Gaule News
शुक्रबार, अशोज २, २०७७
Gaule Entertainment Media Group Pvt.Ltd.

खालिङ राईहरुको न्यागी

अनुसन्धानात्मक लेख

  • admin
  • बुधबार, कार्तिक २७, २०७६
खालिङ राईहरुको न्यागी
जङगबहादुर राई

पृष्ठभूमि
नेपाल धेरै जात जातिका मानिसहरुको बसोबास गर्ने ठाउँ हो । पूर्वी नेपालमा आदिम काल देखि बसोबास गर्दै आउनेहरु राईहरु पनि हुन । यो क्षेत्रमा उनीहरुरको बसाई सघन छ । उनीहरुको धेरै किसिमका भाषहरु रहेको पाइन्छ । उनीहरु आ–आफ्ना भाषा बोल्दछन् । धेरै राईहरु मध्ये खालिङहरु पनि पर्दछन् । सोलुखुम्बु जिल्लामा खालिङहरु आदिमकालदेखि नै बसोबास गर्दै आएकाछन् । ज्युव्यु, वाकु, पावै, काकु, ख्यास्त्याप र टाक्सिन्दु गाउँहरु नै खालिङहरुको आदिम भूभि हो । बुबुसा गाउँबाट खालिङहरु विस्तारै फैलिदै आएका छन् । ख्याल छेस्कु तम्र र जोहन हेल्पटनका अनुसार यो क्षेत्रमा स्थायी रुपमा सन् १५०० वर्षा भन्दा पहिला देखिनै बासोबास गरेको देखिन्छ । सन् १५३१ देखि ३२ मा खुम्बुक्षेमा शेर्पाहरुको आगमनबाट राईहरु विस्थपित गरेका हुन भन्ने पाइन्छ (जोहन हेल्पटन, २००५,पृ. १२)। त्यो भन्दा पहिला पाङ्मुचे तथा खुम्बु उपत्यका भित्र खालिङहरुको पूर्खा बसेका थिए । अहिले खालिङहरु उत्गम थलो सोलुखुम्बु जिल्ला बाहिर पनि स्थायी तथा अस्थाई रुपमा बासोबास गर्दैआएका छन् । ओखलढुङ, खोटाङ, भोजपूर, उदयपूर, संखुवासभा, धनकुटा, झापा, मोरङ, इलाम तथा काठमाण्डौ उपत्याकामा समेत स्थाथी तथा अस्थायी बसोबास गरेकाछन् । खालिङ भाषा बोल्नेको संख्या १४४६७ देखिन्छ भने खालिङ थर लेख्नेको संख्या १५७१ रहेको देखिन्छ (२०११ जनसंख्या तथाङ्क) खालिङहरुको आफ्नै भूगोल, भाषा, भेषभूष, मुन्दुम तथा मुल्यमान्यता र परमपरा भएको समुदाय हो । आजसम्म खालिङहरुको जीवन चक्र आफ्नै मुन्दुम, परमपरा र मूल्यामान्यतामा चल्दै आएको छ । मुन्दुम खालिङहरुको ज्ञानको भण्डार हो यसमा प्रागऐतिहासिक देखि बर्तमान सम्मको इतिहास समेटिएको हुन्छ । उनीहरुको आफ्नै छुट्टै भाषा, भेषभूषा तथा संस्कृति भएको पाइन्छ । त्यसैले उनीहरुको छुटै सास्कृतिक पहिचान छ । खालिङहरुले न्यगी, वास, बुज्वाम, कममोसी, शिकारी जस्ता पूजाहरु अनिवार्यरुपमा गर्दछन् । न्यगी पूजा नगरी उनीहरुको कुनै पनि साँस्कृतिक कार्यहरु आगाडि बढ्न सक्दैन जस्तै, वास, विबहा, नयाँ घर प्रबेश आदि । न्यगी पूजा विना खालिङको मुन्दुमी कार्य गर्न मिल्दैन त्यसैले मुन्दुमको आधार पनि न्यगी हो । न्यगी कुला पूजा मात्र होइन मुन्दुम पनि हो ।

