Gaule News
बुधबार, अशोज ७, २०७७
Gaule Entertainment Media Group Pvt.Ltd.

१० रुपैयाँमा किन्न पाइने त्रिशुलीको शेयर खुल्यो, प्रधानमन्त्री ओलीले दिए पहिलो आवेदन

१० रुपैयाँमा किन्न पाइने त्रिशुलीको शेयर खुल्यो, प्रधानमन्त्री ओलीले दिए पहिलो आवेदन

गाउँले न्यूज, ७ चैत्र, काठमाण्डौ । जनताको जलविद्युत कार्यक्रम अन्तर्गतको त्रिशुली जलविद्युत कम्पनीले प्राथमिक शेयर निष्कासन गरेको छ । प्रधानमन्त्री केपी शर्मा ओलीले सेयरका लागि आवेदन दिएका छन् । बिहीबार बिहान प्रधानमन्त्री ओलीले ३७ मेगावाट क्षमताको उक्त आयोजनाको सेयर किन्न निवेदन दिएका हुन् ।

बिहीबार बिहान प्रधानमन्त्री निवास बालुवाटारमा ओलीले शेयर आवेदन भरेका हुन् ।आईपिओमा आवेदन दिन प्रधानमन्त्रीले ग्लोबल आइएमई क्यापिटल र नेपाल डिपी लिमिटेडमा २ वटा डिम्याट खाता समेत खोलेका थिए ।

‘जनताको जलविद्युत् कार्यक्रम’ अन्तर्गत पहिलो शेयर नुवाकोट र रसुवामा निर्माणाधीन माथिल्लो त्रिशुली थ्री ‘बी’ ले निस्कासन गरेको हो ।

मन्त्रालयले ४९ प्रतिशत जनताको शेयर सुनिश्चित गर्न तथा शुरुमा १० प्रतिशत शेयर दिने गरी एक खर्ब रूपैयाँ बराबरको विभिन्न १९ आयोजनाको शेयर जनतालाई दिने सार्वजनिक गरेको थियो।

सोही आधारमा कम्पनीको जारी पूँजी दुई अर्ब ४७ करोड रुपैयाँको १५ प्रतिशत अर्थात ३७ करोड पाँच लाख रुपैयाँ बराबरको १०० रुपैयाँअङ्कित दरको ३७ लाख पाँच हजार साधारण सेयरमध्ये ३ प्रतिशत कम्पनीका कर्मचारीका लागि छुट्याई बाँकी ३५ लाख ९३ हजार कित्ता सेयर सर्वसाधारणका लागि निष्काशन गरेको कम्पनीले जनाएको छ।

‘छिटोमा चैत १२ र ढिलोमा वैशाख ६ गतेसम्म आवेदन दिन पाउने व्यवस्था मिलाउन लागिएको छ,’ आयोजना प्रमुख आनन्द ढुङ्गेलले भने, ‘एक व्यक्तिले बढीमा एक हजार कित्तासम्म आवेदन दिन पाउने शेयरको मूल्य १०० रुपैयाँ अङ्कितमा त्यसको १० प्रतिशत हुन आउने १० रुपैयाँ मात्र तोकिएको छ।’

गत वर्षको फागुनदेखि निर्माण थालिएको उक्त अयोजना २०७८ फागुन १७ भित्र सम्पन्न गर्ने लक्ष्य छ । आयोजना निर्माणमा आठ अर्ब २२ करोड ७४ लाख ४१ हजार रुपैयाँ (निर्माण अवधिको ब्याजसमेत) लाग्ने छ।

जसमा आयोजनाको प्रवर्द्धक नेपाल विद्युत् प्राधिकरण र नेपाल दूरसञ्चार कम्पनी लिमिटेडको समान ३०/३० प्रतिशत, प्रभावित जिल्ला (नुवाकोट र रसुवा) का स्थानीय तह पाँच प्रतिशत, प्रभावित जिल्लाका स्थानीय बासिन्दा १० प्रतिशत, विद्युत् प्राधिकरण र दूरसञ्चार कम्पनीका कर्मचारीका लागि शेयरधनी सम्झौता भएको बखत २०६८ वैशाख २९ गतेदेखि शेयर निष्काशन गरेको बखतसम्म कार्यरत स्थायी कर्मचारीलाई संस्थाको कर्मचारी सङ्ख्याका आधारमा समानुपातिक रुपमा वितरण हुनेगरी पाँच प्रतिशत, जलविद्युत् आयोजनामा लगानी गर्ने उद्देश्यले प्रभावित जिल्ला .(नुवाकोट र रसुवा) का बासिन्दाले स्थापना गरेका कम्पनीको लागि पाँच प्रतिशत एवं आमसर्वसाधारणका लागि १५ प्रतिशत (सो को तीन प्रतिशत त्रिशूली जलविद्युत् कम्पनी लिमिटेडका कर्मचारीका लागि संरक्षित) शेयर सुनिश्चित गरिएको छ ।

२०७२ जेठ २४ मा विद्युत् उत्पादन अनुमतिपत्र प्राप्त गरेको उक्त आयोजनाले २०७४ भदौ ६ मा विद्युत खरिदबिक्री सम्झौता (पिपिए) र २०७५ भदौ ४ मा ऋण सम्झौता (सिएफए) गरेको थियो ।

आयोजनाले हालसम्म साइट आवास, कार्यालय भवन, जग्गा अधिग्रहण, टेस्ट अडिट टनेल, पहुँच मार्गसम्मको अधिन, वन क्षेत्रको प्रयोग र रुख कटानलगायतका कार्य सम्पन्न गरिसकेको छ । उत्पादित विद्युत् केन्द्रीय प्रसारण लाइनसम्म पुर्‍याउन उत्पादनगृहदेखि थ्री ‘बी’ हबसम्म जडानका लागि लैजान आवश्यक पर्ने तीन किमी दूरीको १३२ केभी प्रसारण लाइन निर्माणकार्य हाल जारी रहेको छ।
आयोजना निर्माणको जिम्मेवारी चिनियाँ कम्पनी सिचुवान एन्हे हाइड्रोलिक तथा हाइड्रोइलेक्ट्रिक इञ्जिनीयरिङ कम्पनीमार्फत भइरहेको छ ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *

हामी तपाईंको इमेल अरू कसैसँग साझा गर्दैनौं।

ट्रेन्डिङ