानिरहेको उनको बडी ल्याङ्ग्वेजले प्रस्ट देखाउँथ्यो।

टाढाबाट भए पनि उनको लजालु अप्ठ्यारोपन मलाई रमाइलो लागिरहेको थियो।

उनलाई प्रत्यक्ष देखेको यो मेरो दोस्रो क्षण थियो। पहिले देख्दाको चञ्चल स्वाभाविक बच्ची परिपक्व हुँदै लजालु युवती भइछिन्।

श्रुतिको विवाह २१ वर्षको उमेरमा भएको थियो। सार्वजनिक जीवनबाट त्यसै पनि टाढा रहने उनी विवाहपछि त बाहिर कमै देखिन्थिन्।

२०५७ सालतिरको कुरा हो। म टिभी कार्यक्रम निर्माणको काम पनि गर्थें। म संलग्न ‘यङ एसिया’ टिभीको चाख सामाजिक विषयवस्तुमा हुने गर्थ्यो। नेपालका धेरै सामाजिक संस्थाहरूसँग हाम्रो सम्पर्क र आवतजावत भइरहन्थ्यो।

डिजिटल भिडिओको सुरूआती क्रममा हामी केही कार्यक्रम निर्माताहरू ‘वान म्यान टिम प्रोडक्सन’ मा प्रशिक्षित थियौं। कुनै कार्यक्रम खिच्न जाँदा म एक्लै जान्थेँ।

माइती नेपालबाट एउटा कार्यक्रमको निम्तो आयो, जसका प्रमुख अतिथि अधिराजकुमारी श्रुति थिइन्।

माइती नेपालमा हामीलाई चाहिनेजस्तो तीनदेखि पाँच मिनेटको रिपोर्ट निर्माण गर्न उपयुक्त विषयहरूको खानी नै हुन्थ्यो। त्यस्तै कुनै विषय टिपेर अधिराजकुमारीको अवलोकनको फुटेज जोडेर कार्यक्रम बनाउने सोचसहित म त्यहाँ पुगेँ।

उनको सवारी भएदेखि फिर्ती नहुञ्जेल मैले उनलाई क्यामराले पछ्याएँ, एकदम नजिकबाट।

स्वागत बेला उनको लजालु स्वभाव झल्किरह्यो। उनी अप्ठ्यारो मान्दै भवन प्रवेश गरिन्।

माइती नेपालकी अनुराधा कोइरालाले उनलाई सबै देखाउँदै-बुझाउँदै घुमाएको दृश्य म क्यामरामा कैद गर्दै थिएँ। भारतबाट उद्धार गरिएका महिलाहरूप्रति उनको सहानुभूति र त्यहाँका बालबालिकाप्रति उनको ममता र स्नेह बीच-बीचमा उनले सोध्ने प्रश्नहरूबाट प्रस्ट महशुस हुन्थ्यो।

मेरो स्मरणमा भएको त्यो चञ्चल बच्ची र ती लजालु युवती केही वर्षमै सहानुभूतियुक्त ममतामयी नारीका रूपमा रूपान्तरण भएको महशुस भयो मलाई। उनी आफैं पनि त आमा बनिसकेकी थिइन्। त्यही आमाको ममतामयी स्वभाव माइती नेपालका बालबालिकासामु झल्किरहेको थियो।

यी यादहरू दिमागमा खेल्दै थिए, पानीको बाछिटाले म झस्किएँ।

बाछिटाले हानेपछि म ओत खोज्दै आर्यघाटको पाटीभित्र पसेँ। त्यहाँबाट आँखा फेरि चिसो भुइँमा लम्पसार श्रुतिमा पर्‍यो। उनको उज्यालो अनुहारमा पानी परिरहेको थियो। निधारमा पानीका केही थोपा अडेका थिए। केही धर्सो भएर बगिरहेका थिए। गालामा पनि केही थोपा टल्किरहेका थिए।

उनले जिन्दगीमा सायद कहिल्यै यसरी पानीमा रुझ्नुपरेन होला! उनलाई छाता ओडाउने सुसारेहरू सधैं वरपर हाजिर हुन्थे होला! आज खोई उनलाई छाता ओडाउने कोही?

 

उनलाई रुझेको देखेर म आफू ओभानो बस्नु निरर्थक लाग्यो। पाटीबाट बाहिर आएँ र आफू पनि रुझेँ।

मलाई कराउन मन लग्यो, ‘कोही मेरी राजकुमारीलाई छाता ओडाइदेऊ, रुझ्दै छिन् बिचरी!’

उनी जिन्दगीको अन्तिम संस्कारका लागि लाइनमा कुर्दै थिइन्। मर्यादाक्रममा उनीभन्दा माथिकाले सबै ध्यान खिचेको थियो। उनलाई माया गर्ने उनका पिता खरानी भइसकेका थिए।

मर्यादाले जे भने पनि मानवीय हिसाबले सबभन्दा बढी प्रताडित थिइन् उनी। उनलाई हेर्दै उनले छाडेका दुई स-साना छोरीहरू सम्झेँ, २५ वर्षको जवानीमा छोड्नुपरेको जीवन सम्झेँ।

यही सम्झँदै गर्दा पानीले रुझेका मेरा आँखाबाट केही थोपा आँसु पानीमै मिसिन पुगेछ। मन कुँडिएछ।

उनका पति कुमार गोरखशमशेर त्यही घटनामा घाइते भएकाले सायद अस्पतालमै थिए। मैले त्यहाँ देखिनँ। बच्चाहरू सानै भएकाले घाट आउने कुरै भएन।

उनी एक्ली थिइन्। नितान्त एक्ली।

जन्मँदा कस्तो भाग्यको जन्म, मर्दा कस्तो अभागीको मरण !

हरेक भाइटीकाको दिन दिर्घायूको कामनासहित पुजेको आफ्नै दाइको हातको मरण। बालख सन्तानलाई टुहुरो पारी अँगाल्नु परेको मरण। राजाकी प्यारी छोरी, अधिराजकुमारी भएर पनि ओझलमा पर्न गएको त्यो मरण। चितामा जल्न रुझ्दै कुर्नुपरेको मरण।

श्रुतिको त्यो रुझेको उज्यालो अनुहार आज पनि मेरो स्मृतिमा छ। पहिलो तीन पलका सम्झनाभन्दा प्रगाढ छ यो चौथो पलको अन्तिम दृश्य।

आज १९ वर्ष पूरा भएछ। त्यो चौथो पलको अनुभूति अझै ताजा छ।

 

तपाइको प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *

हामी तपाईंको इमेल अरू कसैसँग साझा गर्दैनौं।

ट्रेन्डिङ