२ न्यागी पूजाको सुरुवात
न्यागीको उत्पति सम्बन्धी थुप्रै मिथकहरु पाइन्छ जुन निम्नानुसार रहेका छन: दिरीदीमा आमा र छोरी सँगै बस्दथे । छोरी अत्यान्तै शुन्दरी अनि विबहा गर्ने उमेर पुगिसकेका थिए । छोरीले आफुलाई माया गर्ने साथी भेटी विहे गर्ने निधो गरिसका थिए । छोरीले एक दिन विबहा गरिन् । आमालई ज्वाई हेर्न आतुर भएछिन् । आमाले छोरीलाई भनेछ, म ज्वाईको भेट्न गर्न चहान्छु भनेछिन् । छोरीले ज्वाइलाई भेटेर तिमीलाई आमा (सासुआमा) ले भेट्न चाहान्छिन् भनेछ र ज्वाई पनि सासु आमा भेट्न तयार भएछ तर एउटा सर्त सहित । सर्त रहेछ सासु आमा ज्वाई भेट्न जादा, ताल छेउमा जब सिमसिम पानी र मधुर घाम पनि लागिरहोस् । उक्त सर्त आमालाई छोरीले सुनाइन र आमा सहमत भै ज्वाइलाई भेट्न गइन् । आमा चाहि भनेको ठीक समयमा पुगिनन् । पोखरी छेउमा पुग्दा कोही देखेनन् । जुन बेला ज्वाई भने निदाएको रहेछ र हातरमा ब्युझिदा भरर सिमसिम पानी पनि पर्न थालेछ र घाम पनि लाग्न थालेछ । त्यो बेला सासु आमाले त्यहा इन्द्रेणी मात्र देखेर र तर्सिएछ । आमा पनि डाराए अनि थकित हुदै घर फर्किनु भएछ । छोरीले फेरी आमालाई सोध्नु भएछ आज त तपाईको ज्वाईलाई भेट्नु भो होला कस्तो लाग्यो ज्वाइँ भनेर सोद्दा आमाले ज्वाइलाई नदेकोको सुनाइन अनि तालको छेउमा इन्द्रेणी मात्र देखेको कुरा सुनाउनु भयो । फेरी छोरीले आमालाई भनिन्, हो त्यही हो तपाईको ज्वाइँ । आमाले भनिन् त्यस्तो नि कतै मेरो ज्वइँ हुन्छ ? त्यो त लुमु हो, पुमु हो, कहाँ मेरो ज्वाइँ हो र भनिन् । यसो भन्दै आमा भने थकित भएको शरीरलाई आराम गरिन तर भोली विहान आमा चाहि तर्सिएको कारण विरामी भइन । अर्को दिन ज्वाइँले छोरीलाई सोधे अनि कस्तो लाग्यो रे त ज्वाइँलाई देखेर भनि सोद्दा छोरीले सुनाइन तिमीलाई देखेर आमा विरामी परेकोछ । तेसो भए आमालाई उपचार गर्नु पर्छ भनेर छोरीलाई सल्लाह दिएछन् । ती तरिकाहरु निम्नानुसार छन् :

पुज्ने तरिका : चोखो लङखीले न्यगी चि पकाउने । चि छिपिदै गएपछि मुल ढोका नजिकको कुनामा चिक्र बनाई घ्याम्पोमा न्यगी चि राख्नु । चिन्डोमा सोल्तम चि, अ्यारीमा त्याव्या अनि हुलुकन्य चि राख्नु । तल्लो पाहुना बस्ने ठाउँमा मान्द्रोमाथि न्यगी थान बनाई, न्यगी खाजा, धान राख्नु अनी तीन चुलालाई पनि पुज्नु । अनि सासुआमालाई सातो पनि खुवाउनु भनेछ । त्यसैगरी आमालई उपचार गर्दा आमा ठीक भइन । त्यही दिन देखि न्यगी पुज्ने चलन विकास भयो भन्ने पूर्खाहरुको धारणा छ ।

नोक्छोद्वारा न्यागी पुज्दै

केही पुर्खाहरुको भनाइमा न्यगी : खालिङहरुको ठूलो कुल न्यगी हो । यो बर्षमा तीनपटक पुज्नु पर्दछ । यसलाई पूजा गरिएन भने टाउको दुख्ने, रिङगटा लाग्ने, सोला हान्ने, सुनिने, घाउँ खटिरा लाग्ने, मुटु दुख्ने जस्ता ब्यथा लाग्ने गर्दछ । न्यगी, कममोसी र झुङमोसी खालिङहरुको तीन ठूला कुलदेवता हुन । पहिला छेन्दिप्योत र भिम्र्यप्योद दुई शक्तिशाली नोक्छोहरु थिए । गाउँलेहरु कुलपूजा गर्न दिक्क लागेर एक दिन सबै गाउँले मिलेर यी तीन कुललाई घरबाट खेद्ने सल्लाह भएछ र सोही अनुसार एक दिन दुई नोक्छोहरुले खेदेछन् तर सबै कुलहरु घरको तीन कुनामा भासिएछन् । त्यही दिनदेखि न्यगी, कममोसी, झुङमोसी घरको कुना कुनामा चिक्र बनाएर पूजा गर्न थालेका हुन । त्यसैले न्यगी जहिले पनि चिक्रमा लुप राखेर पूजा गर्ने चलन भयो ।

अर्को न्यागीको उत्पति सम्बन्धि मिथक : पहिला छेउरीम र देउरीम आमा र छोरी दिरिदी (समुन्द्र) मा बस्दथे । एक दिन छोरी देउरीमले इन्द्रेणी (रोक्तोकोम) सँग विबहा गरिन् । देउरीमले सन्तान पनि जन्माइन । तर हुजरआमाले नातिलाई कहिल्यै पनि राम्ररी नियालेर हेर्न पाएको थिएन । एक दिन छोरीले बच्चालाई हजुआमसँग छोडेर काममा जानु पर्ने भयो । यदि नाती रुयो भने कोक्रोमा हल्लाएर मात्र राख्नु वा नउठाइकन वोक्नु भनी आमा र बच्चा घरमा छोडी राखे । हजुर आमा आफ्नो काम गर्दैबस्दा नाती धेरै रुयो र कोक्रोमा बोक्दा पनि सन्तोक भएन अनि हजुरआमाले मेरो नाति के भएछ भनि कोक्रोमा उघारेर हेर्दा नाति चााहि आदि सर्पले निलि सकेका देखे । हजुरआमा अतिएर सर्पलाई काटिदिए तर आफ्नै नाति पनि काटिएछ । हजुर आमा त्यो घटनाले तर्सिन पुगिन र विरामी परिन । सबै घटनाको विवरण देउरीमले रोक्तोकोमलाई सुनाए र रोक्तोकोमले उचार विधि सिकाए (चेखो लङ्खीले ची पकाउने र लुपमा राखी, ध्यामयोङम्यामा सोल्तम, त्यव्या चि, नाङलोमा खाजा राखी चुलोलाई पनि पुज्नु) त्यही अनुरुप उपचार गर्दा हजुर आमा ठीक भइन र त्यही दिनबाट न्यगी पूजा गर्ने चलन विकास भयो ।

न्यागीले विरामीहुदा दुख्ने लक्षणहरु : टाउको, दात, ज्वरो, घाउखटिरा, पक्षघात, सुनिने आदि ।
मौसम अनुसार न्यगी खालिङहरुले वर्षमा तीन पटक पुज्ने गर्दछन् । न्यगी र वास (साकेला) सँगसँगै पुज्ने गर्दछन् । न्यगी पुजेर मात्र वास पूजा गर्दछन् । न्यगी विबहा, नयाँ घर प्रबेश जस्ता मुन्दुमी कार्यमा पनि पुज्नु अनिवार्य सर्त हो । तर कोही न्यगीले विरामी परेमा बर्षमा तीन पटक भन्दा बढी पनि पुज्दछन् । न्यगी प्रत्येक खालिङहरुले पुज्दछन् ।

न्यागीका लागि सुङगुर

३ न्यागीको प्रकार
न्यगीलाई पुज्दा चाहिने सामग्रीको आधारमा मुख्य दुई भागमा बाडेर पुज्ने गरेको पाइन्छ जस्लाई उकु न्यगी र उसब न्यगी भनेर चिनिन्छ ।

३.१ उसव न्यागी : यो न्यगी चाही सुगुर वा भालेको छोस्र्यो (मासु) थानमा चढाएर पुज्ने गर्दछन् । यस्तो खालको न्यगीलाई उसब न्यगी भन्दछन् । यो घरपटीको तजविजले मनाउने गर्दछन् । ३÷४ वर्षमा अन्तरालमा मनाउने गर्दछन् । यस्तो किसिमको न्यगीमा छोरी, दिदीबहिनी, मामा तथा दाजुभाई सबै आफन्तहरु तथा छिमेकी बोलाउने चलन छ । यो ठूलो भोज नै हुन्छ । यसरी आफन्तजनहरुसँग भेटघाट गर्नाले नाताभित्र पनि प्रगाढ सम्बन्ध विस्तार हुदै जाने र चिनजान पनि बढि बाक्लो हुदै जान्छ । छोर्स्र्योको आधारमा उसव न्यगी पनि तीन तरिकाबाट पुज्ने चलन छ ।

क) स्योल्प्यार न्यागी : यो न्यगी वा पितृ पूजा हो । यो घरपटीको तजविजामा मनाउने न्यगी हो । कहिले काहि सुँगुर पाल्न अप्ठेरो परेको परिथिति बहेक प्राय सुगुरले नै न्यगी पुज्ने गर्दछन । सुगर नभए कुखुराको भालेले पनि पुज्ने गर्दछन् । यो सामान्य प्रकृतिको न्यगी पूजा हो । यस न्यगीमा सबै आफन्तजनहरु बोलाउने गर्दछन् । जस्तै फूपु, दिदीबहिनी, छोरीहरु र मामाहरु लगायत दाजुभाइहरु बोलाउदछन् । यो दुईदिन सम्म खानेपिउने अनि कुराकानी गर्ने गर्दछन् । सबै आउने पाहुनाहरुले कठुवामा रक्सि कोशेली लिएर आउछन् र प्रत्येक पहुनाले घरपटीलाई एक कठुवा रक्सि बुझाउछन् र बाकी कोशेली सहभागिहरुले बाढेर सबैलाई खुवाउछन् । अर्को दिन, बिदाइको बेला घरपटीले पनि त्यही कठुवामा न्यगी चि भरेर दुई÷तीन किलोग्राम न्यगी स्यो (मासु) पनि राखेर फिर्ता दिन्छन् । यसरी कोशेली सटासट हुनुले नाताहरुमा पनि उत्तरदायित्व स्थापना भई अर्को पटक न्यगी गरि बोलाउनु बाध्यता सृजाना गर्दछ । यसले आफन्तहरुमा सधै सम्बन्ध प्रगाढ बनाएर राख्दछ ।
ख) दिरिहुतम न्यगी ः स्योलप्यार न्यगीलार्य सामान्य न्यगीको रुपमा चिनिन्छ । यो चाही न्यगीले धेरै विरामी भएको परिले गर्दा पूजा गर्ने हो । यो चाही नोक्छोले जोखनामा देयो भने मात्र पूज्ने चलन छ । यो कहिलेकाही मात्र पूज्छन् । यो न्यगीमा छोस्र्यो राख्दा सुगुरको टाउको र आगीको दुइटै हात सहित थानमा राख्ने प्रचलन छ । त्यसैले यस्तो खालको न्यगीलाई दिरिहुतम न्यगी भन्दछन् । यहाँ चढाएको प्रसाद घर लान पाउदैन र सहभागि सबैले त्यही घरबाहिर खाएर सिध्याउनु पर्छ । यसमा स्योलप्यार न्यगी जस्तो सबै नातागोता बोलाउनु पर्दैन । यो बिशेष परिस्थितिमा पुज्ने हो ।

ग) छिरीहुतम न्यागी : यो न्यगी पूजाको अन्तिम चरण हो । यो विरामीको प्रकृतिले निर्धारण गर्दछ । न्यगी धेरै समयसम्म विग्रेको अबस्थामा यो खालको न्यगी पूज्ने गर्दछन । यो कहिलेकाही मात्र पुज्ने गर्दछन् । यो न्यगीमा पनि छोस्र्यो टाउको र दुई अगाडिको हात सहित नै थानमा चढाछन् । उक्त प्रसाद पाका पूर्खाहरुले मात्र खान हुन्छ । उनहिरुले एकै दिनमा सबै खाइसकनु पर्छ । त्यसपछि १० छाक सम्म हरियो सागपात खान नहुने र जंगल तिर पनि जान नपाउने मूल्यामान्यता रहेको छ । यो न्यगीमा सबै आफन्तहरु बोलाउनु अनिवर्य छैन् ।

३.२ उकु न्यागी : यो न्यगी वर्षमा तीन पटक पूजा गर्दछन् । यसलाई सरुवाले मात्र पुज्दछन् । उकु न्यगीमा छोस्र्यो चाहिदैन । यस न्यगीमा छिमेकीहरुलाई मात्र बोलाउने चलन छ । यहाँ सबै नातेदार बोलाउने चलन छैन् । विबहा, वास तथा नयाँ घर प्रबेशको बेला न्यगी अनीवार्य पूज्दछन् । यो सरल प्रकृतिबाट पूजा गर्ने अभ्यास छ । उकु न्यगीलाई पनि उभौली, उधौली र होल्तम न्यगी भनि ऋतुनअनुरुपको नामले पनि चिन्ने गरिन्छ ।
क) उभौली न्यगी ः यो न्यगी हिउद सकिए पछि सुरु हुन्छ । चैत्र, बैषाख, जेष्ठ महिनामा यस्लाई पुज्ने चलन छ । असार र साउन महिनामा न्यगी पूजा नगर्ने चलन छ । उभौली न्यगी चि पकाउदा कम्तिमा जौ वा गँहूबाट पकाउन अनिबार्यता छ । न्यगी पूज्दा थानमा पनि जौ वा गँहुको भुटेको खाजा वा रोटी अनिवार्यरुपमा चढाउनु पर्छ । त्यसैले यी महिनाहरु भित्र पुज्दा देवबुइकु बुइकुत्याम, लक्षी ङेलेअ्वाम, ख्लुसु गर्भअ्वाम भनेर उस्को बिशेष द्वास्नङबाट नोक्छोले सम्बोधन गर्छ । यसरी ऋतुअनुसार न्यगीको द्वास्नङ पनि फरक छ ।

ख) उधौली न्यागी : भदौ महिनाबाट कार्तिक महना सम्म यो न्यगीलाई पुज्ने गर्दछन् । यो न्यगीलाई भदौरे न्यगी पनि भनेर चिन्ने गर्दछन् । यो हिनामा मकै वा फापरको सरुवा पकाउन अनविार्य सर्त हो । यो न्यगीलाई ख्यन्यप्या चिन्यप्या भनेर पूज्ने गर्दछन् ।

ग) होल्तम न्यागी : यो न्यगी चाहि हिउद लागेपछि पुज्छन् । यस्लाई मंसिरे न्यगी भनेर पनि चिनिन्छ । मंसिर, पौष, माग र फागुन महिनासम्म यासलाई पूज्छन् । यसलाई हिउद महिनाभरी पूज्ने गर्दछन् । यसलाई बुच्छो खेमे त्यम, कलाक्ती क्लेत अ्वाम न्यगी भनि नोक्छोले पूजा गर्दछ ।

न्यागीकमको दृश्य

४ न्यागीमा चाहिने सामग्रीहरु
न्यगी पूजा गर्दा धेरै सामाग्रहरु चाहिन्छ । प्रत्येक सामाग्रहरुको आफ्नै महत्व र साङ्केतिक मुल्यमान्यता पनि रहेको हुन्छ । न्यगी पूजामा चाहिने सामाग्रीहरु निम्नानुसार छन् ः

क) तीन चुला : खालिङहरु तीन चुला विना अस्तित्वमा रहनसक्दैन् । प्रत्येक मुन्दुमी कार्य जस्तै विबहा, वास तथा नयाँ घर प्रबेशमा तीन चुला पूजेर मात्र सम्पूर्ण मुन्दुमी कार्य हुन्छ । त्यसैले न्यगी पूजा गर्दा पनि तीन चुलालाई सरुवाले पूजा गर्नैपर्छ । तीन चुलो ढुङ्गाले तीन पितृहरुलाई संकेत गर्दछ जस्लाई पखलुङ (बुवा), माखलुङ (आमा) र सेम्बलुङ (पहुना) भनेर चिनिन्छ ।

ख) न्यागी ची : न्यगीलाई उभौली, उधौली र होल्तम नामले चिन्ने गर्दछन् र प्रत्येक न्यगीको नाम र ऋतुअनुसार फरक हुन्छ त्यस्तै समय अनुसार उत्पादन हुने अन्नबालीको सरुवा समेत पकाउने र चढाने गर्दछन् । मकै, कोदो, जौ र फापर जस्ता अन्नवाट न्यगी चि पकाउने र थानमा भुटेको खाजा वा रोटी पनि चढाउन अनीवार्य हो । न्यगी चि सप्रेर मिठो भए न्यगी पनि हुने र पूजा पनि राम्रो हुन्छ भन्ने मान्यता राख्दछ ।

ग) सुगुर र भाले : उसब न्यगीमा चाहि सुगुर वा कुखुराको भालेको छोस्र्यो चढाउन अनिवार्य शर्त हो । सुगुरले मात्र भए पनि हुन्छ तर कहिलेकाही सुगुर पाल्न समयको अभावको बाबजुध भाले प्रयोग गर्दा पनि हुन्छ ।

घ) धनु र धनुकार्ड : न्यगी पूजाको लागि तयार परिएको सुगु्रलाई धनुकार्डले ताकेर मानुपर्ने चलन छ । यो पूर्खाहरुको चलन हो । यसरी सुंगुरलाई सिकार गर्ने प्रचलन आदिम समयदेखि नै चलिआएको हो ।

ङ) चिन्डो, अ्यारी र न्यास्फे : चिण्डो विना न्यगी पूजा गर्न मिल्दैन । चिण्डोमा न्यगी चि राखेर पुज्ने गर्दछ । काठको कुदेर बनाएको ची राख्न मिल्ने भाडोलाई अ्यारी भनिन्छ । यो न्यगी गर्दा अनिवार्य चाहिन्छ जहाँ न्यगी ची राखेर चुला पुज्ने गर्दछन् । सानो डाडु आकारको काडको पस्काउने बनाएको हुन्छ त्यसलाई न्यस्फे भन्ने गर्दछन । न्यस्फेले अ्यरीबाट चिलाई चुलामा चढाउने गर्दछन् ।

च) मान्द्रो र नाङलोे : मान्द्रो ओछ्याएर न्यगी थान बनाउने चलन छ । मान्द्रोमाथि सबै चहिने सामग्रीहरु राख्ने गर्दछन् । न्यगी थान मूलढोकाको अगाडि तल्लो पहुना बस्ने ठाउँमा राख्ने चलन छ । मान्द्रोमाथि नाङलो र नाङ्लोमा खाजा वा रोटी तथा केही धान पनि राख्ने गर्दछन् । मान्द्रोमा चिण्डो, अ्यारी र न्यस्फे राख्दछन । त्यही मान्द्रोको छेउमा धुपको रुपमा गनार बाल्ने गर्दछन् । ठीक न्यगी थानको सामुन्ने पूर्खाहरु बस्ने ठाउँमा पनि अ्यरीमा हुलुकन्य चि राख्दछन् र चुलोलाई पूज्दछन् । मान्द्रको छेउमा न्यगी नोक्छो थ्योक्लामा चि सहित बसेर मुन्दुम फलाक्ने गर्दछ ।

छ) गनार : न्यगी पूजाको धुप हो । गनार विना न्यगी पूजा हुदैन । यो पहाडी लेकमा पाउने प्रकृतिक एक बर्षिय बनस्पति हो । यो औषधिको रुपमा पनि प्रयोग गर्ने चलन छ । कहिलेकाही टाउको, पेट दुखेमा र खाना अपच भएमा पनि गनार खाने चलन छ ।

ज) द्वस्नङ : यो मुन्दुमी बंशको नाम हो । जसले बंशलाई सजिलै चिन्न सकिन्छ । यो नामविना कुनै पनि मुन्दुमी कार्य सम्पन्न हुदैन । प्रत्येक बोटविरुवाको पनि बैज्ञानिक नाम भए जस्तै खालिङहरुको पनि आफ्नै मुन्दुमी नाम हुन्छ जसले समाजलाई ब्यवस्थित गर्न सहयोग गर्दछ । द्वास्नङ विना न्यगी पनि सम्पन्न हुदैन ।

झ) न्यागी नोक्छो : न्यगी नोक्छो विना न्यगी पूजा गर्न सक्दैन्न । धेरै न्यगी नोक्छोले न्यगी पूजा मात्र गर्न सक्दछन् तर केही नोक्छोले चाही अन्या घर शन्ति वा अन्य पूजा पनि गर्न सक्छन् । न्यगी नोक्छो पनि दुई किसिमका हुन्छन जुन र्युम नोक्छो र धे नोक्छो हुन्छन् । र्युम नोक्छोले सामान्य न्यगी पूजा गर्न सक्छ भने धे नोक्छोले चाहि न्यगी पूजा गरि सकेपछि पनि त्यो न्यगी कस्तो भयो, अव के गर्नु पर्छ भनेर सुझाव पनि दिन सक्छ । धे नोक्छोमा मुन्दुमी शक्ति अलिक बढि हुन्छ । तर धे नोक्छो समुदायमा कमै मात्रामा हुन्छन्

५) न्यागी कसरी पूज्ने
न्यगी पूजा गर्दा जहिले पनि घरपटीले आफ्नो समय मिलाएर न्यगी चि पकाउने गर्दछ । न्यगी चि तयार भएपछि न्यगी नोक्छोलाई जानकारी दिई पूजा गर्नै समय र मिति तोक्ने गर्दछन् । पूजा गर्न एक दिन आगाडि चिपोमी अएर न्यगी चिलाई चिक्रमा राख्ने र पानी मिलाउने काम गर्दछ । भोलि पल्ट न्यगी नोक्छो र छिमेकी सबै उपस्थित हुन्छन् । चिपमीले सबै न्यगी थान मिलाए पछि नोक्छोले न्यगी पूज्न सुरु गर्दछ । नोक्छोले न्यगीलाई फलाक्न सुरु गर्दछ ।
जस्तै…
त्यो ल्यछ्युव्या च्योयो, क्योयोम्य च्यो स्यो, ममया च्यो स्यो, व्याइल्या च्यो स्यो, र्याल्या च्यो स्यो त्यो म्याप का ने
त्यो होप्त्याम्बी गो स्यो, त्यो अ्वोच्छी ल्योक्व्यो , अ्वोरी ल्योक्व्यो, बेनेन्याम्गो न्यामन्युतो गो त्यो म्याप का ने ।
त्यो लवलय च्यो यो, छिर्कुदप च्योयो , मिर्कुदप च्यो यो, छिकु च्यो यो, मिर्कु च्यो यो, त्योनिव्या च्यो पो, होपत्याम्बीगो , त्यो अ्वोच्छी ल्योक्व्यो सनुन्याम्गो बेइन्यामगो न्यामन्युतोगो त्यो म्याम का ने ।
त्यो लवलय च्योयो, त्यो च्यरिव्यापो द्यामल्युव्यपो, च्यरील्योक्व्यो बेनेन्याम्गो न्यामन्युतोगो , त्यो देक्सु च्यो यो धेर्लु च्यो यो, त्यो रादुङ च्यो यो, त्यो छ्योमरु च्यो, अ्वम्रु च्यो स्यो, पखलुङ च्यो स्यो मखलुङ च्यो स्यो त्यो म्याप का ने।
समक्ति च्यो स्यो, त्युम्याक्ति च्यो स्यो, ल्युग्युव्या च्यो स्यो, गर्बुले च्यो स्यो, थ्युनिव्या च्यो स्यो , होप्त्याम्बीगो, छर र्वाम्बीगो, र्वामअ्वाम्बीगो, त्यो लास्मि अ्वाम्बी ,म्युस्मी अ्वाम्बी स्यो बेनेन्याम्गो न्यामन्युतो त्यो म्याम का ने ।…
…त्यो कुवी न्याइका गो थ्योकला अ्याम्प्य प्यादी खुङ अ्या , मसि हिप्या रङसलु व्योदीकोलो गो न्यो , त्यो ख्यच्यव्य ख्यर्यब्यगो तम मिर्वाम्वी त्यो ल्याघ्यामसिसा कुवि न्याइ ख्वाइसा च्यरीव्या पो द्यामल्युव्याबी त्यो, त्यो द्यरु द्याअ्वाइङलो सि अ्या मजेइ व्यअ्य मजेइ, नु सनुव्या मत्याई मम्युतो गो , क्वाम जी म्युच , लेम्जी म्युच, छरजी म्युच , मिन जी म्युच , त्यो सातेजी म्युच, हातजी म्युच, ह्यदीजी म्युच , बेरेजी म्युच ओ ।।।

यसरी न्यगी नोक्छोलो न्यगीलाई पुज्दछ । त्यसरी नोक्छोले प्रत्येक तहतहमा फलाक्ने क्रममा मोसम पटि रहने पूर्खाहरुले पनि चुलोलाई हुलुकन्न्य चिद्वार पूज्ने गर्दछन् । केही समय पछि न्यगी नोक्छोले पनि न्यगी पूजागर्न सक्छ । न्यगी थानमा राखेको खाजा अनि त्यवा चि र सोल्तम चि पनि उपस्थित सबै पूर्खाहरुलो बाडेर खाने गर्दछन । सोल्तम र त्यव्य तथा हुलुकन्न्य चि केटाकेटीहरुलाई पिउन दिदैन्न । थानमा राखेको खाजा पनि परिवारको सदस्यहरुले खादैन्न । यसरी उकु न्यगी सम्पन्न हुन्छ । तर न्यगी घरपटीलाम (श्रीमान पक्षको) र माइतलाम (माइति पक्षको) गरी उटैघरमा दुईवटा न्यगी गर्ने पुज्ने चलन छ ।

६ निष्कर्ष
स्थानअनुसार न्यगी पूजाको मिथक र रिसिव्या गाउने लया फरक रहेको पाइन्छ तर न्यगीको मुख्य कार्य र अर्थ चाही उहि रहेको पाइन्छ । न्यगी खालिङको कुला पूजा हो । यो खालिङहरुको मुन्दुमी आधार हो । यो हेर्दा सरुवा (न्यगी ची) पिउने जस्तो मात्र देखिए पनि खालिङहरुको मुन्दुमको इतिहास थेगिराखेको छ जस्ले खालिङ हुनुमा र खालिङ बन्न सहयोग गरिरहेको छ । न्यगी पूजा गर्नु खालिङ बन्नु वा हुनुको पहिलो आधार हो । न्यगी पूजा गर्दा प्रयोग हुने सामाग्रीहरु अनि नोक्छोले गाउने मुन्दुमी रिस्युव्याले खालिङहरुको महिमा, प्रतिष्ठा र अर्थ राख्दछ । न्यगीमा प्रयोग हुने आदिम सामग्रीहरुले छुट्टै आफ्नो अर्थ र पहिचान बोकेको हुन्छ । न्यगी पूजाले प्रचिन खालिङहरुको समाज कस्तो थियो र कसरी बिकास हुदै आएको छ भन्ने पनि बुझ्न सकिन्छ । न्यगीको मिथकलाई हेर्दा पनि मातृसत्ताबाट न्यगी पूजा सूरु भएको भन्ने देखिन्छ । छेउरीम, देउरीम र नाति सहित तीन बंशको मिथक पाइन्छ तर त्यहाँ कुनै पनि पूरुषको नाम भेटिदैन यस्ले पनि न्यगीको सुरुवात मातृसत्तामा नै विकास भएको पुष्टि गर्दछ । न्यगी पूजाको सूरुवात मानव विकास कृषि बिकास सुरु र शिकारी युगको अन्त्यबाट सुरु भएको हो भन्ने पनि भन्न सकिन्छ जस्ले सन्सारकौ पुराना बालीहरु जौ, फापर, कोदो, मकै र गहूँ अनिवार्य रुपमामा ऋतुअनुसार चडाउनु पर्ने देखिन्छ । न्यगीको सँगुरलाई अझै पनि तीरले हानेर मार्नै चलनले पनि शिकारी युगको झलक भने देखाउँछ । अर्कौ तत्थ्य चाहि समुन्द्रमा आमा र छोरी बस्नु अनि नाति चाही इन्द्रेणीको सन्तान हुनु र जन्मदा आदि मानिस र आदी सर्प हुन भनेको मानब उत्बिकासको क्रममाको समय अधिलाई पनि यस्ले इंगित गर्दछ । त्यस्तै मुन्दुमी रिसिव्या लायात्मक गाउने चलनले के संकेत गर्दछ भने त्यो समयमा भाषाको पनि राम्रो बिकास भएको देखिन्छ । न्यगी पूजाको बेलामा गाउने रिस्युव्याले खालिङहरुको ऐतिहासिक बिकासक्रमलाई पनि अध्ययन तथा अनुसन्धान गरि खालिङ समुदायको बिकासलाई बुझन सहयोग गर्दछ । पूर्खाहरु तथा नोक्छोहरुबाट प्रगऐतिहासिक तथा ऐतिहसिक मुन्दुमको सोधपुज गरि अध्ययन तथा लेखन कार्य गरेमात्र खालिङहरुको आदिवासीय ज्ञान बाँच्न सक्छ र भोलिको सन्ततिको लागि काम लाग्नेछ । जस्ले गर्दा भोलिका शन्तिहरुलाई आदिवासीय ज्ञान प्रप्त गरी ऐतिहासिक ज्ञान जान्न सक्ने अबसर मिल्नेछ ।

सन्दर्भ सामग्रीहरु
(स्थलगत अध्ययनको क्रममा पूर्खाहरु, नोक्छोहरु तथा सरोकारवालाहरुसँग गरिएको अन्र्तवातामा आधारित)
CBS (2011). Statistical Year Book Nepal
Rai, J.B (2018). Nyagi Ritual of Khaling Rai Community: An Anthropological Study of Jubhing, Solukhumbu. MA Unpblished Thiesis submitted on RR Campus.
Whelpton, J (2005). A History of Nepal. New York: Canbridge University Press.

साभार : नेपाल प्रज्ञा प्रतिष्ठानद्वारा प्रकाशित सयपत्री अर्धबार्षिक पत्रिका, पूर्णङ्क ३४, ( २०७४ कार्तिक चैत्र)

तपाइको प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *

हामी तपाईंको इमेल अरू कसैसँग साझा गर्दैनौं।

ट्रेन्डिङ